शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमका २३ पालिकामा किन पुग्न सकेन रास्वपा ?

सोमबार, ०७ पुस २०८२, १७ : ०६
सोमबार, ०७ पुस २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ।
  • पार्टीले तल्लो तहका सबै वडाहरूमा संगठन विस्तार गर्न बाँकी रहेको छ, विशेष गरी पहाडी र दुर्गम जिल्लाहरूमा।
  • रास्वपाले आगामी निर्वाचनअघि सबै टोलसम्म पुग्ने लक्ष्य राखेको छ, तर पहाडी जिल्लाहरूमा संगठन निर्माण चुनौतीपूर्ण छ।

धनगढी । नेपालको राजनीतिमा वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशमा आफ्नो प्रभावलाई तीव्र रूपमा विस्तार गरिरहेको छ ।

यद्यपि प्रदेशका सबै भौगोलिक क्षेत्र र टोल तहसम्म कमिटी निर्माणको कार्य अझै पूर्ण भइसकेको छैन । पार्टीका प्रदेश सभापति प्रकाश विष्टका अनुसार रास्वपाले ९ वटै जिल्लामा जिल्ला समितिहरू त गठन गरिसकेको छ तर अझै तल्लो तहका सबै वडाहरूमा संगठन पुग्न बाँकी छ । 

खसगरी सुदूरपश्चिमका पहाडी र दुर्गम जिल्लाहरू; जस्तैः बाजुरा, बझाङ र दार्चुलाका कतिपय दुर्गम वडा र टोलहरूमा रास्वपाको औपचारिक उपस्थिति अझै चुनौतीपूर्ण देखिएको छ । सभापति विष्टले कैलाली र कञ्चनपुरजस्ता सुगम जिल्लाका ८० देखि ९० प्रतिशत वडाहरूमा कमिटी गठन भइसकेको दाबी गरे पनि पहाडी क्षेत्रमा यो सङ्ख्या केही कम छ ।

भौगोलिक विकटता, इन्टरनेटको पहुँचको अभाव र स्थानीयस्तरमा सक्रिय युवाहरूको पलायनका कारण सबै भूगोलमा संगठन विस्तार गर्न समय लागेको नेताहरू नै स्वीकार गर्छन् । 

सुरुवाती चरणमा ९ जिल्लाबाट २–२ जनाको प्रतिनिधित्व गराएर ३२ सदस्यीय प्रदेश समिति बनाइएको थियो । तत्कालीन समयमा पार्टीको जग बसाल्न मात्र केन्द्रित रहेको रास्वपा अहिले वडा र टोल तहसम्म पुग्ने प्रयासमा छ । केही ठाउँमा तदर्थ समितिहरू मात्र छन् भने केही ठाउँमा वडा अधिवेशन नै भइसकेका छन् । पार्टीले आगामी निर्वाचनअघि नै सबै टोलसम्म घण्टी पुर्‍याउने लक्ष्य राखेको छ, तर अहिलेको अवस्थामा पहाडी जिल्लाका कुना–कन्दरामा संगठन निर्माणको कार्य अझै बाँकी नै छ । 

सुदूरपश्चिम प्रदेशमा कुल ८८ वटा स्थानीय तह छन् । यीमध्ये ६५ वटामा रास्वपाले पालिकास्तरीय समिति गठन गरिसकेको छ भने बाँकी २३ वटामा बाँकी नै छन् । प्रदेश सभापति प्रकाश विष्टका अनुसार पार्टीले ७५ प्रतिशतभन्दा बढी पालिकामा आफ्नो सांगठनिक संरचना निर्माण गरिसकेको छ । 

बाँकी २३ पालिकाहरू मुख्यतः पहाडी जिल्लाका विकट क्षेत्रमा पर्दछन् । ती पालिकाहरूमा पार्टीको विचार पुगे पनि औपचारिक रूपमा समिति गठन हुन नसक्नुका पछाडि पुराना दलहरूको बलियो पकड र नयाँ दलप्रतिको बुझाइमा कमीलाई कारण मानिएको छ ।

कैलाली र कञ्चनपुरका सबै पालिकामा उपस्थिति जनाइसकेको रास्वपाले अब अछाम, डोटी र बैतडीका बाँकी रहेका पालिकाहरूलाई प्राथमिकतामा राखेको छ । 

‘हामीले अपि हिमालजस्ता दुर्गम ठाउँमा पनि कमिटी बनाइसकेका छौँ, यसले के देखाउँछ भने हामी भूगोलमा कमजोर छैनौँ, तर सबै ठाउँमा पुग्न केही प्राविधिक र व्यवस्थापकीय तयारी बाँकी छ,’ विष्टले भने ।

रास्वपाले यी बाँकी पालिकाहरूमा पनि तदर्थ समिति बनाउँदै संगठनलाई पूर्णता दिने तयारी गरेको छ । पार्टीले अपनाएको प्राइमारी इलेक्सन र उम्मेदवार छनोटको नयाँ विधिका कारण पनि धेरै युवाहरू पालिकाहरूमा जोडिन खोजिरहेका उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप