डायस्पोराको नोट चल्ने तर भोट नचल्ने अवस्था अन्त्य हुनुपर्छ : महर
सारांश
- कांग्रेस नेता नैनसिंह महरले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने बताए।
- उनले फागुन २१ को निर्वाचनमा डायस्पोराले मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरे।
- महरले आप्रवासी कामदारको अधिकार र सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशमा रहेका नेपालीहरूको ‘नोट चल्ने तर भोट नचल्ने’ विरोधाभासपूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा आयोजित एक वेबिनारमा बोल्दै महरले मुलुकको वर्तमान संवैधानिक संकटको एकमात्र निकास आगामी फागुन २१ गतेको निर्वाचन नै भएको र सोही निर्वाचनमा डायस्पोराले मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेका हुन्।
संसारभर रहेका आप्रवासी हकहित संरक्षणका अभियन्ता र गैरआवासीय नेपालीहरूसँगको विमर्शका क्रममा उनले विदेशमा बस्ने नेपालीको पसिनाले देशको अर्थतन्त्र धानिएको यथार्थलाई राज्यले बिर्सन नहुनेमा जोड दिएका छन्।
नेता महरले सरकार र सबै राजनीतिक दलहरूलाई फागुन २१ को निर्वाचनको वातावरण निर्माण गर्न इमानदार भएर लाग्न आग्रह गर्दै विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न इमानदार प्रयत्न हुनुपर्ने बताएका छन्। उनले नेपालमा गरिबी, बेरोजगारी, राजनीतिक अस्थिरता र जलवायु परिवर्तनका कारण ठूलो संख्यामा नेपालीहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै पछिल्लो तथ्यांकले आप्रवासनको भयावह अवस्था देखाएको औंल्याएका छन्। आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ३९ हजारभन्दा बढीले श्रम अनुमति लिनुले देशको विद्यमान स्थितिलाई छर्लङ्ग पारेको उनको भनाइ छ।
आप्रवासी कामदारको अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घको महासन्धिलाई स्मरण गर्दै महरले नेपालजस्तो श्रम निर्यात गर्ने देशका लागि यसको महत्त्व अझ बढी हुने बताएका छन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल र श्रम शोषण जस्ता समस्या भोगिरहेको तर्फ ध्यानाकर्षण गराउँदै उनले उनीहरूको अधिकार र सम्मान सुनिश्चित गर्नु नै आप्रवासी दिवसको वास्तविक सार्थकता हुने बताएका छन्।
लाखौं नेपालीको परिश्रमले देश चलेको हुनाले उनीहरूलाई राज्यको मूल प्रवाह र राजनीतिक निर्णय प्रक्रियामा समेट्नुपर्ने महरको मुख्य माग रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण