कोशीका सबै मन्त्री राजधानी बाहिर, प्रदेश सभा पनि सुस्त !
सारांश
- कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू एमाले महाधिवेशनमा सहभागी हुन काठमाडौँ गएका छन्।
- प्रदेश सभा निष्क्रिय रहेको र विपक्षी दलका नेताले सरकारको गतिविधिप्रति असन्तुष्टि जनाएका छन्।
- आन्दोलनबाट क्षतिग्रस्त प्रदेश सभा भवन मर्मतका लागि बजेट अभाव भएको छ।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू यतिवेला राजधानी विराटनगरमा छैनन् । एमालेबाट निर्वाचित मुख्यमन्त्री र मन्त्रीहरू सोही पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौँ केन्द्रित भएका छन् । कांग्रेसका मन्त्रीहरू पनि राजधानी बाहिर रहेको कर्मचारी स्रोतले बताएको छ ।
एमाले महाधिवेशनका क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की सचिवको उम्मेदवार बनेका छन् । यस्तै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, राज्यमन्त्री सिर्जना राई पनि काठमाडौँमै छन् । जसमध्ये मगर ओली पक्षबाट केन्द्रीय सदस्यका उम्मेद्वार हुन् । अन्य मन्त्रीहरू महाधिवेशन प्रतिनिधि छन् ।
कांग्रेसबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई गृहजिल्ला खोटाङको विकास निर्माणमा लागेका छन् भने पर्यटन, वन तथा वातवारण मन्त्री सदानन्द मण्डल पर्यटन बोर्डको एक कार्यक्रमका लागि काठमाडौँ पुगेका छन् । उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गाम पनि विराटनगर बाहिर छन् ।
- प्रदेश सभा पनि निष्क्रियजस्तै
जेनजी आन्दोलनको तीन महिना बितिसक्दा पनि प्रदेश सभा निष्क्रियजस्तै बनेको छ । कोशी प्रदेश सभाको यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा ६४ वटा विधेयक दर्ता भएकोमा ६२ वटा पास गरेको सभा अहिले निष्क्रिय छ ।
दोस्रो कार्यकालमा ३४ वटा विधेयक दर्ता भएकोमा २७ वटा पारित भएका छन् भने ४ वटा निष्क्रिय र २ वटा विधेयक विचाराधीन अवस्थामा छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र आङबोले सरकारले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा चासो नदिएको र जानाजान संसद् छल्न खोजेको आरोप लगाए ।
‘दुई ठुला र प्रतिस्पर्धी दलहरू मिलेर बनेको यो गठबन्धन आफैँमा अपवित्र छ भन्ने कुरा वर्तमान सरकारको गतिविधिले पुष्टि गरिसकेको छ । आज दुई ठुला दलको यो सरकार पूर्ण रूपमा असफल सिद्ध भइसकेको छ,’ आङबोले भने, ‘मुख्यमन्त्रीजी गठबन्धनको चेपुवामा परेर यति निरीह बन्नुभएको छ कि सरकारको उपस्थिति नै कमजोर र प्रभावहीन देखिएको छ । सिङ्गो प्रदेश सरकार नै अहिले कुहिरोको काग जस्तै रुमलिएको अवस्थामा छ ।’
‘जेनजी’ आन्दोलनको नाममा भएको क्षतिलाई देखाएर संसदबाट सरकार भाग्न खोजेको आङ्बोको आरोप छ । हिउँदे अधिवेशन सुरु गर्नुपर्ने समय घर्किसक्दा पनि सरकारको कुनै सुरसार नभएको भन्दै उनले अब विपक्षी दलहरू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए ।
आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेश सभा सचिवालयलाई विराटनगरबाट मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा कृषि थोक बजारमा सारिएको छ । संघीय सरकारको १३ करोड ७६ लाख लगानीमा बनेको यो भवन लामो समयदेखि बेवारिसे थियो । अहिले त्यहाँ सभाहल निर्माण र मर्मतका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ करोड ४० लाख २४ हजार ७ सय ९२ रुपैयाँ माग गरेको छ, तर आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत सुनिश्चितता नगरिदिँदा काम सुरु हुन सकेको छैन ।
मन्त्रालयले तयार पारेको विवरणअनुसार सबैभन्दा धेरै बजेट सभाका समितिको हल मर्मतका लागि २ करोड ८५ लाख ६४ हजार ६२४ रुपैयाँ र बैठक बस्ने सभाहल निर्माणका लागि २ करोड १३ लाख ५७ हजार ५ सय ५६ रुपैयाँ प्रस्ताव गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण