मधेस केन्द्रित दलका कुन नेता कहाँबाट चुनाव लड्ने तयारी गर्दैछन् ?
सारांश
- फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने मिति तय भएपनि चुनाव हुने नहुनेमा संशय कायमै छ ।
- मधेस केन्द्रित दलका नेताहरू निर्वाचनका लागि विभिन्न क्षेत्रबाट उम्मेदवार सिफारिस भइरहेका छन् ।
- सप्तरी-२ मा उपेन्द्र यादव र सीके राउतबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ, तर मोर्चाले सिट तालमेलबारे निर्णय गर्न बाँकी छ ।
काठमाडौँ । सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्नेगरी मिति तय गरेपनि राजनीतिक दलदेखि आम जनतामा हुने/नहुनेमा संशय कायमै छ । यही संशयकै बिच दलहरूले विभिन्न नाममा चुनावी अभियान भने सुरु गरिरहेका छन् ।
यस्तैमा मधेस केन्द्रित दलले पनि चुनाव केन्द्रित गतिविधि गरिरहेका छन् । जसअनुसार जसपा नेपाल, लोसपा नेपाल, जनमत पार्टीलगायतका मधेस केन्द्रित दलका शीर्ष नेताहरुको नाम धमाधम सिफारिस भइरहेको छ ।
जसपा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सप्तरी–२ र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो सर्लाही–२ बाट सिफारिस भएका छन् । यी नेताहरूले सिफारिस उल्लेखित क्षेत्रबाटै चुनाव लड्नेगरी ‘माइन्डसेट’ गरिसकेको सम्बन्धित दलका नेताहरू बताउँछन् ।
यस्तै हाल औपचारिक रुपमा सिफारिस भइनसकेपनि नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत सप्तरी–२ बाट निर्वाचन लड्ने तयारी गरेका छन् ।
नेताहरूले माइन्डसेट गरेअनुसार नै चुनावी मैदानमा खडा भए सप्तरी–२ मा यस पटक पनि उपेन्द्र यादव र सीके राउतबिच प्रतिस्पर्धा हुने देखिएको छ । तर यस पटक यी दुई नेतालाई सप्तरी–२ बाट चुनाव लड्नबाट रोक्ने प्रयास पनि भइरहेको छ । मधेसी दलहरूले गठन गरेको संयुक्त लोकतान्त्रिक मोर्चाले चुनावमा सिटको तालमेल गर्ने निर्णय गरिसकेकाले सकभर मोर्चामा रहेका दलहरूकै बिचमा प्रतिस्पर्धा नहोस् भनेर गृहकार्य गरिरहेको बुझिएको छ ।
यसअघि सप्तरी–२ मा उपेन्द्र यादव र सीके राउतबिच प्रतिस्पर्धा हुँदा सीके राउतले बाजी मारेका थिए । त्यसपछि उपेन्द्र यादवले बारामा भएको उपनिर्वाचनबाट चुनाव जितेका थिए ।
सप्तरी–२ का एक नेताका अनुसार शनिबार यादव सप्तरी जाँदैछन्, उनले त्यहाँका स्थानीय शीर्ष नेताहरूसँग छलफल गरेपछि सप्तरी–२ बाट सिफारिसबारे औपचारिक निर्णय हुने बताइएको छ ।
जसपा नेपालमा महासचिव रामकुमार शर्माले अहिले चुनाव हुने÷नहुनेमै अन्यौलता रहेपनि पार्टीको तर्फबाट प्रक्रियागत कार्यहरू भइरहेको बताए । उनले अध्यक्षको हकमा पनि छलफल गरेर निर्णय लिइने बताए ।
उनले भने, ‘अध्यक्षज्यूलाई चुनाव लड्न भनेर विभिन्न जिल्लाबाट प्रस्ताव आइरहेको छ । छलफल गरेर आवश्यक निर्णय हुन्छ ।’
उसो त सीके राउत सहितका नेताहरू अन्य क्षेत्रबाट पनि उम्मेदवारको रूपमा सिफारिस भएका छन् । राउतको नाम सप्तरी–१ का साथै बारा, पर्सा, सिरहालगायतका जिल्लाबाट पनि उम्मेदवारको रूपमा सिफारिस भएको छ । तर उनी सप्तरी–२ बाटै चुनाव लड्ने भनेर निश्चित भएर बसेको पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले बताए । उनले भने, ‘अध्यक्षज्यूले सप्तरी–२ बाट नै चुनाव लड्ने सम्भावना देखिएको छ, पहिला पनि त्यहीँबाट चुनाव जितेको कारण स्वाभाविक रूपमा पुनः त्यही गएर चुनाव लड्ने हो ।’
यस्तै महोत्तरी–३ बाट चुनाव लड्ने लगभग निश्चित भइसकेपनि लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको नाम सर्लाहीबाट समानुपातिक उम्मेदवारको रूपमा पनि सिफारिस भएको छ । लोसपा नेपालका महासचिव मनिष मिश्रले भने, ‘विभिन्न जिल्लाबाट अध्यक्षज्यूको नाम सिफारिस भएको छ । जिल्ला जिल्लाबाट सिफारिस भएका नामहरू केन्द्रमा आइरहेका छन्, सबैको आइसकेपछि छलफल गरेर टुंग्याउँछौँ ।’
यस्तै सर्लाही–२ बाट चुनाव लड्ने भनेर राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो त्यसतर्फ केन्द्रित भइसकेका छन् । अध्यक्ष महतोको नाम अन्य अन्य जिल्लाबाट पनि सिफारिस भएको छ । तर उनी सर्लाही–२ बाटै चुनाव लड्ने निश्चित भइसकेको उनका पार्टीका नेताहरू बताउँछन् ।
- मोर्चाले टुग्यांउन बाँकी
नेताहरूको चुनाव लड्ने निश्चित भएपनि हालसम्म संघीय लोकतान्त्रिक मोर्चामा भने यसबारेमा थप टुंगो लाग्न बाँकी छ । मोर्चामा जसपा नेपाल, लोसपा नेपाल, जनमत पार्टी, तमलोपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता प्रगतिशील पार्टी रहेका छन् ।
मोर्चामा रहेका यी दलहरूले एकसाथ चुनावमा सहभागी हुने यसअघि नै निर्णय गरेका थिए । तर कसरी तालमेल गर्ने भनी निर्णय भएको छैन ।
उसो त मोर्चाका दलहरूको बिचमा ध्रुवीकरण पनि जारी छ । मोर्चामा रहेको लोसपा, तमलोपा र जनता प्रगतिशील पार्टी बिचमा एकता हुने निश्चित भइसकेको छ । यस्तै लोसपा र जसपा नेपालबिच पनि एकता हुने गृहकार्य भइरहेको छ । उता, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जसपाबिच एउटै चिन्हमा चुनाव लड्ने भनी सहमति भइसकेको समेत अवस्था छ ।
सात दलको मोर्चा अहिले एकता र ध्रुवीकरणपछि दुई/तीन दलमा सीमित भएपछि सीटमा पनि बाँडफाँड गर्न सजिलो हुने नेताहरू बताउँछन् ।
राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले एकसाथ चुनावमा जाने सहमति भए अनुसार मोर्चा त्यसको गृहकार्यमा लागेको बताए । दलहरूमा उम्मेदवारको नाम सिफारिस भएर आइरहेको भन्दै उनले सबैको नाम आइसकेपछि मोर्चामा छलफल गरेर सीटको टुंगो लगाइने बताए । त्यसका लागि चाँडै मोर्चाको बैठक राखेर एउटा कार्यदल बनाइने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण