कर्णालीमा धान उत्पादन घट्यो
सारांश
- कर्णाली प्रदेशमा यो वर्ष धान उत्पादन घटेको छ, गत वर्षको भन्दा ८ हजार मेट्रिक टन कम उत्पादन भएको छ।
- सुर्खेतमा सबैभन्दा धेरै धान उत्पादन भएको छ, तर समग्रमा उत्पादनमा कमी आउनुको कारण प्रतिकूल मौसम र रोगकिराको प्रकोप हो।
- सिँचाइको कमी, उन्नत बीउको अभाव, र जनशक्तिको कमीले पनि धान उत्पादनमा नकारात्मक असर पारेको छ।
सुर्खेत । कर्णाली प्रदेशमा यो वर्ष धान उत्पादनमा गिरावट आएको छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रातोपाटीलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार कर्णालीमा यो वर्ष १ लाख ५८ हजार ५५८ मेट्रिक टन धान उत्पादन भएको छ ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष धान उत्पादन झन्डै ८ हजार मेट्रिक टन कम भएको मन्त्रालयले जनाएको छ । यो वर्ष ४२ हजार ५७३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा औसत उत्पादकत्व ४.६६४ मेट्रिक टन प्रतिहेक्टर रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
मन्त्रालयका अनुसार यो वर्ष कर्णालीमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला सुर्खेत हो । १४ हजार ९२१ हेक्टर क्षेत्रफलमा धान खेती भएको सुर्खेतमा ६३ हजार ११५.८३ मेट्रिक टन धान फलेको कृषि विकास निर्देशनालयका सूचना अधिकारी टेकराज रेग्मीले बताए । सुर्खेतमा धानको उत्पादकत्व ४.२३ मेट्रिक टन प्रतिहेक्टर छ ।
दैलेखमा २७ हजार १२० मेट्रिक टन धान उत्पादन भएको छ । ७ हजार ९२५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको दैलेखमा उत्पादकत्व ३.४२ मेट्रिक टन प्रतिहेक्टर छ ।
सल्यानमा ६ हजार १५८ हेक्टर क्षेत्रफलबाट २९ हजार ५७ मेट्रिक टन धान उत्पादन भएको छ । सुर्खेतपछि धेरै धान उत्पादन सल्यानमा भएको तथ्याङ्कले देखाउँछ । यो जिल्लामा धानको उत्पादकत्व ४.७ मेट्रिक टन प्रतिहेक्टर छ ।
त्यसपछि जाजरकोट, कालिकोट, रुकुम पश्चिम र जुम्ला मध्यम धान उत्पादन भएका जिल्लामा परेका छन् ।
४.४३ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको रुकुम पश्चिममा ३ हजार ५४ हेक्टरमा धान खेती गरिएको थियो । यहाँ १३ हजार ५२६ मेट्रिक टन धान उत्पादन भएको छ ।
प्रदेशको कृषि मन्त्रालयका अनुसार कर्णालीको कुल ३० लाख २० हजार ९०० हेक्टर क्षेत्रफलमध्ये ९.५२ प्रतिशत अर्थात् दुई लाख ८७ हजार ७६१ हेक्टर क्षेत्रफलमात्र खेतीयोग्य जमिन छ । त्यसमध्ये पनि ६९.७१ प्रतिशत क्षेत्रफल कृषि कार्यमा उपयोग गरिएको छ भने ३०.२९ प्रतिशत बाँझो छ ।
३ हजार ६५ हेक्टरमा धान खेती भएको जाजरकोटमा ९ हजार ३०७ मेट्रिक टन उत्पादन भएको छ । ३ हजार ७९ हेक्टरमा धान खेती भएको कालिकोटमा ७ हजार १६२ मेट्रिक टन र २ हजार ९०२ हेक्टरमा धान खेती गरिएको जुम्लामा ६ हजार ३९५ मेट्रिक टन धान उत्पादन भएको छ । रुकुम पश्चिम, जाजरकोट र कालिकोटमा धानको उत्पादकत्व क्रमशः ४.०४, २.३ र २.२ मेट्रिक टन प्रतिहेक्टर छ ।
जुम्लामा विशेषगरी मार्सी धान उत्पादन हुन्छ । हिमाली जिल्ला मुगुमा ५९३ हेक्टर क्षेत्रफलमा १ हजार ३७ मेट्रिक टन धान उत्पादन भएको छ भने ५९७ हेक्टरमा हुम्लाले १ हजार २२८ मेट्रिक टन उत्पादन गरेको छ ।
यस्तै, सबैभन्दा कम २७९ हेक्टरमा धान खेती भएको डोल्पामा ६१० मेट्रिक टन उत्पादन भएको छ । हिमाली जिल्लाहरूको उत्पादकत्व पनि निकै न्यून छ ।
८ वर्षमा धान उत्पादनको उतारचढाव
प्रदेशको कृषि मन्त्रालयका अनुसार कर्णालीको कुल ३० लाख २० हजार ९०० हेक्टर क्षेत्रफलमध्ये ९.५२ प्रतिशत अर्थात् दुई लाख ८७ हजार ७६१ हेक्टर क्षेत्रफलमात्र खेतीयोग्य जमिन छ । त्यसमध्ये पनि ६९.७१ प्रतिशत क्षेत्रफल कृषि कार्यमा उपयोग गरिएको छ भने ३०.२९ प्रतिशत बाँझो छ ।

खेती गरिएको जमिनमध्ये धान उत्पादन हुने क्षेत्रफल ४२ हजार ५७३ हेक्टर हो । यो तथ्यांक विगत ८ वर्षमा फेरबदल भइरहेको देखिन्छ ।
आर्थिक वर्ष ०८१/०८२ मा १ लाख ६६ हजार ५६७ मेट्रिक टन धान उत्पादन भएको छ । यो नै कर्णालीमा एक वर्षमा सबैभन्दा धेरै धान उत्पादन भएको तथ्याङ्क हो । त्यसको अघिल्लो वर्ष (०८०/०८१) मा १ लाख ६३ हजार मेट्रिक टन धान उत्पादन भएकोमा चालु आर्थिक वर्ष घटेर १ लाख ५८ हजार मेट्रिक टनमा सीमित भएको छ ।
कृषि मन्त्रालयको कृषि रणनीतिमा रहेको तथ्याङ्क अनुसार कृषि कार्यमा उपयोग भएको जमिनमध्ये जम्मा १९.०६ प्रतिशत अर्थात् ३८ हजार २३३ हेक्टरमा मात्र वर्षभरि सिँचाइ सुविधा पुगेको छ । त्यसको १५.१६ प्रतिशत अर्थात् ३० हजार ४०७ हेक्टरमा मौसमी सिँचाइ गरी ३४.२२ प्रतिशतमा मात्रै सिँचाइ सुविधा छ ।
आर्थिक वर्ष ०७५/०७६ मा १ लाख ३३ हजार ५७९ मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष ०७७/०७८ सम्म पुग्दा सामान्य वृद्धि भई १ लाख ३७ हजार मेट्रिक टनसम्म उत्पादन भएको देखाउँछ ।
त्यसपछि ०७८/०७९ मा धान उत्पादन १ लाख २५ हजार मेट्रिक टनमा झरेर पुनः ०७९/०८० र ०८०/०८१ मा उल्लेख्य वृद्धि भएको थियो ।
धान खेती गरिएको क्षेत्रफल पनि सामान्य वृद्धि भएको छ भने प्रतिहेक्टर उत्पादकत्वमा तात्त्विक भिन्नता छैन ।
कर्णाली प्रदेशमा आर्थिक वर्ष ०७५/०७६ देखि ०८२/०८३ सम्मको धान उत्पादन, उत्पादकत्व र खेती गरिएको क्षेत्रफलको विवरणः

धान उत्पादन घट्नुको कारण
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत, तिलक प्रसाद पाण्डे प्रतिकूल मौसम, रोगकिराको प्रकोपका कारण धान उत्पादनमा गिरावट आएको हुनसक्ने बताउँछन् ।
उनका अनुसार समयमै वर्षा नहुँदा धान रोपाइँको क्षेत्रफल घट्न पुगेको छ । तल्लो भेगतिर हाइब्रिड धानमा रोगकिराको संक्रमणका कारण पनि उत्पादनमा कमी आएको उनले बताए ।
‘पछिल्लो समय सुर्खेत, सल्यान लगायत जिल्लाका फाँटहरूमा प्रयोग गरिने हाइब्रिड धानमा रोगकिराको संक्रमण अत्यधिक देखिएको छ,’ पाण्डेले रातोपाटीसँग भने, ‘उन्नत बिउको निश्चित समयमा गरिनुपर्ने प्रतिस्थापन दर कायम छैन । ग्रामीण क्षेत्रमा उन्नत बिउको उपलब्धता नहुँदा किसानहरूले धेरै वर्षदेखि पुरानै बिउ प्रयोग गरिरहेका छन् ।’ बिउको गुणस्तर खस्किएर उत्पादनमा नकारात्मक असर परेको उनको बुझाइ छ । सिँचाइको अभाव पनि उत्पादन घट्नुको एक कारण रहेको उनले बताए ।
कृषि मन्त्रालयको कृषि रणनीतिमा रहेको तथ्याङ्क अनुसार कृषि कार्यमा उपयोग भएको जमिनमध्ये जम्मा १९.०६ प्रतिशत अर्थात् ३८ हजार २३३ हेक्टरमा मात्र वर्षभरि सिँचाइ सुविधा पुगेको छ । त्यसको १५.१६ प्रतिशत अर्थात् ३० हजार ४०७ हेक्टरमा मौसमी सिँचाइ गरी ३४.२२ प्रतिशतमा मात्रै सिँचाइ सुविधा छ ।
जिल्लागत रुपमा हेर्दा जुम्लामा खेती गरिएको जमिनको ८.६३ प्रतिशतदेखि कालिकोटमा ४३.६४ प्रतिशतसम्म सिञ्चित जमिन छ । अधिकांश सिँचाइको स्रोत कुलो तथा नहर हुन् ।
कृषि रणनीतिमा उल्लेख छ, ‘केही क्षेत्रफलमा बाँध, पोखरी र अन्य स्रोतबाट पनि सिँचाइ गर्ने गरिएको छ । यहाँ विशेषगरी कर्णाली, भेरी, हिमा, तिला, बबई, पराजुल खोला, शारदा, लुहाम खोला लगायतका नदी तथा खोलाहरू भएर पनि त्यसको पानी खेतीका लागि समुचित उपयोग हुन सकेको छैन ।’
तथ्याङ्क अनुसार कर्णालीका ३ लाख ५५ हजार २५५ कुल परिवार (घरधुरी) मध्ये ३ लाख २ हजार ६४० परिवार पूर्ण रूपमा कृषि पेसामा आबद्ध छन् । यद्यपि आधाभन्दा बढी अर्थात् ६९.५ प्रतिशत परिवारलाई आफ्नो कृषि उत्पादनले वर्षभरि खान पुग्दैन ।
अर्का कृषि विकास अधिकृत पुर्णबहादुर थापा कतिपय ठाउँमा सडक निर्माणका क्रममा सिँचाइका संरचनाहरू भत्काइएका र मुहानहरू सुकेका कारण पनि उत्पादनमा ह्रास आएको बताउँछन् ।
‘गाउँमा जथाभावी सडक खन्दा खेतीयोग्य जमिन क्षति भइरहेका छन् भने सहरी क्षेत्र विशेषगरी सुर्खेत, सल्यान, रुकुम पश्चिम लगायतका क्षेत्रमा धाने फाँटमा अतिक्रमण गरी घर बनाउने प्रचलन बढेको छ,’ उनले भने, ‘यसले गर्दा क्षेत्रफलदेखि उत्पादनमा कमी आएको हो ।’
गाउँघरमा काम गर्ने जनशक्तिको कमीलाई पनि उनी धानको उत्पादन घट्नुको कारणका रूपमा लिन्छन् । ‘अहिले मेरै गाउँमा पनि धान खेती हुने जमिन बाँझो छन्, सबैजसो युवा विदेश गएपछि गाउँमा बुढाबुढीमात्रै छन्,’ उनले भने, ‘काम गर्ने जनशक्ति नभएपछि त्यसै उत्पादन घट्ने भइहाल्यो ।’
खाद्यान्नको माग कति ?
कर्णालीमा उत्पादन भएको धानले १६ लाख ९४ हजार जनसंख्यालाई आधा वर्ष पनि खान पुग्दैन । कृषि मन्त्रालयको कृषि रणनीति अनुसार, प्रदेशको कूल उपभोग्य खाद्यान्न ३ लाख २० हजार ८९० मेट्रिक टन छ, तर जनसंख्याको आधारमा ३ लाख ४४ हजार ३२४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ ।
यो वर्ष कर्णालीमा उत्पादन भएको १ लाख ५८ हजार ५५८ मेट्रिक टन धानले आधा वर्ष पनि खाद्यान्नको माग धान्न नसक्ने देखिन्छ ।
विशेषगरी प्रदेशका सल्यान, दैलेख र सुर्खेतबाहेक बाँकी सात वटै जिल्लामा खाद्यान्न अपुग रहेको प्रदेशका कृषिमन्त्री विनोदकुमार शाहले बताए ।
तथ्याङ्क अनुसार कर्णालीका ३ लाख ५५ हजार २५५ कुल परिवार (घरधुरी) मध्ये ३ लाख २ हजार ६४० परिवार पूर्ण रूपमा कृषि पेसामा आबद्ध छन् । यद्यपि आधाभन्दा बढी अर्थात् ६९.५ प्रतिशत परिवारलाई आफ्नो कृषि उत्पादनले वर्षभरि खान पुग्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण