बागलुङका हिरा, एमालेका मोती : हिराबहादुर केसी केन्द्रीय सदस्यको दौडमा
सारांश
- नेकपा एमालेका युवा नेता हिराबहादुर केसी पार्टीको केन्द्रीय सदस्य बन्न दौडमा छन्।
- उनले बागलुङमा पार्टीको आयोजक समितिको रूपमा काम गरेर जिल्ला अध्यक्ष बनेका थिए।
- केसीले आफू युवा पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यको लागि दाबी प्रस्तुत गरेका छन्।
बागलुङ । नेकपा एमालेको नवौँ महाधिवेशनका बेला ‘बागलुङको हिरा, एमालेको मोती’ भन्ने नाराबाट चर्चामा आएका युवा नेता हिराबहादुर केसी यसपटक जसरी पनि पार्टीको केन्द्रीय सदस्य बन्ने दौडमा छन्। युवा संघको उपाध्यक्षबाट बिदा भएपछि पार्टीको मूलधारको राजनीतिमा केन्द्रीय सदस्यबाट प्रवेश गर्न चाहे पनि विगतमा परिस्थिति अनुकूल बनेको थिएन।
२०७८ मा भएको दशौँ महाधिवेशनमा उनलाई नेतृत्वले प्रदेश हाँक्न निर्देशन दिएको थियो। तर केसीले आफ्नो भूगोल बागलुङको अध्यक्ष भएर काम गर्ने इच्छा व्यक्त गरेपछि अध्यक्ष केपी शर्मा ओलीले उनलाई बागलुङको जिम्मा दिएका थिए। बागलुङमा आयोजक समितिको रूपमा काम गरेका उनी अर्को वर्ष भएको जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनेका थिए।
केसी संविधानसभा निर्वाचन र २०७९ को संसदीय निर्वाचनमा प्रदेशतर्फ उम्मेदवार बनेर झिनो मतले पराजित भएका थिए। उनी र सङ्घतर्फ पराजित डा. सूर्य पाठक दुवैले निर्वाचन हारेपछि पनि दुई महिनासम्म घरघर पुगेर मतदातालाई धन्यवाद दिएका थिए, जसको तस्बिर र भिडियो सामाजिक सञ्जालमा चर्चामा आएको थियो।
केसीले भने, ‘हारे पनि जिते पनि पाँच वर्ष हामीलाई त्यस क्षेत्रका जनताको सेवाका लागि पार्टीले पठाएको हो। त्यसैले हामीलाई मत दिने नदिने सबैलाई धन्यवाद दिन झन्डै दुई महिना घरघर पुग्यौँ।’
विशेष क्षमताका बाबजुद पार्टी केन्द्रमा पुग्न नसकेकोमा केसी यसपटक विश्वस्त छन्। उनी भन्छन्, ‘२०७१ सालमा मेरा लागि लागेको नारा यसपालि सार्थक हुन्छ। हामी जस्ता युवाहरू एमालेको भविष्य हो। त्यसैले हिरा यसपालि केन्द्रीय सदस्यको उम्मेदवार हो।’
समाजशास्त्र र अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेका केसीले पार्टीको उमेर समूहबारे विश्लेषण गर्दै आफू अहिले पार्टीमा बाहुल्यता रहेको ४०–५० वर्ष उमेर समूहमा पर्ने बताएका छन्। उनले भने, ‘एमालेको भविष्य भनेको यही उमेर समूह हो। भविष्यमा नेतृत्व विकास गर्न पनि हामी जस्ता युवालाई महाधिवेशनको हलले केन्द्रमा पठाउनु पर्दछ।’
आफ्नो पुस्ता २०६२/०६३ को जनआन्दोलनमा 'जेनजी' उमेर समूहको भएको र छोटो समयमा लामो राजनीतिक अनुभव बोकेकोले पनि केन्द्रीय सदस्यमा आफ्नो दाबी बलियो रहेको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण