बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बिमाको पैसा कुम्ल्याउन मृत्युको नाटक गरेपछि...

बिहीबार, १० पुस २०८२, १४ : ४४
बिहीबार, १० पुस २०८२

सारांश

  • भियतनाममा पाँच वर्षअघि मृत घोषित महिला अचानक जीवितै फर्किएर मृत्यु दर्ता खारेज गर्न माग गरेकी छिन्।
  • महिला र उनकी आमाले बीमा रकम दाबी गर्न नक्कली मृत्युको योजना बनाएको र १.२ अर्ब भियतनामी डोङ हिनामिना गरेको आरोप छ।
  • प्रहरीले आमा र छोरी दुवैलाई पक्राउ गरेको छ र यो घटना बीमा ठगीसँग सम्बन्धित छ।

हनोई । भियतनामको थान होआ प्रान्तमा एउटा अचम्मलाग्दो घटना बाहिर आएको छ । पाँच वर्षअघि कानुनी रूपमा मृत घोषित एक महिला अचानक जीवितै फर्किएर आफ्नो मृत्यु दर्ता रद्द गर्न माग गरेकी छन्, जुन २०२० मा उही नाम र ठेगाना भएकी एक महिलाको मृत्यु भएको थाहा पाउँदा अधिकारीहरू छक्क परे ।

अनुसन्धान गर्दा यो मामिलामा  बिमा ठगी भएको थाहा भयो । यस मामिलामा लगभग १.२ अर्ब भियतनामी डोङको हिनामिना भएको भनिएको छ । 

महिलाको नाम न्गुयेन थि थु हो । प्रहरीले यस मुद्दाको सम्बन्धमा उनकी आमा ट्रान थि थापलाई पनि पक्राउ गरेको छ । दुवैलाई बिमा ठगीको आरोप लगाइएको छ र उनीहरू अस्थायी हिरासतमा छन् ।

कसरी रचियो नक्कली मृत्युको षड्यन्त्र ?

थि थुले २०१७ मा आफ्नो पतिसँग सम्बन्धविच्छेद गरेर आफ्नी आमासँग बस्न थालिन् । त्यस समय उनी प्रायः दक्षिणी प्रान्तहरूमा काम गर्न यात्रा गर्थिन् । यसैबिच उनले प्रुडेन्सियल र फु हङ लाइफ इन्स्योरेन्स कम्पनीहरूबाट चार वटा जीवन बिमा पोलिसीहरू किनिन् । 

२०२० मा उनलाई क्यान्सर भएको थाहा भयो । त्यसपछि घरमा झगडा बढ्न थाल्यो । उनले आफ्नो मृत्युको नक्कली योजना बनाइन् । उनको मनसाय नयाँ जीवन सुरु गर्न बिमाको पैसा प्रयोग गर्ने थियो । सुरुमा उनकी आमाले यो योजनाको विरोध गरिन्, तर थुले बिजुलीको तार काटेर आत्महत्या गर्ने धम्की दिइन् । यसपछि आमा पनि छोरीको षड्यन्त्रमा सामेल भइन् । 

नक्कली मृत्यु खेल 

२०२० को जुन ७ को बिहान थुले निद्राको चक्की खाएर बाथरूममा लडेर आफूलाई घाइते बनाइन् । मृत्यु भएको जस्तो देखिन आफ्नो अनुहार र नाकमा घाउ बनाइन् । त्यसपछि उनको मृत्युको नाटक गरियो । परिवार र स्थानीय अधिकारीहरूलाई अचानक मृत्युबारे जानकारी दिइयो ।

शंकाबाट बच्न अन्त्येष्टि छिटो र गोप्य रूपमा गरिएको थियो । अन्त्येष्टिमा सहयोग गर्न एक स्थानीय घाटेलाई बोलाइएको थियो । थु उनकी आमा र घाटेलाई  मात्र सत्य थाहा थियो। घाटेको २०२२ मा मृत्यु भयो । त्यही रात थु गोप्य रूपमा घर छोडेर डोङ नाई प्रान्तमा बस्न गइन् । उनले त्यहाँ काम गरिरहेकी थिइन् । तर कानुनी रूपमा उनी मृत थिइन् ।

बिमाको पैसा कसरी हिनामिना भयो ? 

उनकी आमाले २०२० को जुन ८ मा मृत्यु दर्ता गरिन् । कारण, 'अचानक मृत्यु' उल्लेख गरिएको थियो । त्यसपछि उनले बिमा कम्पनीहरूमा दाबी दायर गरिन् । उनले प्रुडेन्सियलबाट ६८ करोड २० लाख डोङ र फु हुङबाट ६० करोडभन्दा बढी डोङ प्राप्त गरेको अनुसन्धानमा पाइएको छ । यो भनेको १.२ अर्ब डोङभन्दा बढी थियो (नेपाली रुपैयाँअनुसार ४० लाख भन्दा बढी) । 

थुसँग कुनै वैध कागजात वा बैंक खाता नभएकोले यो पैसा आफन्तहरू मार्फत स्थानान्तरण गरिएको थियो । यो पैसा पछि सम्पत्ति खरिद गर्न र लगानी गर्न प्रयोग गरिएको थियो ।

सोधपुछका क्रममा थुले सबै कुरा स्वीकार गरिन् । सुरुमा आफूले आत्महत्या गर्ने सोचेको तर आत्महत्याले बिमाको लागि भुक्तानी गर्दैन भन्ने थाहा पाएपछि उनले पैसा धुत्न नक्कली मृत्यु गरी सबैसँग सम्पर्कविहीन भएर बसेको बताइन् । 

२०२५ डिसेम्बर १७ मा थु व्यक्तिगत रूपमा वडा समितिमा गएर मृत्यु दर्ता रद्द गर्न आवेदन दिइन् । अनुसन्धान सुरु हुँदा सबै कुरा बाहिर आयो । थान होआ प्रान्तीय प्रहरीले थु र उनको आमा दुवैलाई पक्राउ गरेर ठगीको अनुसन्धान सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप