बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पैदल यात्रीको सुरक्षार्थ ‘एसएलसी’ अभियान

आइतबार, २८ मङ्सिर २०८२, २३ : ३८
आइतबार, २८ मङ्सिर २०८२

सारांश

  • कास्की प्रहरीले पैदल यात्रीको सुरक्षाका लागि एसएलसी अभियान सुरु गर्‍यो।
  • यो अभियान सवारी दुर्घटना कम गर्न र सडक सुरक्षा सचेतना बढाउन केन्द्रित छ।
  • प्रहरीले पोखराको जिरोकिमीदेखि हेम्जासम्मको सडक खण्डमा कार्यक्रम सञ्चालन गर्नेछ।

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले पैदलयात्रीको सुरक्षाका लागि जिल्लामा ‘स्टप, लुक एण्ड क्रस’ अर्थात (एसएलसी) अभियान सुरु गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि पैदल यात्रीले बाटो पार गर्दा कसरी सुरक्षित तरिकाले पार गर्ने विषयमा सचेतना बढाउने उद्देश्यले समुदायसँग मिलेर सो कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरीका प्रमुख एवं प्रहरी उपरीक्षक नविन कार्कीले बताए ।

उनका अनुसार जिल्लामा पछिल्लो समय बढ्दो क्रममा रहेको सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न र दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न कार्यालयको ‘सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०८२’ अन्तर्गत यस अभियान सुरु गरिएको हो ।

सडक पार गर्नुअघि रोकिने, दायाँबायाँ हेर्ने र बल्ल पार गर्नुपर्छ भनेर सचेतना अभिवृद्धि गरिनु यसको प्रमुख उद्देश्य रहेको बताइएको छ । प्रहरीले यो कार्यक्रम अहिले पोखराको जिरोकिमीदेखि हेम्जाको राजमार्ग खण्डमा सञ्चालन गरिरहेको छ । जिरो–हेम्जा सडक खण्डमा पैदल यात्रुले बाटो काट्दा बढी दुर्घटना हुने गरेको कारण यस क्षेत्रलाई लक्षित गरेर कार्यक्रम सुरु गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

उनले भने, “पैदल यात्रीलाई सुरक्षित तरिकाले बाटो पार गर्न सिकाइयो भने क्षति न्यूनीकरण हुन्छ भन्ने मान्यताले यो अभियान चलाएका हौँ । सवारी दुर्घटना बढी हुने स्थानमा यस्ता कार्यक्रम गर्नेछौँ ।”

जिल्लामा हुने दुर्घटनाका कारण हुने मृत्युको ४० प्रतिशत पैदल यात्रीको रहेको र त्योमध्ये पनि जिरोदेखि हेम्जा सडक खण्डमा मात्र ५० प्रतिशत पैदल यात्रीको दुर्घटनाबाट मृत्यु भएको प्रहरीको भनाइ छ । यस अभियानमा जिल्ला ट्राफिक कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर, जनप्रतिनिधि, सामुदायिक सेवा केन्द्र, विद्यालयहरूको प्रत्यक्ष सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप