बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेलेन्स्कीको कडा चेतावनी

शुक्रबार, ११ पुस २०८२, ०१ : ०९
शुक्रबार, ११ पुस २०८२

सारांश

  • जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न खोजेको आरोप लगाए, जसले विश्व सुरक्षा जोखिम बढाउँछ।
  • रुसले ऊर्जा कम्पनी र नक्कली कानुनी योजनामार्फत प्रतिबन्ध छल्न खोजेको जेलेन्स्कीको भनाइ छ।
  • युक्रेनले रुस र चीनबीचको बढ्दो सैन्य सहकार्यप्रति चिन्ता व्यक्त गरेको छ।

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति गम्भीर चेतावनी दिएका छन् । उनले युक्रेनको विदेश गुप्तचर सेवाका प्रमुख ओलेह इभासेन्कोको प्रतिवेदन उद्धृत गर्दै ऊर्जा कम्पनीहरू र काल्पनिक कानुनी संरचनामार्फत रुसले प्रतिबन्धबाट जोगिन खोजिरहेको उल्लेख गरे ।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक सन्देशमार्फत राष्ट्रपति जेलेन्स्कीले युक्रेनले यस्ता गतिविधि निरन्तर निगरानी गरिरहेको र साझेदार मुलुकहरूसँग समन्वय गरेर रुसमाथि दबाब कायम राख्ने स्पष्ट पारे । “रुसले आफ्ना ऊर्जा कम्पनीहरूलाई विश्वव्यापी प्रतिबन्धबाट बचाउन अस्थायी मालिक र बनावटी कानुनी योजनाहरू प्रयोग गरिरहेको छ । हामी यी सबै गतिविधिमाथि नजर राखिरहेका छौँ र रुसलाई युद्धका लागि स्रोत जुटाउन नदिन साझेदारहरूसँग सहकार्य गर्नेछौँ”, उनले भने ।

इभासेन्कोको प्रतिवेदनमा बेलारुसको भूमिमा रुसले ओरेसनिक प्रणाली तैनाथ गरेको विषय पनि समेटिएको छ, जसलाई राष्ट्रपति जेलेन्स्कीले विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा ठहर गरे । उनका अनुसार यस्ता हतियारहरूको आक्रामक विस्तारले खतरनाक उदाहरण सिर्जना गर्दछ र त्यस विरुद्ध सहयोगीहरूसँग संयुक्त प्रतिक्रिया विकल्प तयार गर्न निर्देशन दिइसकिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले गुप्तचर र सैन्य उत्पादन क्षेत्रमा रुस र चीनबिच बढ्दो सहकार्यप्रति पनि चिन्ता व्यक्त गरे । उनले विशेष गरी अन्तरिक्षमा आधारित खुफिया सूचनामा दुवै देशका संस्थाहरूबिच सहयोग बढिरहेको उल्लेख गरे । युक्रेनका अनुसार चिनियाँ उपग्रह तस्बिरहरू र युक्रेनी ऊर्जा पूर्वाधारमाथि भएका रुसी आक्रमणहरूबिच सम्बन्ध देखिएको छ ।

“यस्ता गतिविधिले रुसलाई युद्ध लम्ब्याउन र कूटनीतिक प्रयासहरू कमजोर पार्न सहयोग पुर्‍याइरहेको छ”, उनले भने । उनले यी सबै विषय साझेदारहरूसँग उठाइने र कूटनीतिक माध्यमबाट रुसका कदमहरूको प्रतिरोध गरिने पनि स्पष्ट गरे ।

यसैबिच, किएभको स्वाटोसिन्स्की जिल्लामा हालै भएको रुसी ड्रोन आक्रमणमा पाँच जना घाइते भएको किएभ सिटी मिलिटरी प्रशासनले जनाएको छ । युद्धका यस्ता घटनाले क्षेत्रीय मात्र नभई विश्वव्यापी सुरक्षामा समेत गम्भीर असर पारिरहेको युक्रेनको निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप