एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा कर्णालीका यी युवा नेताहरू
सुर्खेत । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ । उक्त महाधिवेशनमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने युवापुस्ताका नेताहरू भने केन्द्रीय राजनीतिमा बलियो उपस्थितिको तयारीमा जुटेका छन् ।
विशेषगरी विद्यार्थी राजनीतिबाट खारिएका र लामो समय संगठन निर्माणमा योगदान पुर्याएका कर्णालीका युवाहरूले यसपटक केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारी गरेका हुन् । जाजरकोटका नारायण घर्ती, दैलेखका रुद्र शाही, सुशील थापा, कल्पना थापा, कालीकोटका तपेन्द्रजंग शाही, जुम्लाकी मेनका पछाई र मुगुका दानसिंह परियार लगायतका युवा नेताहरू महाधिवेशनको मैदानमा उत्रिएका छन् ।
यीमध्ये कोही विद्यार्थी संगठनको पदाधिकारी भइसकेका छन् भने कोहीले महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । जाजरकोटबाट खुलातर्फबाट महाधिवेशन प्रतिनिधि बनेका नारायण घर्ती केन्द्रीय सदस्यका बलिया दाबेदार हुन् । उनले आफ्नो ३२ वर्षे सक्रिय राजनीतिक जीवन विद्यार्थी संगठनमा बिताएको र अब पार्टी राजनीतिमा होमिएको बताएका छन् ।
२०६५ सालमा शंकरदेव क्याम्पसको स्ववियु सभापति बनेका घर्ती २०६७ मा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य बनेका थिए । त्यसयता उनले २०७२ मा उपत्यका इन्चार्ज, २०७६ मा उपमहासचिव तथा संगठन विभाग प्रमुख र २०७९ मा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
गत जेठ महिनामा विद्यार्थी राजनीतिबाट औपचारिक बिदा लिएका थिए उनले । घर्ती भन्छन्, ‘पार्टीको लागि जीवनको ३२ वर्ष उमेर लगानी गरियो, अब पार्टी राजनीतिमा जबरजस्ती जोडिएको छु ।’ यदि उमेर हद नलागेको भए उनी विद्यार्थी संगठनको मूल नेतृत्वमै पुग्ने सम्भावित नेता थिए ।
कालीकोटका ३६ वर्षीय युवा नेता तपेन्द्रजंग शाही पनि खुलातर्फबाट महाधिवेशन प्रतिनिधि छनोट भएर केन्द्रीय सदस्यको दौडमा छन् । अनेरास्ववियुका पूर्व सचिव तथा हाल एमाले प्रदेश कमिटी सदस्य रहेका शाही रत्नराज्य क्याम्पसका पूर्वस्ववियु सभापति समेत हुन् । विद्यार्थी राजनीतिमा बलियो पकड बनाएका शाही पनि केन्द्रमा डेब्यु गर्ने तयारीमा छन् ।
दैलेखबाट सुशील थापा र रुद्र शाहीको नाम पनि केन्द्रीय सदस्यको चर्चामा छ । २०७४ सालमा प्रदेशसभा सदस्य भइसकेका सुशील थापा हाल प्रदेश कमिटी सदस्य छन् । सुरुमा खुलातर्फबाट फारम भरेपनि अन्तिममा ४० वर्षमुनिको युवा कोटाबाट दैलेख–२ बाट महाधिवेशन प्रतिनिधि बनेका छन् उनी ।
त्यस्तै, कर्णालीका युवाहरुमाझ परिचित युवा नेता रुद्र शाही दैलेख–२ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि बनेका छन् । पेसाले अधिवक्ता समेत रहेका शाही हाल प्रदेश कमिटी सदस्य छन् । उनी २०७९ को निर्वाचनमा दुल्लु नगरपालिकाको मेयरमा र एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनमा सचिव पदमा पराजित भएपनि संगठनमा निरन्तर क्रियाशील छन् । युवा संघमा लामो समय काम गरेको अनुभव उनीसँग छ ।
समावेशीतर्फ मुगुका दानसिंह परियार दलित कोटाबाट महाधिवेशन प्रतिनिधि बनेका छन् । २०७४ सालमै प्रदेशसभा सांसद् बनेर संसदीय अनुभव संगालेका परियार हाल प्रदेश कमिटी सदस्य छन् र केन्द्रीय सदस्यमा आकांक्षी देखिएका छन् ।
महिला नेतृहरूमा दैलेखकी कल्पना थापा र जुम्लाकी मेनका पछाईको नाम अग्रपंक्तिमा छ । दैलेखको आठबीसकोट नगरपालिकाकी उपप्रमुख समेत रहेकी कल्पना थापा दैलेख–२ बाट महिलातर्फ महाधिवेशन प्रतिनिधि हुन् । सानै उमेरमा राजनीतिमा होमिएकी उनी ०६७ सालमा १९ वर्षको उमेरमै अनेरास्ववियुको केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । हाल ३५ वर्ष पुगेकी थापाले अनेरास्ववियुको स्थायी कमिटी सदस्यसम्मको अनुभव बटुलेकी छिन् । जिल्ला हुँदै प्रदेश कमिटी सदस्यको भूमिका निर्वाह गरिरहेकी उनले सबै क्षेत्रको अनुभव भएकाले यसपटक केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारी गरेको बताएकी छिन् ।
उता जुम्लाबाट महिलातर्फ महाधिवेशन प्रतिनिधि बनेकी मेनका पछाई पनि केन्द्रीय सदस्यको बलियो दाबेदार हुन् । १५ वर्षदेखि अखिलको विद्यार्थी राजनीतिमा सक्रिय पछाई १० औँ महाधिवेशनमै प्रतिनिधि बनेकी थिइन् । त्यतिबेला केन्द्रीय सदस्य बन्न चाहे पनि अन्तिममा पछि हटेकी उनी यसपटक भने पछि नहट्ने मुडमा छिन् । पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य हुँदै हाल प्रदेश कमिटी सदस्य रहेकी उनले युवा, महिला वा भूगोल जताबाट भए पनि केन्द्रीय सदस्यमा उठ्ने तयारी गरिरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण