बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’

मङ्गलबार, ०८ पुस २०८२, १३ : २७
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • मिराज ढुङ्गानाको नेतृत्वमा युवा समूहले सरकारविरुद्धको प्रदर्शनलाई निरन्तरता दिएको छ।
  • प्रदर्शनकारीहरूले सुशासन र प्रणाली सुधारलाई प्राथमिकता दिनुपर्ने माग राखेका छन्।
  • युवा समूहले भ्रष्टाचार अन्त्य, घाइतेको उपचार र दमनकारीलाई कारबाहीको माग गरेका छन्।

काठमाडौँ । जेनजी विद्रोहका आधारभूत मागहरू पूरा नभएको भन्दै मिराज ढुङ्गाना नेतृत्वको युवा समूहले मंगलबार पनि सरकारविरुद्धको प्रदर्शनलाई निरन्तरता दिएको छ। वर्तमान अन्तरिम सरकारले विद्रोहको वास्तविक भावनाअनुसार काम नगरेको आरोप लगाउँदै उनीहरूले काठमाडौँको माइतीघर मण्डलामा भेला भएर चर्को नाराबाजी गरेका हुन्। 

यसअघि सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी अगुवा मिराज ढुङ्गानासहितका प्रदर्शनकारीलाई नियन्त्रणमा लिए पनि युवाहरूको आक्रोश झन् चुलिएको देखिन्छ।

प्रदर्शनकारीहरूले निर्वाचनभन्दा पहिले सुशासन र प्रणाली सुधारलाई प्राथमिकता दिनुपर्ने माग राखेका छन्। उनीहरूले 'जेनजीको माग हरायो, निर्वाचन भनी करायो', 'अति भो राजनीतिक खेल, आमा सरकार फेल' र 'जेन–जीको माग चुनाव होइन सुशासन हो' जस्ता कडा नारा लेखिएका प्लेकार्डहरू बोकेर सरकारको ध्यान आकृष्ट गराएका छन्। सरकारले चुनावको मिति घोषणा गरेर जनआन्दोलनको मुख्य मुद्दालाई ओझेलमा पार्न खोजेको उनीहरूको ठहर छ।

आन्दोलनरत समूहले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य हुनुपर्ने, विद्रोहका क्रममा घाइते भएकाहरूको उचित उपचार र व्यवस्थापन गरिनुपर्ने तथा शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने अधिकारीहरूलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन्। आफ्ना मागहरूमा सरकार गम्भीर नभएसम्म र सुशासनको प्रत्याभूति नभएसम्म सडक आन्दोलन नरोकिने उनीहरूले चेतावनी दिएका छन्। 

चुनावलाई मात्रै केन्द्रमा राखेर गरिने राजनीतिक दाउपेचले मुलुकको समस्या समाधान नहुने युवाहरूको अडान छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप