मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी साताको कविता

मातृका पोखरेलका तीन कविता

शनिबार, ०५ पुस २०८२, १७ : ००
शनिबार, ०५ पुस २०८२
00:00 / NaN:NaN
Audio By AI

रातोपाटीको कविता श्रृंखलामा यस पटक प्रस्तुत छ– मातृका पोखरेलका तीन कविता ।

१) गोल्डस्टार जुत्ता
मगर कान्छा दाइ !
तिम्रो जसरी मेरो पनि इतिहास 
कुनै लेखोटमा कतै लेखिएन
तिमी जस्तै म पनि अपहेलित छु
म निर्जिव गोल्डस्टार जुत्ता ।

तिमीलाई थाहा छ–
मैले पनि तिमी सँगसँगै 
हिमालका चिसा गल्छेडाहरू पार गरेकै हूँ
तिमी सँगसँगै
मधेशको तातो गर्मी छिचोलेकै हुँ
जुत्ताका प्रत्येक पत्रहरूमा छन्
सर्प र बिच्छीले डसेका डोवहरु 
तिमीले देखेकै छौ 
धेरै लेखिए युद्धका कथा
बन्दुकका कथा पनि लेखिए
तर हाम्रा कथा कतै लेखिएनन्
जङ्गलका नागीहरूमा
हिमालका पठारहरूमा
उत्खनन् गरे म धेरै तिर भेटिन्छु
अज्ञात सहिदका खुट्टाहरूमा 
अझै पनि पक्कै म टाँसिएरै बसेको छु ।

मगर कान्छा दाइ !
मलाई लगाउन पाउँदा 
तिमी मात्र होइन
तिम्रा नेताहरू पनि प्रफुल्ल हुन्थे
मेरो तलुवाको चिन्ह देखेर सुरु हुन्थ्यो खोजी अभियान
मेरो निशाना पाएर हुन्थ्यो गोलाबारी 
गाउँ, जङ्गल र बस्ती बढी खोजिने 
म त्यही गोलस्टार जुत्ता हुँ ।

यो कथा
अचेल कतैतिर तिमी सँगसँगै
मेरो पनि कुनै लेखोटमा लेखिएन
म त्यही जुत्ता हुँ
जसलाई देखेर काँप्थे शासनका बागडोर चलाउनेहरू
अचेल पनि गाउँघरमा
सहिदका बाबुआमाहरू
आफन्तजनहरू
मलाई देखेर भावुक हुन्छन्
तिमी सपना देख्थ्यौ
म केवल साथ दिन सक्थें
मेरो इतिहास नलेखियोस् बरू
म निर्जिव गोलस्टार जुत्ता
तर तिमी चेतनासहित हिंडेको मान्छे
तिम्रो बलिदान लेखिनै पर्छ
तिम्रो त्याग लेखिनै पर्छ
म तिमी सँगसँगै हिँडें
तिमी सँगसँगै
कति हिमालहरू चढें ?
कति बाढी तरें ?
कति जङ्गल काटें ?
अहँ कतै पनि 
कुनै लेखोटमा लेखिएन
मेरै जस्तो तिम्रो पनि इतिहास !

मगर कान्छा दाइ !
मेरो जुत्ताको तलुवामा
देशको कुन जमीनको
बास्ना आउँदैन ?
कुन सहिदको रगतले रंगिइन म ?
तिम्रै जस्तै नियति हो मेरो पनि
तिम्रो जसरी मेरो पनि इतिहास 
कुनै लेखोटमा कतै लेखिएन 
पढिएको र लेखिएको इतिहासभन्दा
टाढा; निकै टाढा
हामीले टेक्ने माटो मुनी
अर्कै सत्य इतिहास लुकेर बस्दो रहेछ
तिम्रो र मेरो कथाजस्तै 
अर्को एउटा गुमनाम इतिहास ।

मगर कान्छा दाइ !
तिम्रो जसरी मेरो पनि इतिहास 
मेरो जसरी तिम्रो पनि नाम
कुनै लेखोटमा कतै लेखिएन ।

०००


२) खण्डहरबाट एउटा आवाज 
(आफ्नो मातृभूमिको रक्षाका लागि संघर्षशील प्यालेस्टिनीहरूमा समर्पित)

म प्यालेस्टाइन !
माथि आकाश हेर्छु
यसको नीलो रङ्गमा रमाउने अधिकार खोज्छु
अनगिन्ती तारापिण्डहरूसँग हराउने सपना देख्छु
म आफ्नै देशमा अपरिचित र असहाय
हो, म प्यालेस्टाइन !

मेरै घरमा बसेर
मलाई बन्दुक ताक्नेहरू
मेरो सपनामा खुवै आउँछन् 
त्यो घरको ढुङ्गा
त्यो आँगनको माटो
त्यो झ्यालबाट देखिने दृश्य
त्यो आमाको स्वर
एकाएक हराए 
अब मसँग 
गुमेको सभ्यताको एउटा कथा बाँकी छ ।

ती खण्डहर सडकहरू
एकैचोटि समाप्त भएका ती बैठक कोठाहरू
ती भत्किएका गेटहरू
ती जलेका पलङ र कुर्सीहरु
आफ्नो सभ्यता खण्डहर भएको दृश्य हेर्न विवश
मानौं म एक पर्यटक हुँ
यो शहरमा बाँचेका मानिसहरू कसैसँग गुनासो गर्दैनन्
अचेल हाम्रो आँखाबाट आँसु बग्दैन
धुवाँको ज्वाला निस्कन्छ ।

म फेरि हेर्छु–
त्यहीँ नेर थियो मेरो एउटा घर
मारिनु भन्दा अघि
त्यही छेउमा थिइन मेरी आमा
त्यहीँ खेलिरहेका थिए मेरा बच्चाहरू
सम्झनास्वरूप यतिबेला मेरो हातमा
मेरो छोराको छुटेको एउटा जुत्ता छ
उसको जलेको किताब छ मसँग 
मेरो हातमा छ उसको टिफिन बट्टा
र आमाको मजेत्रो ।

प्रत्येक विपना 
मृत्युको ध्वनी बजाउँदै वस्तीमा आउँछ
त्रासद बमको गन्धले वस्ती ढाकिन्छ
फेरि रात पर्छ
तर निद्रा आउँदैन
किनभने सपनामा पनि 
ऊ मलाई बन्दुक ताकिरहेको हुन्छ
विपनाजस्तै त्यहाँ पनि मृत्यु आउँछ
सपनामा पनि युद्ध छ
सपनामा पनि चित्कार छ
सपना भनेको
मेरो परिभाषामा अर्को रणभूमि हो
जहाँ चित्कारको प्रतिध्वनि
आकाशले पनि सम्हाल्न सक्दैन 
मसँग अब
सभ्यताको एउटा कथा छ
त्यो कथा जलेको धुवाँभित्र कैद भएको
एउटा इतिहास हो ।

म बारम्बार नयाँ बिहान खोज्छु
मेरो छोराको जुत्तामा 
अझै पनि माटोको गन्ध आउँछ
त्यो माटो जसले हजारौं बसन्त देखेको थियो
त्यो माटो जुन मेरो र मेरो हो
किनभने म प्यालेस्टाइन हुँ
म कदापि हार मान्दिनँ
प्रतिरोध नै मेरो अस्तित्व हो ।

०००

३) घर घरजस्तै भइदिए हुन्थ्यो 

पानी पर्ने दिन
हुरी चल्ने रात
आँखा झिमिक्कै पार्न पाइँदैन
रातभर अनिँदो बस्नुपर्छ
अब यो घर
हिजोको जस्तो रहेन ।

फेरि पनि मनभित्र
एउटा पुरानो उत्कण्ठा सल्बलाइरहेकै छ–
मात्र यो घरले
हुरी छेकीदिए हुन्थ्यो
वर्षादको पानी रोकिदिए हुन्थ्यो
छानाबाट हरदम डर चुहिरहन्छ 
न झकाउन सकिन्छ
न निदाउन सकिन्छ
लेउ लागेका भित्ताहरूले 
अविश्वास र असुरक्षा लेखिएका
म्यादहरू तामेली गरिरहेका छन् ।

उहिले भन्नेहरूले भने–
यो हामी धेरै अट्ने घर हो भने
यो घरमा बसेपछि कोही अपमानित हुनु पर्दैन भने
हामी सबैले पत्यायौं 
र घरलाई खुवै माया गर्‍यौँ 
म जस्तै
इतिहासका धेरै पाइलाहरू
यस घरको आँगनमा आए
भविष्य खोज्नेहरू आए
मुक्ति खोज्नेहरू आए
नयाँ सपना बोकेर आएका
थकित अनुहारहरू आए
सबै मिलेर माटो र रगत मुछे
घरको जग बढाए
र पसिनाको गाह्रो लगाए ।

जब तिमीले अगुवा भएर भन्यौ–
यसलाई सबैको घर बनाउँछु
त्यही दिनदेखि
मेरो घर भन्दै गोमनहरू पस्न थाले
मेरो घर भन्दै आए खजुरा र बिच्छीहरू 
घर क्रमशः खण्डहर बन्दै छ
भविष्य खोज्नेहरू निरास छन्
मुक्ति खोज्नेहरू हरेस खान थाले
सपना देख्नेहरू देख्न छाडे
यतिबेला–
उनीहरु निरन्तर घर छाडिरहेछन्
यो घरलाई विश्वास गरेकोमा पछुतो मानिरहेछन्
सोचौं, धेरै सोचौं
घरको आस्था भनेको–
कम्तीमा विश्वासको निद्रा लाग्नुपर्छ
कम्तीमा भोलिको भरोसा बन्नुपर्छ
फेरि पनि घर चाहिन्छ
तर घर घरजस्तै
जहाँ पानी परेपछि पनि निदाउन सक्नुपर्छ
जहाँ बच्चाहरू निर्भयसँग खेल्न सक्नुपर्छ
जहाँ आमाहरूले मुस्कुराएर आशीर्वाद दिन सक्नुपर्छ
जबसम्म तिमी
यो घरलाई सबैको भन्छौ
वर्ग प्रेमको यो घर भत्काउन योजना कोर्नेहरू 
भान्साको पिर्कामा बसेर
डाडु पनिउँ समाइरहेछन्
कोठाचोटा कब्जा गरिरहेछन् ।

मलाई अब मेरो घर
खण्डहर होइन
भव्य र सुरक्षित चाहिएको छ 
अरबको मुटु फुटाउने तातो हावामा भविष्य खोजिरहेको 
कान्छो भाइलाई बोलाउनु छ र भन्नु छ 
मुम्बईमा बेचिएकी बहिनीलाई 
स्वदेश फर्काएर विश्वास दिलाउनु छ 
सोचौँ—
धेरै सोचौँ
कालकुट विष पिएर बाँचेको यो घर
कम्तीमा विश्वासको निद्रा लाग्ने ठाउँ बन्नुपर्छ
म अहिलेसम्म 
यही घरभित्र बसेर
यो घरलाई मेरो भनेर दावी गर्ने
गोमन सर्पहरूसँग लडिरहेको छु
खजुरा र बिच्छीहरूसँग लडिरहेको छु
जबसम्म यो घर खण्डहर हुन्छ
त्यस दिनसम्म
म यो प्रश्न बोकेर
तिमीसँग लडिरहन्छु 
लडिरहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मातृका पोखरेल
मातृका पोखरेल
लेखकबाट थप