शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

तीन महिनाको जीवन–मरणको लडाइँपछि स्वदेश फर्कँदै झलनाथ पत्नी रविलक्ष्मी

आइतबार, ०६ पुस २०८२, १९ : २८
आइतबार, ०६ पुस २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकार स्वास्थ्य सुधार भएपछि सोमबार स्वदेश फर्किंदैछिन्।
  • जेनजी आन्दोलनका क्रममा घरमा आगलागी हुँदा घाइते भएकी चित्रकारको भारतमा उपचार गरिएको थियो।
  • उपचारको क्रममा उनले देब्रे हात गुमाउनु परेको थियो, तर अहिले उनको स्वास्थ्यमा सुधार आएको छ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा चलेको गहन उपचारपछि भोलि (सोमबार) स्वदेश फर्कने भएकी छन् । 

जेनजी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनलाई नेपाल फर्काउने निर्णय गरिएको हो ।

भदौ २४ गते बिहान खनाल दम्पती बसोबास गर्ने निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो । विशेषगरी देब्रे हातमा गम्भीर चोट लागेपछि सङ्क्रमण फैलिँदै जाँदा अवस्था जटिल बनेको थियो । 

सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको भए पनि फोक्सोमा निमोनियाको सङ्क्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो ।

एपोलो अस्पतालमा भर्ना भएपछि उनी लामो समय आईसियुमा राखेर उपचार गरिइन् । सङ्क्रमण नियन्त्रणमा ल्याउन चिकित्सकहरूले कडा प्रयास गर्नुपरेको र अन्ततः सङ्क्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काट्नुपरेको थियो । 

त्यसपछि क्रमशः अवस्था सुधारिँदै गएपछि उनलाई आईसियुबाट जनरल वार्डमा सारिएको थियो । पछिल्ला केही सातादेखि उनी अस्पताल बाहिर बसेर नियमित फलोअप र उपचार गराउँदै आएकी थिइन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालका अनुसार, अहिले चित्रकार पूर्ण रूपमा पहिलेकै जस्तो तन्दुरुस्त नभए पनि सबैभन्दा ठुलो कुरा जीवन रक्षा भएको हो । “उहाँ अझै पनि चिकित्सकीय निगरानीमै हुनुहुन्छ । आवश्यक थप उपचार र पुनःस्थापनाको प्रक्रिया नेपालमै अघि बढाउने गरी फर्काउने निर्णय गरेका हौँ,” खनालले भने ।

नेपाल फर्किएपछि चित्रकारलाई डल्लुस्थित भाडाको घरमा राख्ने तयारी गरिएको खनालले जानकारी दिए । सोही प्रयोजनका लागि डल्लु क्षेत्रमा घर भाडामा लिइएको पनि उनले बताए । “अस्पताल र आवश्यक स्वास्थ्य सेवाका लागि पहुँच हुने स्थान रोजेका हौँ,” खनालको भनाइ छ ।

चित्रकार सोमबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।

तीन महिनासम्म परदेशी अस्पतालको आईसियु, जनरल वार्ड हुँदै जीवनको कठिन यात्राबाट गुज्रिएकी चित्रकारको स्वदेश आगमनलाई परिवारजन, आफन्त र शुभेच्छुकहरूले आशा र संवेदनाका साथ प्रतीक्षा गरिरहेको खनालले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप