चुनाव : मधेसकेन्द्रित दलहरूलाई ‘एकताको सिजन’
सारांश
- मधेस केन्द्रित दलहरू निर्वाचनको चहलपहलसँगै एकता र मोर्चाबन्दीमा लागेका छन्।
- महन्थ ठाकुर, हृदयश त्रिपाठी र वृषेशचन्द्र लालबीच एकताको सहमति भएको छ।
- विश्लेषकहरूले मधेसवादी दलहरूको टुटफुटलाई व्यक्तिगत स्वार्थको परिणाम मानेका छन्।
काठमाडौँ । नेपालमा दलहरू फुट्नु सामान्य भइसक्यो । त्यसमाथि मधेसकेन्द्रित दलहरूको फुटको इतिहास त बखान गरिसाध्य छैन । उनीहरूलाई फुट्न र जुट्न कुनै कारण नै चाहिँदैन, बस् व्यक्तिगत स्वार्थ भए पुगिहाल्छ ।
अहिले फेरि निर्वाचनको चहलपहलसँगै मधेसलाई केन्द्र बनाएर उदाएका दलहरू एकता र मोर्चाबन्दीमा लागिपरिसकेका छन् ।
हालै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबिच एकताको सहमति भएको छ ।
त्यस्तै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, सञ्जुहाङ पालुङ्वा पक्षधर नेपाल जनमुक्ति पार्टी र त्रिनारायण राजवंशी नेतृत्वको कोचिला संघर्ष समितिबिच पनि एकता भएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि एकताको तरखरमा छन् ।
तर यी दलहरू विगतमा भने एउटै थिए, उतिबेला फुटेका यी दल फेरि मिल्ने तयारीमा कस्सिएका हुन् ।
खासगरी मधेसकेन्द्रित दलहरूको टुटफुटप्रति राजनीतिक विश्लेषक विजयकान्त कर्णले सहज र स्वाभाविक प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, ‘मिल्नु सुखद कुरा हो, अलग अलग रहनुभन्दा मिलेर बस्नु नै राम्रो । तर यो मिलन पनि कति टिकाउ हुन्छ, त्यसमा पनि भर पर्छ ।’ उनका अनुसार अब त मधेसवादी दलहरू मिल्दा पनि जनताले विश्वास गर्न छाडिसकेका छन् ।
त्यस्तै वरिष्ठ पत्रकार सीताराम अग्रहरी पनि मधेसकेन्द्रित दलहरू फुट्नुलाई ‘निजी स्वार्थ’ मान्छन् । उनको भनाइमा यी दलहरू मिल्नु र अलग हुनुको कुनै कारण नै छैन । ‘जब यी दलहरू कमजोर हुन्छन्, तब विभिन्न बहानामा एक हुन्छन् र त्यो एकतालाई राजनीतिक रूपमा प्रयोग गर्नुको सट्टा सत्ता र कुर्सीका लागि प्रयोग गर्छन् ।’
सत्ता र कुर्सीको विषयमा कुरा नमिलेपछि फेरि अलग हुने गरेको इतिहास रहेको उनी बताउँछन् । ‘एकीकृत हुनु नराम्रो होइन, मिल्नुपर्छ तर त्यो सैद्धान्तिक र वैचारिक हुनुपर्छ,’ बरु उनी दलहरूलाई सुझाउँछन् ।
पत्रकार अग्रहरीका अनुसार चुनावको मुखमा यी सबै दल मिल्नु व्यक्तिगत स्वार्थ मात्र हो ।
राजनीतिक विश्लेषक कर्णको पनि यस्तै टिप्पणी छ । ‘अहिले एक्लै चुनाव लडेपछि जमानत पनि जफत हुने देखेपछि एकताका लागि अभियान चलाइएको हो,’ गम्भीर टिप्पणी गरेका उनी भन्छन्, ‘पार्टी फुट्दा या पार्टी मिल्दा होस् त्यसमा कुनै राजनीतिक, वैचारिक तथा नैतिक कुरा छैन, व्यक्तिगत स्वार्थ मात्र छ ।’
यस्तै प्राध्यापक एवं राजनीतिक विश्लेषक भोगेन्द्र झा भने फरक तर्क गर्छन् । उनका अनुसार अब मधेसकेन्द्रित दलहरूले श्वेतपत्र जारी गर्नुपर्ने बेला आएको छ । ‘उनीहरू किन मिल्छन्, किन फेरि फुट्छन् त्यसको कारणसहित श्वेतपत्र जारी हुनुपर्छ,’ उनी प्रश्न गर्छन्, ‘हिजो महन्थ ठाकुर, बृषेशचन्द्र लाल र ह्रदयश त्रिपाठीले एकता गर्ने सहमति गर्नुभएको छ, राम्रो कुरा हो तर विगतमा उहाँहरू किन अलग हुनुभएको थियो र आज किन मिल्नुभयो त्यो कुराको जानकारी गराउनुपर्छ कि पर्दैन ?’
यता राजेन्द्र महतो भने आफ्नो पार्टीलाई मधेसकेन्द्रित दल भन्न रुचाउँदैनन् । उनी आफूलाई मधेसको राजनीतिभन्दा टाढा राख्न चाहन्छन् । त्यसैले होला मधेसवादी दलहरूसँगको एकतामा उनको त्यति रुचि देखिएको छैन ।
तत्कालीन राजपा नेपालबाट अलग भएर तमलोपा गठन गरेपछि वृषेशचन्द्र लालले महन्थ ठाकुरमाथि तल्लोस्तरको टिप्पणी गरेका थिए, तर आज तिनै महन्थ ठाकुरसँग लाल एकतामा जोडिँदै छन् । यसप्रति टिप्पणी गर्दै झा सोध्छन्, ‘विगतमा जुन कुराले वृषेशचन्द्र लाल असन्तुष्ट थिए, त्यो पूरा भयो त ?’
यता राजेन्द्र महतो भने आफ्नो पार्टीलाई मधेसकेन्द्रित दल भन्न रुचाउँदैनन् । उनी आफूलाई मधेसको राजनीतिभन्दा टाढा राख्न चाहन्छन् । त्यसैले होला मधेसवादी दलहरूसँगको एकतामा उनको त्यति रुचि देखिएको छैन ।
बरु उनको जोड छ– पहिचानवादी शक्ति र आदिवासी जनजातिको पार्टीसँग एकता र सहकार्य ।
यही कारण उनले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जसपासँग चुनावी एकता गरेका छन् र एउटै चुनाव चिह्नबाट चुनाव लड्ने सहमति गरेका छन् ।
महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवबिच एकताका लागि पहल भए पनि राजेन्द्र महतोले ‘तपाईंहरू पहिला मिल्नुस् अनि पछि सल्लाह गरौला’ भनी हिमाल र पहाडतिर उक्लिएका छन् । हालै झापा पुगेका उनले तीन वटा संगठनसँग एकता घोषणा गरेको जनाएका छन् ।
विगतका पार्टी फुट र एकताको अनुभव यस्तो छः
पार्टी फुट र एकताको शृङ्खला नेपाल सद्भावना पार्टीदेखि पछिल्लो नागरिक उन्मुक्ति पार्टीसम्म रोचक छ ।
२००८ सालमा मधेसको मुद्दा र अधिकारका विषयलाई लिएर बेदानान्द झा, कुलानन्द झा, रामजनम तिवारी, श्यामलाल मिश्रलगायतका नेताहरूले तराई कांग्रेस गठन गरेका थिए । तर यो पार्टी विभाजनबाट अछुतो रहन सकेन । अध्यक्ष बेदानन्द झा आफ्नो समूह लिएर राजासँग मिले भने तत्कालीन महासचिव रामजनम तिवारीको समूह कांग्रेसमा विलय भयो ।
त्यसपछि गठन भएको नेपाल सद्भावना पार्टी स्थापनाको तीन वर्ष नपुग्दै २०५० सालमा रामेश्वर राय यादव र हृदयेश त्रिपाठीहरूले विभाजन गरेर समाजवादी जनता दल पार्टी खोले । पछि उनीहरूले त्यो पार्टी चलाउन नसकेपछि नेपाल सद्भावना पार्टीसँग एकीकरण गर्नुपरेको थियो ।
गजेन्द्र नारायण सिंहको निधनलगत्तै २०६० मा भएको पार्टीको महाधिवेशनबाट नेपाल सद्भावना पार्टी पुनः विभाजित भएको थियो । त्यतिबेला नेपाल सद्भावना पार्टीको नेतृत्व बद्री मण्डलले गरेका थिए भने विभाजित नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) को नेतृत्व आनन्दी देवीले गरेकी थिइन् ।
जनआन्दोलन–२ मा नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) नै गठबन्धनमा सहभागी थियो । पछि लक्ष्मणलाल कर्ण नेतृत्वको नेपाल सद्भावना पार्टी र आनन्दीदेवी नेतृत्वको सद्भावना पार्टीबिच एकता भएको थियो ।
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) जनआन्दोलनलगायत मधेस आन्दोलनमा सक्रिय रहेको बेला उपेन्द्र यादव मधेसी जनअधिकार फोरम नेपाल लिएर मधेसको राजनीतिमा उदय भएका थिए ।
जनआन्दोलन सफल भएपछि बनेको सरकारका लागि पुनः सो पार्टीमा किचलो सुरु भयो । आनन्दीदेवीलाई प्रयोग गरेर थुप्रै नेताहरू मन्त्री बने । त्यही मन्त्री बन्ने दौडमा नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) टुक्राटुक्रा भयो । राजेन्द्र महतोले सद्भावना पार्टी बनाए । अनिल झाले संघीय सद्भावना पार्टी बनाए । रामनरेश राय यादवले तराई मधेस सद्भावना पार्टी बनाए । श्यामसुन्दर गुप्ता, सरिता गिरी, विकास तिवारीलगायतले पनि छुट्टाछुट्टै पार्टी बनाए । पछि यी दलहरू एक पनि भएका थिए । तर, अन्ततः यिनीहरू कोही राजपा नेपाल त कोही जसपा नेपालका नाममा विभाजित बनेका थिए ।
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) जनआन्दोलनलगायत मधेस आन्दोलनमा सक्रिय रहेको बेला उपेन्द्र यादव मधेसी जनअधिकार फोरम नेपाल लिएर मधेसको राजनीतिमा उदय भएका थिए ।
त्यो दल पनि कहिले विजयकुमार गच्छदारले फुटाए त कहिले जेपी गुप्ताले, कहिले भाग्यनाथ गुप्ता त कहिले अमर यादवले फुटाए । हुँदाहुँदै पछिल्लो समय अशोक राई, डा. बाबुराम भट्टराई र महन्थ ठाकुर पनि विभाजन गरेर निस्के । त्यो विभाजनको समयमा विभिन्न दलसँग एकता पनि भएको थियो ।
मधेसका सबै दल मिलेर जसपा नेपाल बनेको थियो र देशको ठुलो शक्ति बनेको थियो । तर एक वर्ष नपुग्दै त्यो पार्टी छिन्नभिन्न भयो ।
कांग्रेसबाट विद्रोह गरेर २०६४ मा तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेका महन्थ ठाकुरको नेतृत्वको पार्टी पनि एक रहन सकेन । २०६७ मा महेन्द्र राय यादव अलग भएर तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल गठन गरेका थिए । पछि तमलोपा र नेपाल राष्ट्रिय सद्भावना पार्टीसँग एकीकरण गरेर तराई मधेस सद्भावना पार्टी (तमसपा) बनेको थियो ।
महन्थ ठाकुरको तमलोपा, अनिल झाको संघीय सद्भावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादवको मधेसी जनअधिकार फोरम गणतान्त्रिक, राजेन्द्र महतोको सद्भावना पार्टी र महेन्द्र राय यादवको तराई मधेस सद्भावना पार्टीबिच २०७४ मा एकीकरण भएर राष्ट्रिय जनता पार्टी नेपाल बनेको थियो ।

अध्यक्ष प्रणालीको सो पार्टी ठिकठाकसँग चलिरहेको थिएन । राजपा नेपालबाट हृदयेश त्रिपाठी अलग भएर अर्को समूह बनाएर राजनीतिमा सक्रिय थिए । पछि उनले जनता प्रगतिशील पार्टी बनाएका थिए ।
त्यसपछि राजपा नेपालबाट अलग भएर वृषेशचन्द्र लालले तमलोपालाई पुनर्गठन गरी छुट्टै पार्टी सञ्चालन गरे । त्यही बेला उपेन्द्र यादवको तत्कालीन समाजवादी पार्टीले एकताको हात अगाडि बढाएपछि राजपा नेपाल र समाजवादी पार्टीबिच एकता भएर जसपा नेपाल बनेको थियो, जो पछि विभाजन भएर लोसपा बनेको थियो ।
अहिले त्यही महन्थ ठाकुर, वृषेशचन्द्र लाल र हृदयेश त्रिपाठीबिच एकता हुन थालेको छ ।
अहिले नागरिक उन्मुक्ति पार्टी विभाजन भएर दुईवटा बनेका छन् । एउटा नागरिक उन्मुक्ति पार्टी नेपालले राष्ट्रिय मुक्ति पार्टी नेपालसँग चुनावी एकता गरेको छ ।
उता जेलमा रहेका नेता रेशम चौधरीले आफू संरक्षक रहेर आफ्नी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । त्यस्तै लोसपा नेपालबाटै अलग भएर राजेन्द्र महतोले राष्ट्रिय मुक्ति पार्टी बनाए । अनिल झा पनि लोसपा नेपालबाट अलग भएर नेपाल सद्भावना पार्टीलाई पुनर्गठन गरे ।
अहिले नागरिक उन्मुक्ति पार्टी विभाजन भएर दुईवटा बनेका छन् । एउटा नागरिक उन्मुक्ति पार्टी नेपालले राष्ट्रिय मुक्ति पार्टी नेपालसँग चुनावी एकता गरेको छ ।
यता तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट २०६६ मा अलग भएर विजयकुमार गच्छदारले मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए । तर, त्यसबाट शरतसिंह भण्डारी अलग भए । उनले राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरे । पछि भण्डारीले अन्य दलहरूसँग एकता गरेर राजपा नेपाल बनाएका थिए । हाल उनी लोसपामा वरिष्ठ उपाध्यक्ष छन् ।
गच्छदारको पार्टी भण्डारीले मात्र होइन, सञ्जय साह (टकला) ले पनि विभाजन गरेका थिए । उनी पनि लोकतान्त्रिक फोरमबाट अलग भएर २०६७ मा मधेस क्रान्ति फोरम गठन गरेका थिए । यसरी गच्छदारलाई बिस्तारै बिस्तारै नेताहरूले साथ छाड्दै गएपछि उनी कांग्रेसमा विलय भए । सञ्जय टकला भने जेल परे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण