भेनेजुएलालाई निशाना बनाउँदै ट्रम्प, तर किन मौन छन् रुस र चीन?
सारांश
- भेनेजुएलाका राष्ट्रपति मादुरोको लागि चीन र रुसको समर्थन घट्दै गएको विश्लेषण गरिएको छ।
- अमेरिकाले क्यारेबियन क्षेत्रमा सैन्य तैनाथी बढाएको छ र लागुऔषध तस्करी विरुद्ध कारबाही गरिरहेको छ।
- विज्ञहरूका अनुसार रुस र चीन दुवै भेनेजुएलालाई पूर्ण समर्थन दिन हिचकिचाइरहेका छन्।
काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका लागि उनका असली साथीहरू को हुन् भनेर सोच्नु स्वाभाविक हुन सक्छ। कुनै बेला चीन र रुससँगको उनको अत्यन्तै बलियो निर्भरता अब लगातार अनिश्चित देखिँदै छ।
धेरै वर्षसम्म यी दुई देशले भेनेजुएलाको समाजवादी सरकारलाई राजनीतिक, आर्थिक र सैन्य समर्थन दिए। यो सम्बन्धको सुरुवात पूर्वराष्ट्रपति ह्युगो चाभेजको पालामा भएको थियो, जो मादुरोका मार्गदर्शक पनि थिए।
तर विज्ञहरूका अनुसार अहिले यो समर्थन धेरै हदसम्म प्रतीकात्मक मात्र रहन गएको छ। सहयोगका रूपमा ठोस सैन्य वा आर्थिक सहकार्यको साटो केवल मौखिक समर्थन मात्र दिइँदै छ।
यो परिवर्तन यस्तो समयमा देखिएको छ, जब अमेरिकाले क्यारेबियन क्षेत्रमा आफ्नो वायुसेना र नौसेना तैनाथ गरेको छ। यसमा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी, जासुसी विमान र १५,००० सैनिक समावेश छन्।
अमेरिकाले यस क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न भएको आरोप लगाउँदै धेरै डुङ्गाहरूमा आक्रमण गरेको छ। यी आक्रमणहरूमा अहिलेसम्म ८० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। हालैका दिनमा अमेरिकाले भेनेजुएलाको तट नजिकै एउटा तेल ट्याङ्कर पनि जफत गरेको छ।
ट्रम्प प्रशासनको भनाइ अनुसार सैन्य तैनाथी र यी आक्रमणहरू लागुऔषध तस्करी विरुद्धको कारबाहीको हिस्सा हुन् र जफत गरिएको ट्याङ्करमाथि पहिलेदेखि नै प्रतिबन्ध लगाइएको थियो।

- अहिलेसम्म मौखिक समर्थन मात्र
चिलीको आन्द्रेस बेलो युनिभर्सिटीस्थित सेन्टर फर चाइना स्टडिजका निर्देशक प्राध्यापक फर्नान्डो रेयेस मत्ताका अनुसार भेनेजुएला अब चीन र रुस दुवैका लागि निकै कम प्राथमिकताको विषय बनिसकेको छ, विशेषगरी जबदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किएका छन्।
रेयेस मत्ता भन्छन्, ‘आज रुस वा चीन, कसैसँग पनि भेनेजुएलाको पूर्ण रूपमा रक्षा गर्नका लागि अघि सर्नुपर्ने कुनै ठोस कारण छैन। रुस युक्रेन युद्धमा अल्झिएको छ र चीन, राष्ट्रपति ट्रम्पसँग अन्तर्राष्ट्रिय स्तरमा सह-अस्तित्व कायम गर्ने प्रयास गरिरहेको छ।’
सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोले यस द्वन्द्वमा भारी मात्रामा स्रोतसाधन खर्च गरेको छ। यसले उसको आर्थिक स्थिति र सैन्य क्षमता दुवैमा दबाब बढाएको छ। यसका साथै रुसले व्यापक पश्चिमी प्रतिबन्धहरूको पनि सामना गर्नुपरिरहेको छ।
कोलम्बियाको इसेसी युनिभर्सिटीको पोलिटिक्स एन्ड इन्टरनेसनल रिलेसन्स ल्याबोरेटरीका निर्देशक प्राध्यापक भ्लादिमिर रुभिन्स्कीका अनुसार, यसले गर्दा पहिले रुसको समर्थनको फाइदा पाउने सहयोगी देशहरूका लागि स्रोतसाधन कम बच्न जान्छ।
मध्यपूर्वमा रुसका पुराना सहयोगी सिरिया र इरानले पनि हालैका समयमा यस्तै स्थितिको सामना गरिसकेका छन्। प्राध्यापक रुभिन्स्की भन्छन्, ‘रुसले पहिलेभन्दा बढी प्रतिबन्ध झेल्ने जोखिम लिनेछैन र चीनले मादुरोको रक्षाका लागि आफूमाथि थप कर (ट्यारिफ) लाग्ने खतरा उठाउनेछैन।’

- मादुरोले चीन र रुससँग सैन्य मदत मागेका थिए
द वासिङ्टन पोस्टका अनुसार, मादुरोले अक्टोबरको अन्त्यमा चीन र रुससँग सैन्य मद्दत मागेका थिए। रुसी मिडियाका अनुसार, क्रेमलिनका उपविदेश मन्त्री सर्गेई र्याबकोभले भनेका छन्, ‘हामी भेनेजुएलालाई समर्थन गर्छौं, जसरी उसले हाम्रो समर्थन गर्छ।’
साथै उनले ट्रम्प प्रशासनलाई संकट थप नबढाउन अपिल गरे। अमेरिकाले तेल ट्याङ्कर जफत गरेपछि क्रेमलिनले राष्ट्रपति भ्लादिमिर पुटिनले मादुरोलाई फोन गरेर आफ्नो समर्थन जनाएको बताएको छ। तर अहिलेसम्म मस्कोले कुनै ठोस मद्दत दिएको छैन।
रुसजस्तै चीनले पनि भेनेजुएलाको सैन्य रक्षाको कुनै संकेत दिएको छैन। चीनले केवल त्यसप्रति (अमेरिकाको कदमप्रति) आपत्ति जनाएको छ, जसलाई उसले ‘बाह्य हस्तक्षेप’ भन्छ र संयमता अपनाउन अपिल गरेको छ।
विज्ञहरूका अनुसार मादुरोको खुलेर समर्थन गर्नु चीनका लागि बेइजिङ र वासिङ्टनबिच हालै बनेको कूटनीतिक प्रगतिलाई खतरामा पार्नु हुन सक्छ, जबकि यसको बदलामा उसलाई वैचारिक मेलमिलाप बाहेक धेरै केही हासिल हुनेछैन।
ट्रम्पले धेरै देशहरूमाथि ट्यारिफ लगाएपछि अमेरिका-चीन सम्बन्ध निकै तनावपूर्ण रहेको छ। यद्यपि, अक्टोबरको अन्त्यमा दक्षिण कोरियामा ट्रम्प र सी जिनपिङको भेटले नयाँ सम्झौता र केही उत्पादनहरूमा कम ट्यारिफको सम्भावनाको ढोका खोलेको थियो। यो भेटलाई दुवै पक्षले सकारात्मक बताएका थिए।

- चीन र रुस किन आएनन् ?
विज्ञहरूका अनुसार, भेनेजुएलाको आर्थिक बरबादी र उसको तेल उद्योगको दुर्दशाले पनि चीनलाई पछि हट्न बाध्य पारेको छ। बेइजिङले पछिल्ला वर्षहरूमा नयाँ ऋण निकै कम गरेको छ र अब उसको ध्यान मुख्य रूपमा पुरानो ऋण असुलीमा केन्द्रित छ।
प्राध्यापक रुभिन्स्की भन्छन्, ‘मलाई लाग्छ कि चीन भविष्यमा मादुरोको ठाउँ लिने जुनसुकै सरकारसँग कुराकानीका लागि तयार रहनेछ। उसलाई यो पनि लाग्छ कि अहिले मादुरोको धेरै बलियो समर्थन गर्नु, सत्ता परिवर्तन भएको अवस्थामा नकारात्मक नतिजा ल्याउन सक्छ।’
प्राध्यापक रेयेस मत्ताको बुझाइ छ, ‘यी दुईमध्ये कुनै पनि देश यस्तो सरकारको समर्थन गर्न तयार छैनन्, जसको देश भित्रै यति कम जनसमर्थन छ।’
उनी भन्छन्, ‘यसबाहेक, रुस र चीन दुवैलाई थाहा छ कि अघिल्लो राष्ट्रपति चुनावमा धाँधलीको स्पष्ट संकेत थिए।’ जुलाई २०२४ मा अघिल्लो आम निर्वाचन भएको थियो र त्यसमा धाँधलीको गम्भीर आरोप लागेको थियो। सरकार नजिकका मानिसहरूको दबदबा रहेको नेसनल इलेक्टोरल काउन्सिलले मादुरोलाई विजेता घोषित गर्योस, तर अघिल्ला चुनावहरू विपरीत यसपटक कुनै विस्तृत नतिजा सार्वजनिक गरिएन।
यस वर्ष नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचादोको नेतृत्वमा रहेको विपक्षले यस्ता चुनावी रेकर्ड जारी गर्योव, जसअनुसार विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको जित भएको थियो।
प्राध्यापक रुभिन्स्की भन्छन्, ‘यसपटक मादुरो पूर्ण रूपमा एक्लो छन्।’ उनको विचारमा मादुरोको समय अब सकिँदै गइरहेको छ।
उनी भन्छन्, ‘रुस र चीनले अमेरिकी हस्तक्षेपको आलोचना गरिरहन सक्छन्, तर यसभन्दा अघि बढ्न तयार छैनन्। जुन समर्थन उनले पहिले पाउँथे, त्यो अब केवल केही बयानबाजीमा सीमित भएको छ। जमीनी यथार्थमा त्यो समर्थन अब छैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण