शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसबाट निष्काशित पूर्वमन्त्री खड्का रास्वपा प्रवेश गर्दै

शुक्रबार, ०४ पुस २०८२, २० : २२
शुक्रबार, ०४ पुस २०८२

पोखरा । नेपाली कांग्रेसले अनुशासनको कारबाही गरेका पूर्वमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन् । 

खड्कालाई कांग्रेसले १ वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गरेको थियो । हालका प्रदेश मन्त्री विन्दुकुमार थापासँग उनको टकराब ‘क्लाइमेक्स’ मा पुगेको थियो ।

थापालाई निर्वाचनमा हराउन भूमिका खेलेको आरोप खड्कालाई छ । २०७९ को निर्वाचनपछि केही सुस्ताएका खड्कालाई असार अन्तिममा साधारण सदस्यबाटै निष्कासन गर्ने अनुशासन आयोगले निर्णय गरेको हो ।

पार्टीको कारबाहीपछि असन्तुष्ट बनेका खड्काले आगामी १९ गते पोखरामा एक विशेष कार्यक्रमबिच रास्वपा प्रवेशको घोषणा गर्ने तयारी गरेका हुन् ।

आफूलाई नेपाली कांग्रेसले अन्यायपूर्ण ढङ्गले कारबाही गरेर राजनीतिबाटै बाहिर निकाल्न खोजेपछि बाध्य भएर नयाँ विकल्प रोजेको उनले बताएका छन् ।

‘म अरू पार्टीमा जाने योजनामा थिइनँ । बरु सक्रिय राजनीतिमा नरहने कि भन्ने लागेको थियो,’ रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘तर पार्टीले मलाई अन्यायपूर्ण रूपमा पार्टीबाटै निष्कासन गरिदियो । बाध्य भएर मैले अर्को पार्टी रोज्नुपर्ने अवस्थामा पुगेँ ।’

निर्वाचनका बेला अनुशासनको कारबाहीमा परेपछि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाइएको थियो । पछि केन्द्रीय नेताहरूले कारबाही फिर्ता लिने सङ्केत गरे पनि कारबाहीमा परेकाहरूको क्रियाशील सदस्यता नवीकरण नगर्नू भन्ने परिपत्र गरेपछि उनको सदस्यता नै नवीकरण भएको छैन ।

‘कांग्रेसले मलाई निर्वाचनमा भाग लिन नपाउने र महाधिवेशनमा जान पनि नपाउने बनाइदियो,’ खड्काले भने, ‘मैले कांग्रेस छोडेको होइन, काँग्रेसले मलाई छोड्यो । यत्रो अन्याय भएपछि अब जहाँ सम्मान हुन्छ, त्यहाँ जानुपर्छ भन्ने निर्णयमा पुगेको हुँ ।’

उनले रास्वपा जानुअघि कांग्रेस सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूसँग संवाद पनि गरेका थिए । आफ्नो कारबाही फुकुवा गर्न र काम गर्ने वातावरण बनाउन आग्रह गरे पनि नेतृत्वले कुनै चासो नदिएको उनले गुनासो गरे ।

रास्वपा प्रवेश गरेपछि पनि उनले आफूलाई केन्द्रीय संसद् वा सङ्घीय राजनीतिमा रुचि नरहेको प्रस्ट पारेका छन् । ‘मैले रास्वपाका साथीहरूलाई पनि भनिसकेको छु, मलाई केन्द्रमा जानु छैन । मेरो रुचि र अनुभव प्रदेशकै राजनीतिमा छ । भोलि पार्टीले पत्यायो भने म गण्डकी प्रदेशकै राजनीतिमा सक्रिय हुनेछु,’ उनले थपे, ‘त्यसबाहेक मलाई यो पद दिनू भनेको छैन । उहाँहरूलाई जहाँ उपयुक्त लाग्छ त्यही जिम्मेवारी दिनुहुन्छ ।’ 

उनी कास्कीको राजनीतिमा निकै प्रभावशाली छन् । कांग्रेसमा छिर्नुअघि उनी अखण्ड नेपाल पार्टीको अध्यक्ष थिए । सङ्घीयतापछि उक्त पार्टी काँग्रेसमा विलय गराएका हुन् । खड्का अखण्डमै हुँदा केन्द्रमा महिला बालबालिका मन्त्री बनेका थिए भने प्रदेशमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप