इन्डिया–नेपाल टुरिजम मिट : बढ्दो पर्यटन सहकार्य स्वागतयोग्य कदम
सारांश
- नेपाल पर्यटन बोर्ड र भारतीय दूतावासको सहकार्यमा पोखरामा इन्डिया-नेपाल टुरिजम मिट सम्पन्न भयो।
- कार्यक्रममा गण्डकी प्रदेश र भारतबीच पर्यटन सहकार्य विस्तारबारे छलफल भयो, जसमा मुख्यमन्त्री पाण्डेले जोड दिए।
- कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीहरूबीच पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी, र पर्यटन सर्किटबारे छलफल भयो।
काठमाडौँ । नेपाल पर्यटन बोर्डद्वारा भारतीय दूतावासको सहकार्यमा पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ । काठमाडौँस्थित भारतीय राजदूतावास र पोखरा पर्यटन परिषद्सँगको संयुक्त आयोजनामा २०८२ पौष ३ गते आयोजित उक्त कार्यक्रम भारत र नेपालबिच विशेषतः उत्तर प्रदेश र गण्डकी प्रदेशबिचको पर्यटन सहकार्य विस्तारमा केन्द्रित रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
गण्डकी प्रदेशको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी वर्षसमेत मनाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथ क्षेत्रलाई केन्द्रमा राख्दै भारतसँग बढ्दो पर्यटन सहकार्यलाई स्वागतयोग्य कदमको रूपमा उल्लेख गरेका छन् ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको समग्र पर्यटनको अवस्था, प्राथमिक बजार तथा भावी रणनीतिबारे विस्तृत प्रस्तुति दिएका हुन् । प्रमुख कार्यकारी अधिकृत जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमध्ये भारत सबैभन्दा ठुलो स्रोत मुलुक रहेको उल्लेख गर्दै भारत–नेपाल पर्यटन सहकार्यलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले बोर्डले अघि सारेका पहलहरूको चर्चा गरे । धार्मिक, सांस्कृतिक, साहसिक र प्रकृतिमुखी पर्यटनमार्फत दुवै देश लाभान्वित हुनसक्ने उनको भनाइ थियो ।
भारतीय राजदूतावास नियोग उपप्रमुख डा.राकेश पाण्डेले कनेक्टिभिटीमा आएको सुधारले अन्तरदेशीय पर्यटनलाई नयाँ गति दिएको उल्लेख गर्दै नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक पर्यटन परिपथ (सर्किट) हरूको संयुक्त प्रवर्द्धनमा दुवै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । उनले सीमा क्षेत्र केन्द्रित पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन समन्वय आवश्यक रहेको धारणासमेत व्यक्त गरे ।
यस अवसरमा उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले उत्तर प्रदेशका प्रमुख पर्यटन परिपथहरूबारे प्रस्तुति दिए । आगामी माघ मेलालाई विशेष आकर्षणका रूपमा प्रस्तुत गर्नुका साथै उनले उत्तर प्रदेशमा पर्यटन नीतिको कार्यान्वयनमा अपनाइएका उत्कृष्ट अभ्यासहरूबारे जानकारी गराए ।
कार्यक्रम अन्तर्गत आयोजित बीटुबी सत्रमा भारतबाट करिब १० जना र नेपालबाट ६० जना पर्यटन व्यवसायी तथा टुर अपरेटरहरूको सहभागिता रहेको थियो । छलफलमा स्थल मार्गबाट हुने अन्तरदेशीय पर्यटन प्रवर्द्धन, बौद्ध परिपथ, वन्यजन्तु पर्यटन, साहसिक तथा आध्यात्मिक पर्यटन क्षेत्रमा सम्भावित सहकार्यका विषयमा केन्द्रित संवाद भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यसै कार्यक्रमको निरन्तरताका रूपमा नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को सहकार्यमा उत्तर प्रदेश राज्यका प्रतिनिधिमण्डलका लागि २०८२ मङ्सिर २९ देखि पौष २ गतेसम्म परिचयात्मक भ्रमण (फ्याम ट्रिप) को आयोजना गरिएको थियो । उक्त भ्रमणले पोखरा र आसपासका गन्तव्यहरूको प्रत्यक्ष अनुभवमार्फत पर्यटन सहकार्यलाई व्यवहारिक तहमा विस्तार गर्ने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डले यस प्रकारका क्षेत्रीय र अन्तरदेशीय कार्यक्रमहरूले नेपाल–भारत पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण