शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पोखरा सहकारीले १ लाखभन्दा साना बचतकर्ताको रकम फिर्ता गर्ने, प्रमाण लिएर आउन आग्रह

बुधबार, ०९ पुस २०८२, १० : ४६
बुधबार, ०९ पुस २०८२

सारांश

  • पोखरा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ, जसमा १ लाखभन्दा कम बचत भएकालाई प्राथमिकता दिइनेछ।
  • सहकारी ठगीका घटनाहरूका बीच, पोखरा सहकारीले बचत फिर्ताको सूचना जारी गरेको छ, जुन एक नयाँ कदम हो।
  • हिनामिनाको आरोपमा पक्राउ परेका सञ्चालक समितिले रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि यो प्रक्रिया सुरु भएको हो।

पोखरा । पोखरा सहकारीले बचत फिर्ता गर्ने भएको छ । पहिलो चरणमा १ लाखभन्दा साना बचत भएका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी थालिएको हो । पुस १३ गतेदेखि १ लाखभन्दा कम बचत फिर्ता गरिने भन्दै प्रमाण लिएर कार्यालयमा आउन सञ्चालक समितिले आग्रह गरेको छ ।

सहकारी ठगी र बचत अपचलनका घटनाले देशभर नै अविश्वासको वातावरण सिर्जना भइरहेको समयमा पोखरा सहकारीले नयाँ अभ्यास सुरु गरेको हो । सहकारी सङ्कट देखा परेपछि बचतकर्तालाई रकम फिर्ता गर्ने गरी यसरी सार्वजनिक सूचना जारी गरिएको यो पहिलो घटना हो ।

केही समयअघि सोही सहकारीको रकम हिनामिना गरेको आरोपमा संस्थाका अध्यक्षसहित सञ्चालक समितिका ८ जना पक्राउ परेका थिए । प्रहरी हिरासतमा रहेका उनीहरूले बचतकर्ताको रकम फिर्ता गर्ने ग्यारेन्टी र प्रतिबद्धता जनाएपछि हिरासत मुक्त भएका हुन् । हिरासतबाट छुट्नासाथ सञ्चालक समितिले बचतकर्ताको रकम फिर्ताको सूचना निकालेको हो ।

‘यस सहकारी संस्थाले बचतकर्ताको बचत रकमको सुनिश्चितताको लागि निरन्तर काम गरिरहेको जानकारी गराउन चाहन्छौँ,’ सूचनामा भनिएको छ, ‘१ लाखभन्दा कम बचत भएका सम्पूर्ण बचतकर्ताले पुस १३ गतेबाट कार्यालयमा आफ्नो बचत रहेको प्रमाण, चेकबुक, पासबुक तथा परिचयपत्र लिएर उपस्थित हुनुहोला ।’

सहकारीको झण्डै ८९ करोड हिनामिना भएको वित्तीय विश्लेषण प्रतिवेदनमा उल्लेख थियो । सोही प्रतिवेदनका आधारमा सहकारी रजिष्ट्रार कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई छानबिन र अनुसन्धानका लागि पत्र पठाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप