बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नौ प्रश्न

महिला लेखकले पलपल तातो कोइलामाथि हिँड्नुपर्छ

शनिबार, २७ मङ्सिर २०८२, १२ : ०६
शनिबार, २७ मङ्सिर २०८२

सारांश

  • विमला तुम्खेवा एक प्रसिद्ध कवि र पत्रकार हुन्, जसले नारीवाद र सीमान्तकृत समुदायका मुद्दाहरूलाई लेख्छिन्।
  • उनले लेखनलाई आफ्नो मानसिक शान्तिको माध्यम र सामाजिक दायित्वको रूपमा लिन्छिन्, विशेष गरी महिलाहरूको आवाज उठाउँछिन्।
  • उनको नयाँ कृति कथा विधामा आउँदैछ, जसमा उनले महिलाहरूको जीवनका विभिन्न पक्षहरूलाई चित्रण गर्नेछिन्।

कवि तथा पत्रकार विमला तुम्खेवा कथा र संस्मरणमा उत्तिकै भिजेको नाम हो । सञ्चारिका समूह नेपालको निवर्तमान केन्द्रीय अध्यक्ष तथा नेपाली लेखक सङ्घको केन्द्रीय उपाध्यक्ष रहेकी तुम्खेवाको लेखनको अर्को महत्त्वपूर्ण पक्ष भनेको विद्रोहको स्वर हो । प्रायः उनको लेखन नारीवाद र पीँधमा रहेका मानिसको मुद्दामा केन्द्रित रहने गरेका छन् ।  राष्ट्रिय  प्रतिभा पुरस्कार बेलायत, संस्कृति मन्त्रालयबाट प्रदान गरिने राष्ट्रिय प्रादेशिक पुरस्कार लगायत दर्जनौँ पुरस्कारबाट पुरस्कृत र सम्मानित भएकी उनको ‘विमला तुम्खेवाका कविताहरू’ (२०५५), ‘नदी, छाल र तरङ्गहरू’ (२०६०), ‘संस्मरण एउटा बुढो रूखको’ (२०६५), ‘हत्केलामा पृथ्वी लिएर उभिएका मान्छेहरू’ (२०७५) पुस्तक प्रकाशित छन् । उनै तुम्खेवासँग रातोपाटीको ‘नौ प्रश्न’ शृङ्खलाका लागि रमा सुवेदीले गरेको कुराकानी:

१) लामो समयदेखि लेखिरहनु भएको छ । प्रत्येक लेखक खास उद्देश्यका लागि लेख्छन्, तपाईं केका लागि लेख्नुहुन्छ ?

लेखनको सुरुवाती समयमा लेख्नु रहर थियो । बिस्तारै यसले थेरापीको काम गर्न थाल्यो । पछि आफ्नै मानसिक शान्तिका लागि लेख्नु जीवनको महत्त्वपूर्ण हिस्सा बन्यो । तर विगत एक दशकदेखि सामाजिक दायित्वमा बदलिएको छ यो कर्म । अब म पीँधमा रहेका मानिसको आवाजका लागि लेख्छु । 

२) पीँधमा रहेका मानिसबारे लेख्छु भन्दै गर्दा महिला पनि त यो समाजको पिँधमै छन्, उनीहरूको जीवनको कुन पक्षलाई बढी प्रतिबिम्बित गर्दै लेख्नु हुन्छ ?

साँचै भन्नुपर्दा, हाम्रो समाजमा महिलाले भोगिरहेका चुनौती, कठोर सङ्घर्ष र तिनीहरूको अदृश्य पीडाको कुरा नेपाली लेखनमा अझै झल्किन सकेको छैन । महिलाको दैनिकी भित्र लुकेर बसेका यथार्थहरू, घरभित्रको असमान व्यवहार हुँदै सामाजिक दबाबसम्म शताब्दीदेखि मौन छ हाम्रो लेखन । केही नआएको होइन, छिटपुट आएका पनि छन् तर विल्कुलै अपर्याप्त छन् । मानवतावादी दृष्टिकोणबाट हेर्ने हो भने यो अपराध नै हो । 

प्रकृति र जनावरको संसार प्रायः प्रेमिल, स्वाभाविक र निर्दोष देखिन्छ । तर मानिसको संसारमा भने विभेद, असमानता र मानसिक तनावका तहहरूले जेलिएको छ । महिला त्यसको पिँधमा छन् । त्यसैले उनीहरूको जीवन थप जटिल र कष्टपूर्ण बन्न गएको छ । विशेषगरी दक्षिण एसियाली समाजमा महिलाहरूले परम्परागत अ‍पेक्षाहरुलाई पुरा गरिदिनु पर्ने सामाजिक तानाबानाले गर्दा महिलाहरू सीमित स्वतन्त्रता, आर्थिक परनिर्भरताको हजारौँ पर्खालहरू भित्र कैद छन् भन्दा फरक पर्दैन । त्यसले सृजना गरेको मानसिक हिंसा, दोहोरो जिम्मेवारी, उनीहरूको सङ्घर्षको कथा बयान गरी साध्य छैन ।

साँच्चै भन्ने हो भने महिलाहरूलाई ‘अरूले के भन्ने हुन्’ भन्ने मानसिक अवस्थाबाट उठ्नै गाह्रो छ । यसैले गर्दा उनीहरूको मानसिक स्वास्थ्य भित्र–भित्रै कमजोर छ । यी यावत् विषयमाथि गम्भीर बहस हुन र उनीहरूको जीवन गाथा लेखिनै बाँकी छ । मैले आफैले पनि यी यावत विषयहरूलाई लेख्न सकिरहेकी छैन । मलाई लाग्छ आजको समयमा सबै महिला लेखकको यो साझा दायित्व हो ।

३) तपाईंका अहिलेसम्म प्रकाशित सबै कृतिहरू कविताकै हुन् । तपाईंलाई के लाग्छ कविता भावनाले जन्मिन्छ वा विचारले ?

मेरा कविताका पहिलो स्रोत आफैले बाँची आएको जीवन हो । दोस्रो, नेपाली समाजको पीँधमा रहेका नागरिक र तिनीहरुको वरपरको समाज हो । लेखकको धर्म पनि मानिस र माटोसँग जोडिरहनु हो । कविता भावनाले जन्मिन्छ कि विचारले ? भन्ने प्रश्नमा मलाई के लाग्छ भने एउटा कालजयी कविता विचार, अनुभव र भावनाको सन्तुलनबाट जन्मन्छ । 

विचार बिनाको कविता चिच्याहट मात्र हो भने भावना बिनाको विचार सुक्खा वक्तव्य हो । मेरो आफ्नै लेखनमा पनि म यो समस्या देख्छु । साँच्चै भन्ने हो भने समाजमा महिलाहरू अर्थात् छोरीहरू, बालिकाहरू र किशोरीहरू जसरी बाँचिरहेछन् के मैले उनीहरूको जीवन लेख्न सके ? यो प्रश्नले म आज पनि पिरोलिन्छु । 

४) समकालीन नेपाली कविताको अवस्था कस्तो देख्नु भएको छ त ?

अहिलेको समकालीन नेपाली कविता निकै रोचक, बहुआयामिक र वैचारिक रूपमा समृद्ध देखिन्छ । विचार, भाषा, संरचना र अभिव्यक्तिको प्रयोगमा समकालीन लेखकहरूले नयाँ–नयाँ प्रयोग गर्दै आएका छन् । वैरागी काइँला, बिपी कोइराला, ईन्द्रबाहादुर राई र पारिजातले नेपाली साहित्यको परम्परागत स्वरूपलाई बदलेर त्यसलाई फराकिलो धारमा ल्याएका थिए भने अहिलेको नयाँ पुस्ताले त्यसलाई अघि बढाउने प्रयत्न गरिरहेको छ । 

सामाजिक न्याय, महिला चेतना, पहिचान, राजनीति, प्रकृति, प्रवास, मनोवैज्ञानिक संवेदना यी सबै विषयहरू ५०को दशकमा जब्बर रूपमा सतहमा थिए भने अहिलेको समयमा सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, अनलाइन पत्रिका र एआई जसरी प्रभावकारी रूपमा सतहमा आई पुगेको छ त्यसले लेखन संस्कृतिलाई पनि फेरिदिएको छ ।

1000050675

अहिलेको वैचारिक परिपक्वता, सौन्दर्य–बोध र भाषिक प्रयोग नयाँ ढङ्गले भइरहेको देख्छु म । हो, कतै प्रविधिको तीव्रताले बौद्धिकतामा असर गर्ने हो कि भन्ने चिन्ता पनि छ । तर, मलाई के लाग्छ भने यसले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन ठुलो भूमिका खेल्न सक्छ ।

५) हालै कुन लेखकलाई पढ्नु भएको थियो, अनि कस्तो लाग्यो कृति ?  

केही समाजशास्त्रका किताब पढिरहेकी थिएँ । पहिले नै पढेका अघिल्ला पुस्ताका लेखकहरूलाई दोह¥याएर पढ्दै छु किनभने फेरि पढ्नु पर्ने अवस्था आयो । यो संसारमा नयाँ नै लेख्न त कसैले सक्दैन होला, प्रेमलाई आखिर सबैले उस्तै भावका साथ भन्ने त हो । पछिल्लो समय कथातिर जोड गरिरहेको हुनाले पढ्नै पर्ने भयो । नत्र एउटा लेखकले भनेको कुरा अर्कोले पनि भनेपछि पाठकमा वितृष्णा पैदा हुने ठुलो सम्भावना रहन्छ । आखिर सबै लेखकको चुनौती पनि यही हो । उदाहरणका लागि उदय प्रकाश र छुदेन काविमोको लेखनको विषय लगभग एउटै त हो । मात्र क्राप्टका कारण फरक र उत्कृष्ट हुने हो । साँच्चै भन्ने हो भने दुवै लेखक माटोसँग जोडिएका छन् । तथापि लेखनलाई अन्ततः बलियो बनाउने विचारले नै हो । 

६) आफूले पढेका कृतिमध्ये सबै भन्दा धेरै कुनले झकझकायो तपाईंलाई ?

उमेर, अनुभव र त्यसबाट उत्पन्न अनुभूतिका कारण विचार निर्माण हुँदोरहेछ । एउटा मात्रैको नाम लिँदा राम्रो हुन्न । साहित्य, दर्शन, समाजशास्त्र सबैको आ–आफ्नै महत्त्व छ । मलाई फरक समय र फरक अनुभूतिबिच अनेक लेखक र कृतिहरू राम्रो लाग्दै आएका छन् ।  अहिलेका महिला लेखकले बलियो गरी वैचारिक दृष्टिकोण प्रस्तुत गर्दै आएका छन् । तर मलाई वर्तमानको भन्दा अघिल्लो पुस्ताको लेखनले झक्झकाइरहेको छ । पारिजातको ‘शिरीषको फुल’, पिटर जे कार्थकको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’, वैरागी काइँला र भूपीका केही कविता र पछिल्लो पुस्तामा श्रवण मुकारुङले केही फरक ढङ्गले आफूलाई स्थापित गर्नु भएको छ । त्यस्तै कुन्ता शर्माको ‘पोथी बास्नु हुन्न’ कविता मलाई धेरै नै मन पर्ने कविता हो । 

७) पछिल्लो समय नेपालको साहित्यिक बजार सन्तोषजनक छ त ?

केही होलाझैँ लागेको साहित्यिक बजार कोरोनापछि बिस्तारै कमजोर हुन गएको छ । प्रकाशन गृहको अवस्था फेरि शिथिल भएको महसुस हुन्छ । लेखकहरू लेखेरै बाच्न सक्ने अवस्थामा पुगेको थुप्रै उदाहरणहरू थियो पचासको दशकपछि । त्यो अवस्था फेरि कमजोर भयो । मलाई लाग्छ नेपाली लेखनले उठाएका मुद्दाहरु वर्तमान समयमा ठिक छ । समाजको पिँधमा रहेका विषयहरू निक्कै सशक्त रूपमा उजागर भएको छ । यो साहित्य विकासको अर्को चरण हो । 

८) लेखेर हालसम्म के पाउनु भयो वा के गुमाउनु भयो भनेर सोधियो भने के भन्नु हुन्छ ?

जे गरेँ आफ्नै रुचिले गरेँ । महिलाकै मुद्दाहरुमाथि र समाजमा उनीहरूले भोगेको जीवन तथा अन्यायका विरोधमा अझै लेख्नुपर्ने धेरै  छ । म आफैले सोचेको धेरै लेख्न सकेकी छैन, तर धेरै लेखकहरूले साहित्यका नाममा कुण्ठा लेखिरहेको अवस्था छ । यस्तो समयमा कम्तीमा म जे लेख्दैछु, त्यसैलाई थप परिष्कृत गर्ने सोचमा छु । 

महिला लेखकको हकमा नेपालमा मात्र होइन संसारभर उस्तै–उस्तै अवस्था छ । महिला लेखकले पलपलमा तातो कोइलामाथि हिँड्नुपर्छ । त्यति गर्दा पनि परिवार र लेखन दुई मध्ये एक सधैँ सङ्कटमा छ । तर यसरी बाँचेर आएको जीवनलाई महिला लेखकले जस्ताको त्यस्तै  लेखनमा ल्याउन सकेका छैनन् । धेरै राम्रो सम्भावना भएका महिला लेखकहरूको जीवनमा श्रीमती, आमा, भाउजू लगायत धेरै  सम्बन्धहरू निभाउँदा निभाउँदै उ भित्रको लेखक कतिखेर मरिसकेको अवस्था आउँछ, उसलाई थाह हुँदैन । साँच्चै भन्नुपर्दा नेपाल जस्तो  सामाजिक र सांस्कृतिक संरचना भएको देशमा महिलालाई लेखक हुन धेरै मुस्किल छ ।

९) ०७५ सालमा ‘हत्केलामा पृथ्वी लिएर उभिएका मान्छेहरू’ मार्फत पाठकमाझ आउनु भएको थियो, अब पाठकले नयाँ के पढ्न पाउने छन् ? 

पछिल्लो समय म कथाको तयारीमा छु । तर तीनलाई पुनर्लेखन गरौँ भन्ने सोचले गर्दा ढिला भइरहेको छ । कवितामा सहज महसुस  भइरहने मलाई कथामा भने अलिक भिन्न महसुस भइरहेको छ । यो आफैमा चुनौतीपूर्ण छ । तथापि जे होस, सम्भवतः पाठकले अब कथा नै पढ्न पाउनु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप