बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘सुदनले अराजकताको पराकाष्ठा नाघे, अबको निकास चुनावमात्र हो’

कहिले प्रधानमन्त्रीलाई ‘आमा’ भनेर खुट्टा ढोग्न जाने, कहिले त्यही सरकार र प्रधानमन्त्रीलाई ‘थुतेर फाल्दिन्छु’ भन्ने ? : तनुजा पाण्डे
शुक्रबार, ०४ पुस २०८२, ०९ : २९
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • सुदन गुरुङको अभिव्यक्तिलाई लिएर जेनजी आन्दोलनमा विवाद उत्पन्न भएको छ, जुन अराजक र आन्दोलनको भावना विपरीत रहेको आरोप छ।
  • संसद पुनर्स्थापनाको मागलाई अस्वीकार गर्दै, जेनजी आन्दोलनले चुनावलाई निकासको रूपमा लिएको छ, र सुशासन र पारदर्शिताका लागि आह्वान गरेको छ।
  • आन्दोलनमा वैचारिक भिन्नता भए पनि, जेनजीले देशको हितलाई प्राथमिकता दिँदै निष्पक्ष चुनावको लागि सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।

पछिल्लो समय नेपालको राजनीतिक वृत्तमा जेनजी आन्दोलन र यसका पात्रहरूले निकै चर्चा पाइरहेका छन् । विशेषगरी अभियन्ता सुदन गुरुङका अभिव्यक्ति र गतिविधिले राजनीतिक माहोललाई थप तरङ्गित बनाएको छ । सरकार र प्रधानमन्त्रीसँगको उनको सम्बन्धदेखि संसद् पुनर्स्थापना र आन्दोलनको भविष्यसम्मका विषयमा अनेकौँ प्रश्न उठेका छन् ।

यही सन्दर्भमा जेनजी आन्दोलनमा सक्रिय अभियन्ता तनुजा पाण्डेसँग समसामयिक राजनीतिक परिस्थिति र जेनजी आन्दोलनको दिशाबारे गरिएको कुराकानीमा :

  • पछिल्लो समय जेनजी अभियन्ता सुदन गुरुङका अभिव्यक्ति निकै विवादित र चर्चामा छन् । तपाईंले यही आन्दोलनको एक हिस्साको रूपमा उनका गतिविधिलाई कसरी हेरिरहनु भएको छ ?

सुदनजीको पछिल्लो समयको अभिव्यक्ति र गतिविधि हेर्दा मलाई अत्यन्तै चिन्ता लागेको छ । उहाँले जुन किसिमले अभिव्यक्ति दिइरहनुभएको छ, त्यो अराजक र अपरिपक्वमात्र छैन, आन्दोलनको मर्म र भावनाविपरीत पनि छ । जुन प्रधानमन्त्रीले उहाँलाई ‘स्पेस’ दिइरहनुभएको छ, त्यही स्पेसको दुरुपयोग गर्दै उहाँले अराजक अभिव्यक्ति दिइरहनुभएको छ ।

कहिले राष्ट्रपतिलाई मार्दिन्छु भनेर धम्की दिने, कहिले गृहमन्त्रीलाई त्यस्तै किसिमको चेतावनी दिने, अनि कहिले हाम्रै प्रधानमन्त्रीलाई थुतेर निकालिदिन्छु भन्नेजस्ता शब्द प्रयोग गर्ने । यस्ता अभिव्यक्तिले समाजमा सकारात्मक सन्देश जाँदैन, बरु एक किसिमको डर र भ्रमको वातावरण सिर्जना गर्छ । उहाँले आफूलाई आन्दोलनको अगुवा भनिरहँदा उहाँका हरेक शब्दले अर्थ राख्छ, तर उहाँका बोली र व्यवहारमा देखिएको विरोधाभासले उहाँ आफैँ अराजकताको एउटा उदाहरण बन्नुभएको छ जस्तो मलाई लाग्छ ।

  • एकातिर प्रधानमन्त्रीले सुदनलाई महत्त्व दिएको देखिन्छ, अर्कोतिर सुदनकै अभिव्यक्ति सरकार र स्वयं प्रधानमन्त्रीप्रति लक्षित देखिन्छ । यो सम्बन्धलाई कसरी बुझ्ने ?

यो एकदमै विरोधाभासपूर्ण अवस्था हो । सरकार र सुदनजीको सम्बन्धमा दुई वटा कुरा एकदमै बाझिएको देखिन्छ । एकातिर प्रधानमन्त्रीले भर्खरै पनि सरकार सुशासन र चुनाव गराउन तत्पर छ भनेर भन्नुभएको छ । अर्कोतिर सुदनजीले जे पायो त्यही बोलेर, पूरा नहुने माग राखेर, अनि आफ्ना कुरा पूरा नभए आन्दोलन नै ‘फेल’ हुन्छ भन्दै एक किसिमको ‘गेटकिपिङ’ गरिरहनुभएको छ । सरकारले उहाँलाई महत्त्व दिएकोभन्दा पनि उहाँ आफैँले आफ्नो महत्त्व खोजिरहनुभएको जस्तो देखिन्छ ।

प्रधानमन्त्रीले आफ्नो पदीय हैसियतले सबैलाई समेट्न खोज्नु, मिठो बोल्नु स्वाभाविक हो, तर सुदनजीले त्यसलाई सम्मान गर्न सिक्नुपर्छ । उहाँले फैलाएको भ्रमले सरकारलाई नै आँच आउने काम भइरहेको छ । यो सम्बन्धलाई जोडेर हेर्न मिल्छजस्तो मलाई लाग्दैन, किनकि दुवैको बाटो र उद्देश्य फरक देखिन्छ ।

  • हालै सुदनले संसद् पुनर्स्थापना अन्तिम विकल्प हुनसक्छ भन्ने अभिव्यक्ति दिनुभयो । यो मागप्रति जेनजी आन्दोलनको आधिकारिक धारणा के हो ? तपाईं के भन्नुहुन्छ ?

सुदनजीले दिनुभएको संसद् पुनर्स्थापनाको अभिव्यक्ति अराजकताको पराकाष्ठा हो । यो उहाँको व्यक्तिगत धारणा होला, तर यसले जेनजी आन्दोलनको प्रतिनिधित्व गर्दैन । हामीले बुझ्नुपर्छ– यो संसद् विघटन कुनै नियमित प्रक्रियाबाट भएको होइन । यो सरकार र प्रतिपक्ष दुवैको असफलताको परिणाम हो ।

जुन संसदले आफ्नै नागरिकमाथि निर्मम दमन गर्‍यो, जसको कारण दर्जनौँ निर्दोष युवाले ज्यान गुमाए, त्यो संसदले सार्वजनिक हैसियत गुमाइसकेको थियो । नागरिकको रगत लागेको, जनताको विश्वास गुमाइसकेको त्यही संसदलाई पुनर्स्थापना गर्नुपर्छ भनेर कुन नैतिकताले भन्न सकिन्छ ? यो त हामीले गरेको आन्दोलन, सहिदहरूको बलिदान र जनताको भावनामाथिको सबैभन्दा ठुलो धोका हो । उहाँ आन्दोलनबाटै आउनुभएको व्यक्ति हो तर आज उहाँले त्यही आन्दोलनको मर्मलाई कुल्चिन खोज्नुभएको छ ।

  • जनताबाटै निर्वाचित भएको संसद् पुनर्स्थापनाको मागलाई तपाईंहरू किन यति कडा रूपमा अस्वीकार गरिरहनुभएको छ ? यसको मुख्य कारण के हो ?

पहिलो कारण यो संसदले आफ्नो सान्दर्भिकता गुमाइसकेको थियो । सरकार र प्रतिपक्ष दुवैले जनताप्रति आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन्, जसको परिणामस्वरुप देश ठुलो सङ्कटमा फस्यो ।

दोस्रो, यही संसद् कायम रहँदा राज्यले आफ्ना नागरिकमाथि चरम दमन गर्‍यो । हामीले हाम्रा साथीहरू गुमायौँ । उहाँहरूको दाहसंस्कारमा सहभागी भएको व्यक्तिले आज त्यही संसद् फर्काउने कुरा गर्नु सहिदको अपमान हो ।

तेस्रो, यो विघटन जनताको भावना र आन्दोलनको बलमा भएको हो । जनताले अस्वीकार गरिसकेकोले फेरि ब्युँताउन खोज्नु भनेको प्रतिगमन हो, जुन केपी ओली र पुरानो नेतृत्वको प्रवृत्तिविरुद्ध हामी लड्यौँ, आज सुदनजीको अभिव्यक्ति र उहाँहरूको अभिव्यक्तिमा कुनै फरक देखिँदैन । यो सरासर गलत हो र कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।

  • सुदनले आफूलाई जेनजी आन्दोलनको एक प्रमुख अगुवाको रूपमा प्रस्तुत गरिरहनु भएको छ । के उहाँलाई जेनजीहरूले औपचारिक रूपमा नेता मानेका हुन् ?

होइन, उहाँलाई कसैले औपचारिक रूपमा हाम्रो नेतृत्व गरिदिनुस् भनेर बोलाएको होइन । उहाँले एक अन्तर्वार्तामा ‘जेनजीहरूले नै मलाई लिडरसिप लिन लगाए’ भन्नुभएको थियो, जुन सरासर गलत हो । उहाँ प्राविधिक रूपमा, उमेरका हिसाबले जेनजीमा पनि पर्नुहुन्न । उहाँले ‘मास म्यानिपुलेसन’को काम गरिरहनुभएको छ । उहाँले आफूलाई अगुवा भन्दैगर्दा आफूले बोलेका कुराले समग्र आन्दोलनलाई असर गर्छ भन्ने हेक्का राख्नुपर्छ । जेनजी आन्दोलन कुनै एक व्यक्तिको महत्त्वाकाङ्क्षा पूरा गर्ने माध्यम होइन । यो एउटा सामूहिक भावना हो र यसमा धेरै युवाको रगत, पसिना र बलिदान जोडिएको छ ।

  • तपाईंले ‘मास म्यानिपुलेसन’ र भ्रम फैलाउने काम भयो भन्नुभयो । यसको पुष्टि कसरी हुन्छ ?  

धेरै छन् । एउटा सानो उदाहरण दिन्छु । आन्दोलनकै क्रममा एक दिन बेलुका म कुनै राजनीतिक पार्टीमा आबद्ध छु भनेर उहाँहरूकै सोसल मिडिया प्लेटफर्मबाट मेरो एउटा इमेज सेयर गरियो, जुन कुरामा कुनै सत्यता थिएन र म त्यस्तो कुनै पार्टीमा आबद्ध पनि थिइनँ । यसरी मानिसहरूलाई व्यक्तिगत रूपमा लाञ्छित गरेर, भ्रम छरेर भिड भड्काउने काम उहाँहरूले गरिरहनुभएको छ । अर्को कुरा, उहाँलाई मन लागेको दिन चुनाव गराउने भन्नुहुन्छ, मन नलागेको दिन चुनाव नगराउने भन्नुहुन्छ ।

कहिले सरकारलाई ‘आमा’ भनेर खुट्टा ढोग्न जाने, कहिले त्यही सरकार र प्रधानमन्त्रीलाई ‘थुतेर फाल्दिन्छु’ भन्ने । यसरी युवाहरूको भावनामाथि नै खेलबाड गर्ने काम भइरहेको छ । यो युवाहरूको मत र विवेकलाई नै कमजोर बनाउने प्रयास हो ।

  • के सुदनको गतिविधिले जेनजी आन्दोलन विभाजित भएको हो कि आन्दोलनभित्र धेरै धार भएर हो ?

सुदनजीले सबै जेनजीको प्रतिनिधित्व गर्नुहुन्न । यो आन्दोलनमा धेरै परिपक्व र जिम्मेवार युवाहरू हुनुहुन्छ । जेनजी फ्रन्ट, अर्को जेनजी मुमेन्ट अलायन्स वा कुनै पनि अलायन्समा नभएका स्वतन्त्र युवाहरू पनि हुनुहुन्छ । जो निकै गम्भीर र परिपक्व ढङ्गले अघि बढिरहनुभएको छ । हालै विभिन्न जेनजी समूहहरूबिच भएको सहमति र सम्झौताले पनि उहाँहरूको परिपक्वता देखाउँछ । सबै जेनजीहरू उहाँले भनेजस्तै भड्किएका छैनन् । धेरै युवा नेपालको राजनीतिक डिस्कोर्सबाट लामो समयदेखि टाढा थिए । उनीहरूलाई राजनीतिक प्रणालीबारे धेरै कुरा थाहा नहुन सक्छ ।

यस्तो अवस्थामा उनीहरूलाई सही सूचना दिनुको सट्टा भ्रमित पार्नु अपराध हो, तर आन्दोलनभित्र एउटा सचेत तप्का छ, जसले सुदनजीको गतिविधिलाई नजिकबाट नियालिरहेको छ र सही समयमा सही निर्णय लिनेछ ।

  • यो जटिल परिस्थिति र आन्तरिक मतभेदका बिच अबको निकास के हो ? जेनजी आन्दोलनको तत्कालको प्राथमिकता के हुनुपर्छ ?

अबको एउटैमात्र निकास भनेको चुनाव हो । अहिलेको अवस्थामा हामीले गर्न सक्ने सबैभन्दा ठुलो र महत्त्वपूर्ण काम भनेको सरकारलाई निष्पक्ष चुनाव गराउन सहयोग गर्नु हो । हामीले राजनीतिक दलहरूलाई पनि जिम्मेवार बन्न दबाब दिनुपर्छ र चुनावको लागि एउटा स्वस्थ वातावरण बनाउन सहयोग गर्नुपर्छ । सुशासन र जवाफदेहिता स्थापित गर्ने एकमात्र लोकतान्त्रिक प्रक्रिया भनेकै चुनाव हो । जनताको भोटबाट नै आउने सरकारले वैधानिकता पाउँछ । त्यसपछि मात्र हामीले उठाएका मुद्दाहरू, जस्तै संविधान संशोधन र अन्य सुधारका कार्यहरू अघि बढ्न सक्छन् । त्यसैले अहिलेको हाम्रो प्राथमिकता भनेको कुनै पनि हालतमा देशलाई चुनावसम्म पुर्‍याउनु हो । यो नै ‘वे आउट’ हो ।

  • जेनजी आन्दोलनमा विभिन्न वैचारिक भिन्नता पनि देखिन्छन् । यसले आन्दोलनलाई कस्तो असर पार्छ ?

हो, आन्दोलनमा वैचारिक भिन्नता छन् । यो स्वाभाविक पनि हो किनकि यो व्यक्तिगत विचारधाराको कुरा हो, तर अहिलेको यो जटिल समयमा हामीले आफ्नो व्यक्तिगत विचारभन्दा माथि उठेर देशको हित सोच्नुपर्छ । हामीले आफ्नो विवेक प्रयोग गर्नुपर्छ ।

देशलाई फेरी अस्थिरतातिर धकेल्ने, समाज भाँड्नेजस्ता अभिव्यक्तिहरू हामी जेनजीहरूले पनि अब दिन छोड्नुपर्छ । हाम्रो मुख्य लक्ष्य भनेको प्रणाली सुधार हो र त्यो लक्ष्यमा पुग्नका लागि हामीबिच न्यूनतम साझा सहमति हुनैपर्छ । अहिलेको साझा सहमति भनेको चुनाव नै हो ।

  • अन्य जेनजी तथा आम नागरिकलाई तपाईं के भन्न चाहनुहुन्छ ?

म सबैलाई के भन्न चाहन्छु भने निराश नहुनुहोस् । आन्दोलनमा केही अवसरवादी र अपरिपक्व व्यक्तिहरू देखिए पनि आन्दोलनको मूल मर्म मरेको छैन । हजारौँ युवाहरूको त्याग, बलिदान र सपना यो आन्दोलनसँग जोडिएको छ । हामीले सहिदहरूको बलिदानलाई बिर्सिनु हुँदैन । हामीले हाम्रो विवेक प्रयोग गर्नुपर्छ, कसैको भ्रम र बहकाउमा लाग्नु हुँदैन । अबको हाम्रो बाटो भनेको सुशासन, पारदर्शिता र जवाफदेहिता हो र त्यो बाटोमा पुग्ने माध्यम भनेको निष्पक्ष चुनाव हो ।

हामी सबै मिलेर सरकारलाई चुनाव गराउन सहयोग गरौँ र एउटा शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियाबाट देशलाई निकास दिऔँ । यो देशको भविष्य अब हाम्रो काँधमा छ र हामीले यसलाई जिम्मेवारीपूर्वक पूरा गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप