बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

नेकपा मोरङले उम्मेदवार सिफारिस गर्नै सकेन, बनायो कार्यदल

बिहीबार, १० पुस २०८२, १९ : ४४
बिहीबार, १० पुस २०८२

विराटनगर । केन्द्रको निर्देशन अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्षमा ५ जना र समानुपातिकमा २ जना उम्मेदवारको नाम सिफारिस गर्न बसेको नेपाली कम्युनिस्ट पार्टी मोरङको पदाधिकारी बैठक कार्यदल बनाएर टुंगिएको छ । 

मोरङका ६ वटै क्षेत्रबाट सुझावको रुपमा आएका ८० जनाको नाम घटाएर ३३ जनाको नाम पठाउनुपर्नेमा केही नाम घटाएपनि दबाबका कारण ८ जनाको नाम सूचीमा चढाएर थप गृहकार्य गर्न क्षेत्रस्तरीय कार्यदल गठन गरेको नेता कुलप्रसाद साम्बाले बताए । 

नेकपाका अनुसार मोरङको ३ नम्बर क्षेत्रमा जेनजीको तर्फबाट प्रत्यक्षमा योगेन्द्र लिम्बू र समानुपातिकतर्फ अमृत सुब्बा र ऋषि राईको नाम थपिएको छ । यस्तै क्षेत्र नम्बर ६ बाट क्षेत्रीय समितिले पठाएकामध्ये पूर्वमन्त्री अमनलाल मोदी र प्रदेश सांसद जीवन आचार्यको नाम हटाइएको छ । बैठकले प्रत्यक्षमा सञ्जु शाह र दीपक ढकालको नाम तथा समानुपातिकमा अभिमन्यु यादव, कुमारी राई (रचना), टंक गिरी र नानी मैयाको नाम थपेको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा मोरङको क्षेत्रीय समितिले बुधबार ६ वटै क्षेत्रबाट उम्मेदवारहरूको नाम जिल्लालाई सिफारिस गरेको थियो । यसअघि क्षेत्रबाट सिफारिस भएका नामहरुमा प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा कुलप्रसाद साम्बा, उपेन्द्र घिमिरे, रुपेश खतिवडा, कोशिश सुवेदी (जेनजी), कल्पना राई, विसेन्द्र चेम्जोङ, नगेन्द्र धिमाल, गजेन्द्र दंगाल र दीपक आले मगर छन् । उक्त क्षेत्रबाट समानुपातिकतर्फ प्रेम मिभक, बलबहादुर घिसिङ, ममता राजवंशी, प्रेम लावती, मानबहादुर श्रेष्ठ र विशेष परियारको नाम जिल्लामा पठाइएको छ । सो क्षेत्रबाट राष्ट्रियसभाका लागि यामबहादुर गजमेर, रामबहादुर कार्की र निर्मला रसाइलीको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ प्रकाश पौडेल, चन्द्रवीर राई, राजेन्द्र मण्डल (अविनाश), पुरुषोत्तम सुवेदी, प्रेमनारायण थापा, जुवा सोरेन, सीतादेवी सरदार र निर्मल मण्डारी (जेनजी) को नाम सिफारिसमा परेको छ । सो क्षेत्रबाट समानुपातिकमा तारा ओझा राजवंशी, खुल्लु राजवंशी, गोवर्धन मुडियारी, रक्कीकुमारी माभी, शिव मुर्मु, मनिषकुमार मण्डल, शिवनारायण राजवंशी, मोहम्मद अजिमोद्दिन, अर्जुन यादव र जिनादेवी राजवंशीको नाम छ ।

क्षेत्र नम्बर ३ बाट प्रत्यक्षमा सावित्री काफ्ले, देउमान तुम्बाहाङ्फे, चन्द्रबहादुर गुरुङ, लालबहादुर सुस्लिङ, सन्तोष लिम्बु (जेनजी) र चन्द्रकला सुव्बाको नाम छ । सो क्षेत्रबाट समानुपातिकमा अमृत सुव्बा, लीला कट्वाल (रञ्जु), सुशीला घिमिरे (सामना), कञ्चन कुलुङ, मानप्रसाद लिम्बू, सीमा चौधरी र अरुण सुन्दास सिफारिसमा परेका छन् ।

क्षेत्र नम्बर ४ बाट प्रत्यक्षमा अमनलाल मोदीको मात्र नाम छ भने समानुपातिक डा. मेदनी सेढाई, पक्कुलाल थारु, राधाकृष्ण पोखरेल, अञ्जना पोखरेल, सूर्यनारायण मुडवरी, प्रमिला कुमारी खाँ, पञ्चु पासवान, लक्ष्मी राजवंशी, स्मृति तिम्सिना (जेनजी) र रञ्जित सरदारको नाम छ । 

क्षेत्र नम्बर ५ बाट प्रत्यक्षमा शिवकुमार मण्डलको एकल र समानुपातिकमा भोगेन्द्र यादवको एकल नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर ६ बाट वसिम आलम, ओपेन्द्र राय, विनोद घिमिरे, हेम कार्की, सोनेलाल राजवंशी, मोहम्मद आलम प्रवेज, अंकिता आले (जेनजी) र साइमन रेग्मी छन् । सो क्षेत्रबाट समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरिएको थियो । जसमा सुशीला घिमिरे (सामना), सीता कडरिया, लक्ष्मी न्यौपाने (लता), तबसुम सिद्दिकी (मुस्लिम महिला), सुनिता चौधरी, म. कासीम मिया (मुस्लिम), पार्वती घिमिरे, कपिल सुनुवार (दलित), नौसाद प्रवेज (मुस्लिम), तुलसी सापकोटा र गोविन्द उराव (अल्पसंख्यक आदिवासी) रहेका छन् ।

नेकपा केन्द्रीय समितिले प्रत्यक्षतर्फ एक महिला र एक जेनजीसहित प्रत्येक क्षेत्रबाट पाँच जनाको नाम पुस ११ गतेभित्र सिफारिस गर्न भनेको छ । क्षेत्रबाट आएका नामलाई मापदण्ड अनुसार भए नभएको चेकजाँच र आवश्यक परिमार्जनसहित कार्यदलले दिएको सुझाव अनुसार केन्द्रमा सिफारिस गरिने साम्बाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप