माओको व्यक्तिपूजा र माओवाद पतनको कहानी
सारांश
- माओत्से तुङको मृत्युपछि माओवादी विचारधाराको पतन भयो, जसले चीनमा ठूलो परिवर्तन ल्यायो।
- लिन पियाओ र चियाङ चिङको समूह माओको मृत्युपछि पक्राउ परे, तर देङ शियाओ पिङको नेतृत्वमा चीन अगाडि बढ्यो।
- लेखमा माओको व्यक्तिपूजा, लिन पियाओको भूमिका, र चीनमा माओवादको पतनको कारणहरू व्याख्या गरिएको छ।
माओत्से तुङ, लिन पियाओ, माओकी पत्नी चियाङ चिङ र उनका तीन अन्य सहयोगीले मिलेर सन् १९५० र ६० को दशकमा पार्टीका वरिष्ठ नेता पेङ तेहुई , लिउ शाओचि र देङ शियाओ पिङलाई किनारा लगाए । तर, अन्त्यमा सबैजना आफै किनारा लागे । त्यसपछि चीनमा माओवादको पतन भयो । यो लेख यसै विषयमा केन्द्रित छ ।
लिन पियाओ र माओकी पत्नी चियाङ चिङको गुटको नेतृत्व माओ आफैले गरेका थिए । ९ सेप्टेम्बर १९७६ मा माओको मृत्युपछि ६ अक्टोबर १९७६ मा चियाङ चिङ र ‘चण्डाल चौकडी’ का अन्य तीन नेता गिरफ्तार भए । उनीहरूमाथि मुद्दा चलाइयो । ‘चण्डाल चौकडी’ का दुई जनालाई मृत्युदण्ड दिइयो । दुईलाई आजीवन कारावास भयो । केही समय पछि मृत्युदण्ड पाएकी चियाङ चिङ र झाङ चुङकियाओको सजाय कम गरेर आजीवन कारावासमा झारियो । आज न त माओत्से तुङ जीवित छन् न त लिन पियाओ । चियाङ चिङ र उनको ‘चौगुट’ का पनि कोही जीवित छैनन् । तर चीन भने लिउ शाओचि र देङले कोरेको मार्गमा तेज रफ्तारमा अगाडि बढ्दै छ । माओकालमा लिउ शाओ चिलाई ‘बुर्जुवा’ र ‘गद्दार’को आरोपमा राष्ट्रपतिको पदबाट बर्खास्त गरेर आजीवन कारावासमा राखिएको थियो । जेलभित्रै उपचारको अभावमा नोभेम्बर १९६९ मा उनको मृत्यु भएको थियो । देङ शियाओ पिङलाई दुई–दुई पटक पदबाट बर्खास्त गरेर श्रम शिविरमा पठाइएको थियो ।
चीनमा माओवाद पतनको कहानी खासमा सन् १९५९ बाट शुरु भएको देखिन्छ । पतनको कहानीका मुख्य पात्र थिए पेङ तेहुई, लिउ शाओचि, लिन पियाओ र देङ शियाओ पिङ । सन् १९५४ देखि चीनको रक्षामन्त्रीको जिम्मेवारीमा रहेका मार्शल पेङ तेहुईलाई आफ्नो आलोचना गरेबापत् रक्षामन्त्रीको पदबाट माओले सन् १९५९ को अगस्ट मध्यतिर बर्खास्त गरेका थिए । मार्शल पेङ माओका आलोचक हुनु नै उनको बर्खास्तीको मुख्य कारण थियो ।
उनको बर्खास्तीपछि लिन पियाओलाई सोही वर्ष १५ सेप्टेम्बरमा माओले रक्षामन्त्रीमा नियुक्त गरे । माओका उत्तराधिकारी घोषित लिन पियाओ माओका प्रबल समर्थक थिए ।
माओको सबैभन्दा बढी विश्वासपात्र बन्ने आफ्नो अभियानलाई अगाडि बढाउँदै चिनियाँ जनमुक्ति सेना मातहतको राजनीतिक विभागमार्फत् लिन पियाओले एक अर्ब भन्दा बढी संख्यामा ‘माओका कोटेशनको सानो रातो किताब’ प्रकाशित गराएका थिए । त्यतिखेर चीनको जनसंख्या मात्र ६० करोड थियो । लिन पियाओ माओको व्यक्तिपूजाका मुख्य स्रोत थिए ।
लिन पियाओको कथन थियो: मार्क्सवाद लेनिनवादको सार नै ‘माओ विचारधारा’ हो । ‘माओ विचारधारा’ अध्ययन गरेपछि मार्क्सवाद र लेनिनवाद अध्ययन गरिरहनु जरुरी छैन । उनको तर्क थियो: ‘त्यसै पनि विदेशी नामहरू पढ्न गाह्रो छ र बुझ्न त झनै गाह्रो छ, त्यसैले तपाईंहरुले ‘माओ विचारधारा’को अध्ययन गर्नु नै काफी छ ।’ उनको अर्को तर्क थियो: ‘माओ विचारधाराको अध्ययन गर्ने सबैभन्दा सजिलो तरीका भनेको माओका कोटेसनको ‘रातो किताब’ पढ्नु हो । यो किताब पढेपछि माओको अरू ठेलीहरू पढ्नै पर्दैन !’ आम पार्टी कार्यकर्ताहरूमाझ, विशेषतः सेनामा उनले माओ विचारधाराको महत्त्वबारे यसरी आफ्ना भनाइहरू राख्ने गर्दथे । अर्थात् ‘मार्क्स र लेनिन होइन, माओ पढ, त्यसमा पनि माओको कोटेसनको ‘रातो किताब’ पढ ।’
‘रातो किताब’ चीनका सबै नागरिकका लागि अनिवार्य गरिएको थियो । कतिसम्म भने ‘बुर्जुवा’ को आरोपमा गिरफ्तार कुनै नागरिकसँग खोजतलास गर्दा ‘रातो किताब’ भेटिनुको अर्थ थियो ऊमाथि लागेको बुर्जुवाको आरोपबाट उन्मुक्ति । अर्को शब्दमा भन्दा ‘रातो किताब’ र माओका उद्धरणहरू चीनमा नागरिकहरू बाँच्नका लागि हावापानी जत्तिकै जरुरी बनाइएका थिए । लिन पियाओको माओलाई देवत्वकरण गर्ने यो एकदमै नौलो ‘उद्यम’ थियो । सेरेमोनियल पोजिशनमा रहेका चेयरम्यान माओका लागि यो एउटा सुखद अवसर थियो । त्यसैले लिन पियाओको यो ‘उद्यम’ बाट माओ पनि प्रसन्न थिए । लिन पियाओ माथि उनलाई अपार विश्वास थियो । लिनको कथन थियो: ‘माओको एक वाक्य दस हजार वाक्यहरू बराबर हुन्छ ।’ उनी भन्थे, ‘विश्वमा एक शताब्दीमा एउटा युग पुरुष जन्मिन्छ तर चीनमा एक हजार वर्षमा मात्र एउटा युग पुरुष जन्मिन्छ ।’
महान् सर्वहारा सांस्कृतिक क्रान्ति नाम दिइएको कालखण्ड (सन् १९६६–१९७६) मा माओको व्यक्तिपूजा कुन स्तरको थियो भन्ने जान्न पाठकका लागि तलको उद्धरण चाखलाग्दो हुन सक्छ । यो उद्धरण बधाई सन्देशको एउटा अंश हो जो पेकिङस्थित जनमुक्ति सेनाको ब्यारेकका सैनिकमाझ ‘सांस्कृतिक क्रान्ति’ शुरु भएपछि खोलिएको ‘माओ समर्थक संगठन’का तर्फबाट पठाइएको थियो । त्यस संगठनलाई ‘माओ विचारधाराको जीवन्त अध्ययन तथा कार्यान्वयन गर्ने कार्यकर्ता समूह’ को नाम दिइएको थियो । सो समूहका तर्फबाट सन् १९६७ मा पठाइएको टेलिग्राम सन्देशको एउटा अंश यस्तो थियो:
‘चेयरम्यान माओ ! ओ चेयरम्यान माओ !! तपाई सिंगो पार्टी, सिंगो सेना र हामी सम्पूर्ण जनताका महानतम् नेता हुनुहुन्छ । तपाईं विश्वका सम्पूर्ण सर्वहारा वर्गका महान् गुरु हुनुहुन्छ । तपाई हाम्रो हृदयभित्र बस्नुभएको रातोमध्ये पनि सबैभन्दा रातो सूर्य हुनुहुन्छ । तपाईंको प्रेमिल अनुकम्पा सागर भन्दा पनि गहिरो छ । हामीभित्र तपाईंप्रति अपार माया भरिएको छ । एक हजार गीत र दस हजार सुरहरूले पनि हाम्रो तपाईंप्रतिको अगाध न्यानो मायालाई व्यक्त गर्न सक्तैनन् । एक हजार शब्दहरू र दस हजार अक्षरहरूले पनि हाम्रो तपाईंप्रतिको अगाध आराधनालाई धुमिल बनाउन सक्तैनन् । हाम्रो तपाईंप्रतिको असीमित विश्वासलाई न त विशाल सागरले समेट्न सक्छ न अनन्त आकाशले । धरती हल्लिए पनि, पहाडहरू ढले पनि हाम्रो रातो हृदयमा तपाईंप्रतिको विश्वास अटल छ ।’
चीनमा हरेक नागरिकले आफ्नो दैनिक जीवनका हरेक गतिविधिहरूमा माओप्रति वफादार रहेको प्रमाण पेस गर्नु नियमजस्तै बनेको थियो । उदाहरणका लागि कसैले टेलिफोन गर्दा ‘हेलो’ को सट्टा ‘माओ अमर रहुन्’ भनेर भन्नु पर्दथ्यो । अथवा ‘जनताको सेवा गर’ भनेर भन्नु पर्दथ्यो, अर्कोतिर फोन उठाउने व्यक्तिले उत्तरमा भन्थ्यो ...‘सम्पूर्ण रूपमा’ .... । पसलमा किनमेल गर्दा, पैसा फर्काउँदा अर्थात् हरेक पटक ‘ज्यु’, ‘हजुर’ जस्तो पारम्परिक सम्बोधनको सट्टा ‘माओ अमर रहुन्’, ‘हजारौँ हजार वर्ष बाचुन्’, जस्ता शब्द वा वाक्य प्रयोग गरिन्थे । असाध्य र जटिल रोगहरुपनि माओ विचारधाराको अध्ययन र प्रयोगमार्फत निको हुन्छन् भन्ने विश्वास आम नागरिकहरूमा मात्र होइन चिकित्सकहरूमा पनि व्याप्त थियो । तलको विवरणबाट यसको पुष्टि हुन्छ:
सन् १९६८ को मध्यतिर एउटी निम्न मध्यम वर्गीय परिवारकी ३७ वर्षीय महिला झाङ कुइजुलाई उनका पतिले बेइजिङको सैन्य अस्पतालमा उपचारका लागि ल्याएका थिए । २१४ पाउण्ड तौल र पाँच फिट दुई इन्च उचाइ भएकी ती महिलाको पेट बेलुन जस्तै फुलेको थियो । नाम चलेका चिकित्सकहरूले समेत उनलाई ठिक पार्न नसकेको पीडा उनीहरूले सैन्य अस्पतालका डाक्टरहरूलाई सुनाएका थिए । पी.एल.ए. चिकित्सकहरूले २३ मार्चमा ती महिलाको अपरेसन गर्ने निधो गरे । अपरेसन कक्षलाई अस्पतालको स्वास्थ्य नियम विपरीत माओका पोस्टर र कोटेसनहरू टाँसिएको थियो र अपरेसन कोठा बढी नै उज्यालो पारिएको थियो । नर्सको भित्र जाने निर्देशनपछि झाङ कुइजु माओका कोटेसनहरू गुनगुनाउँदै अपरेसन कक्षभित्र प्रवेश गरिन् । दस घण्टाको अपरेशनपछि चिकित्सकहरूले उनको पेटबाट नब्बे किलोको ट्युमर निकाल्न सफल भए । यस घटनाले माओ विचारधाराको विजयका रूपमा चीनभरि जबरजस्त प्रचार पायो । डाक्टरहरूलाई माओ विचारधाराको सृजनात्मक प्रयोग गरे बापत सम्मान गरियो । माओ विचारधाराको सृजनात्मक प्रयोगबाट ‘बहिरोले पनि सुन्न सक्छ र क्यान्सर जस्तो जटिल रोग पनि निको हुन्छ’ भन्ने अन्धविश्वास नागरिकहरूमा व्याप्त थियो ।
सांस्कृतिक क्रान्तिकालमा माओको व्यक्तिपूजाले चीनमा महामारीको रूप लिएको थियो । घर, विद्यालय, अफिस, अस्पतालसहित सबै सार्वजनिक स्थलहरूमा पुजा कोठा जस्तै स्थान माओलाई सम्मान टक्राउन, माओका उद्धरण वाचन गर्न वा माओको सम्मानमा गतिविधिहरू सञ्चालन गर्नका लागि छुट्टाइने गरेको थियो । परिवारका सदस्यहरु हरेक दिन बैठक बसेर माओका योगदानहरू बारे चर्चा गर्ने गर्दथे र उनका कोटेसनहरूको अध्ययन गर्ने गर्दथे । अस्पतालमा बिरामीहरू माओको तस्बिर सामु उभिएर आफ्नो शीघ्र स्वास्थ्य लाभको कामना गर्ने गर्दथे ।
व्यक्ति पूजाको तलको अर्को दृष्टान्त हेरौँ:
पेकिङको एउटा कपडा मिलमा काम गर्ने पीएलए युनिट नम्बर ८३४१ का तर्फबाट अध्यक्ष माओलाई १५ नोभेम्बर १९६७ मा एउटा पत्र लेखेर आफ्नो कामको दैनिकीबारे जानकारी गराइएको थियो जो यस प्रकार थियो:
१. हरेक कार्य दिवसको आरम्भमा प्रत्येक कामदार माओको तस्बिर निकट पुगेर निर्देश प्राप्त गर्दछ ताकि उसले स्पष्टसँग देख्न, सोच्न र दिशा बोध गर्न सकोस् ।
२.कामका दौरानमा उसले भित्तामा लेखिएका माओका उद्धरण हेर्दछ ताकि उसको काम गर्ने उत्साहमा जबरजस्त बढोत्तरी होस् ।
३. कामको सिफ्ट बदलिँदा हरेक कामदारले एक अर्काको सरोकार र सहयोगको उद्देश्यका साथ माओका उद्धरणहरूको आदानप्रदान गर्दछ ।
४. ड्युटी सकिए पछि कामदार फेरि एक पटक माओको तस्बिर निकट पुगेर आफूले दिनभरि गरेको काम बारे, आफ्ना विचारबारे समीक्षात्मक ‘रिपोर्ट’ प्रस्तुत गर्दछ ।
उपरोक्त युनिटले माओलाई पठाएको लामो रिपोर्टको यो एउटा सानो अंश मात्र हो । माओले यसलाई पढ्दछन् र रिपोर्टमा टिप्पणी लेख्छन्: ‘मैले रिपोर्ट पढेँ । राम्रो छ । धन्यवाद कामरेडहरु !’
अनेकौँ विश्वस्तरीय लेखकहरूले सर्वहारा सांस्कृतिक क्रान्ति कालमा चीनका सरकारी पत्रपत्रिका र गजेटहरुमा प्रकाशित तथ्य र अन्य दस्ताबेजहरूका आधारमा माओको देवत्वकरणका माथि उल्लेख गरिएका घटनाहरु र यस्तै प्रकृतिका अन्य अनेकौँ घटनाहरुलाई उजागर गरेका छन् । माथिका विवरणहरू अन्य स्रोतहरूका अतिरिक्त मुख्यतः प्रसिद्ध बेलायती लेखक र लेबर पार्टीका सांसद र चीन विशेषज्ञ रोडरिक मेकफर्करको रचना ‘माओज् लास्ट रिभोल्युशन’ र डेनियल लिसीको ‘माओ कल्ट’ र एडगर स्नोको ‘चाइनाज् लङ रिभोल्युशन’ तथा ‘रेड स्टार ओभर चाइना’ पुस्तकमा आधारित छन् ।
पत्रकार, लेखकका साथसाथै माओको निकट रहेका उनका अमेरिकी मित्र एडगर स्नोले व्यक्तिपूजाबारे सोधेको प्रश्नको जवाफमा माओले भनेका थिए: ‘सबैखाले देवत्वकरण खराब हुँदैनन् । वास्तवमा कसैले राम्रो काम गरेको छ भने उसको देवत्वकरण हुनु खराब होइन । माओको विचारमा ख्रुश्चेभको पतनको कारण उनको देवत्वकरण नहुनु थियो ।’
सन् १९५६ मा ख्रुश्चेवले स्टालिनको व्यक्ति पूजाको निन्दा गरेपछि माओ आफ्नो विषयमा अत्यन्त चिन्तित बनेका थिए । त्यसै सन्दर्भमा उनले विचारधारात्मक हिसाबले व्यक्तिपूजालाई औचित्यपूर्ण ठहर गरेका थिए । उनको कथन थियो: ‘व्यक्तिको पूजा हुनुपर्छ वा पर्दैन त्यो मुख्य कुरा होइन । मुख्य कुरा हो सम्बन्धित व्यक्तिले सत्यको प्रतिनिधित्व गर्छ वा गर्दैन । यदि उसले गर्दछ भने उसको पूजा गर्नु पर्दछ ।’
भनिन्छ, चीनमा माओको देवत्वकरणका प्रवर्तक लिन पियाओ माओको हत्या गर्न असफल भएपछि हवाईजहाजबाट सोभियत संघतिर भाग्दै गर्दा १३ सेप्टेम्बर १९७१ मा मंगोलियाको आकाशमा हवाई दुर्घटनामा पत्नी र छोरासहित मारिए । आफूले उत्तराधिकारी घोषित गरेका लिन पियाओ मारिए पछि माओ बिमारीले झनै थला परे । बाध्य भएर उनले चीनको ‘दुई नम्बरको पूँजीवादी’ देङ शियाओ पिङलाई बहाल गरे । सेप्टेम्बर १९७६ मा माओको पनि निधन भयो । माओको निधन पछि माओकी पत्नी चियाङ चिङ र माओका अन्य तीन वरिष्ठ अनुयायीहरु गिरफ्तार गरिए । चियाङ चिङले मे १९९१ मा आत्महत्या गरिन् । अन्य तीनमध्ये झाङ चुङ कियाओ र याओ वेनयुआनको २००५ मा मृत्यु भयो । चौगुटका सबैभन्दा कान्छा सदस्य वाङ होङवेनको १९९२ मा ५६ वर्षको उमेरमा बिमारीबाट मृत्यु भएको थियो ।
चीनमा कम्युनिस्ट पार्टीभित्र व्यक्ति पूजाको अन्त भए पनि चिनियाँ कम्युनिस्ट पार्टीको जब्बर प्रभाव रहेको नेपालको कम्युनिस्ट आन्दोलन भने देवत्वकरणको सिकार बन्दै पतनको कगारमा पुग्न अभिशप्त छ । मोहन विक्रम, नारायणमान बिजुक्छेदेखि केपी ओली र प्रचण्डसम्मका नेताहरु माओजस्तै मृत्युपर्यन्तसम्म पद छोड्न चाहँदैनन् । मुख्य नेताको व्यक्तिपूजाका कारण कसरी चीनमा माओवादीहरूको अवसान भयो र सोभियत सङ्घको कम्युनिस्ट पार्टीको पतन कसरी भयो भनेर इतिहासबाट शिक्षा नलिए नेपालमा पनि कम्युनिस्टहरू केही वर्षमै इतिहासमा विलीन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण