सम्बन्ध सुधारमा सुशीला : पार्टी र नेताको मन जित्ने कसरत
सारांश
- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार फागुन २१ मा निर्वाचन गराउन दलका नेताहरूसँग भेटघाट र संवाद गरिरहेको छ।
- सरकारका प्रवक्ताले तीन दलका शीर्ष नेताहरूसँग भेट गरी निर्वाचनको वातावरण बनिसकेको र तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुन आग्रह गरे।
- प्रधानमन्त्री र मन्त्रीहरूले निर्वाचन सुनिश्चित गर्न दलहरूसँग निरन्तर वार्ता र छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौं । फागुन २१ नजिकिँदै गर्दा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र मन्त्रीहरु प्रमुख राजनीतिक दल र तिनका नेताको मन जित्ने प्रयत्नमा जुटेका छन् । फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गराउने मुख्य म्यान्डेट पाएको कार्की नेतृत्वको सरकार प्रमुख राजनीतिक दलहरुलाई पूर्ण विश्वासमा लिएर चुनाव गराउने प्रयासस्वरुप ती दलका नेतासँगको भेटघाट र संवादलाई प्राथमिकता दिन पुगेको हो ।
चुनावको वातावरण बनाउन भन्दै प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरु पछिल्ला दिनमा दल र तिनका नेताहरुसँगको भेटवार्ता र संवादलाई म्याराथन शैलीले अघि बढाएका छन् । यसअघि प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेतासँग कुरा पनि नगर्ने र मुख पनि नहेर्ने अभिव्यक्ति दिने गरेकी थिइन् ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार मात्रै प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेता (शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड)लाई निवासमै भेटेर शान्तिसुरक्षा मजबुत बनेको तथा निर्वाचनको वातावरण पनि बन्दै गएकाले तोकिएको मितिमा चुनाव हुँदैन कि भनेर आशंका नराख्न विश्वस्त हुन आग्रह गरेका छन् ।

यसअघि मन्त्री खरेलसहित कानुन मन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनमा क्षति भएका राजनीतिक दलका कार्यालयको अनुगमन र दलका नेताहरुसँग कुराकानी गरेका थिए । पुस ८ र ९ गते एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा र जनमत लगायत पार्टीका कार्यालय पुगेर स्थलगत अनुगमन गरेका मन्त्री खरेलले त्यसलगत्तै प्रमुख दलका शीर्ष नेतालाई निवासै पुगेर निर्वाचनको वातावरण बनाउने प्रयासलाई निरन्तरता दिएका हुन् ।
यसअघि पुस ९ गते राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा प्रधानमन्त्री सुशीला कार्कीसहित देउवा, ओली र प्रचण्डबिच छलफल भएको थियो । उक्त छलफलमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीले दलका नेताहरुलाई निर्वाचन बाहेक अर्को विकल्प नभएकाले चुनावमा केन्द्रित हुन आग्रह गरेका थिए । त्यसक्रममा प्रचण्डले आफू सुरुबाटै निर्वाचनको पक्षमा उभिएको भन्दै तोकिएको मितिमा चुनाव गराउन आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताएका थिए । तर कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले सरकारले निर्वाचनको रटान लगाएपनि उपयुक्त वातावरण बनाउन नसकेको गुनासो गरेका थिए । साथै राष्ट्रपतिको उपस्थितिमा भएको उक्त छलफलमा ओलीले पार्टीहरुलाई आफ्ना गतिविधि सञ्चालन गर्न अवरोध गर्ने तथा नेताहरुलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोजेको भनेर प्रधानमन्त्री कार्कीलाई प्रश्न गरेका थिए । राष्ट्रपतिको मध्यथतामा पहिलो पटक शीतलनिवासमा भएको त्रिपक्षीय उक्त भेटपछि शनिबार प्रधानमन्त्री कार्कीले नै तीन दलका शीर्ष नेतासँग समेत छलफल आयोजना गरेकी छन् ।

बिहीबार देउवा, ओली र प्रचण्डसँगको भेटवार्तापछि मन्त्री खरेलले फागुन २१ मा निर्वाचन हुने कुरामा अब सबै आशंकाहरु हटेको प्रतिक्रिया दिए ।
‘मैले तीन दलका शीर्ष नेताहरुसँग गरेको भेटवार्ताका क्रममा उहाँहरु निर्वाचनको पक्षमा हुनुहुन्छ भन्ने प्रस्ट भएको छ’, खरेलले भने, ‘कांग्रेस सभापतिले स्पष्ट रूपमा भन्नुभएको छ कि कांग्रेसको प्राथमिकता चुनाव हो । उहाँले निर्वाचन समयमै सम्पन्न गर्न सरकारलाई आग्रह गर्दै सुरक्षाको वातावरण बनाउन पनि सुझाव दिनुभएको छ ।’
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले पनि अहिलेको अवस्थामा निर्वाचनको विकल्प नभएको बताएको खरेलले बताए । प्रचण्डले जसरी पनि फागुन २१ मै निर्वाचन हुनुपर्नेमा जोड दिएको खरेलको भनाइ छ । उनले निर्वाचन सफल पार्न आफ्नो दलको तर्फबाट सरकारलाई पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेको खरेलको भनाइ छ ।

‘सरकार चुनाव गराउने कुरामा प्रतिबद्ध र कटिबद्ध छ’, उनले भने, ‘सुशासन कायम गराउने सवालमा पनि फागुन २१ मा चुनाव गराउनैपर्छ र चुनाव पनि हुन्छ ।’
उनले सबै पक्षसँग सरकारले वार्ता र छलफललाई अझै निरन्तरता दिने भन्दै अब निर्वाचन सुनिश्चित भएको दाबी गरे ।

‘मैले तीनवटा ठुला राजनीतिक दलका नेतालाई भेटेँ, उहाँहरुले हामी चुनावको विरोधी होइनौं, चुनाव हुनुपर्छ र फ्रेस म्यान्डेटबाट अघि बढ्नुपर्छ भन्नुभएको छ,’ उनले एमाले अध्यक्षबाट चुनावमा जानुपर्छ तर सुरक्षाको वातावरण बनाउन आग्रह गरेको तथा सरकारले त्यो वातावरण बनाउने भन्दै फागुन २१ मा हुने चुनावमा सबै राजनीतिक दलले भाग लिने दाबी समेत गरे ।
‘आजको तीन भेटले चुनावको वातावरण बन्यो,’ मन्त्री खरेलले भने । साथै, उनले काङ्ग्रेस सभापतिले आफ्नो प्राथमिकता चुनाव भएको र संसद् पुनर्स्थापना नभएको तथा एमाले अध्यक्ष ओलीले एमाले चुनावको पक्षमा रहेको तर वातावरण बनाउनुपर्ने तथा प्रचण्डले नेकपा फागुन २१ को चुनावको लागि तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण