शीतलहरले कष्टकर बन्दै मधेसको जनजीवन
जनकपुरधाम । महोत्तरीको बनौली टोलकी ६८ वर्षीया रामपडी दास अत्यधिक चिसोका कारण रातभर निदाउन सक्दिनन् । लगातार बढेको चिसो र बिहानपख चल्ने शीतलहरको सामना उनले परालको ओछ्यानमा पातलो कम्बलको भरमा गर्नुपर्छ ।
'पातलो कम्बल छ, परालको ओछ्यान छ । घर चारैतिरबाट हावा चल्छ । जाडोले रातभर काँपिरहनुपर्छ, निद्रा लाग्दैन,’ रामपडी भन्छिन् ।
६५ वर्षीया बेचनी दास र ६३ वर्षीया रामरती दासको पनि अवस्था रामपडीकै जस्तो छ । चिसो सहन नसकेपछि उनीहरू कहिलेकाहीँ राति अरूको घरमा गएर आगो ताप्दै रात बिताउन बाध्य छन् । 'चिसोले निद्रा नलागेपछि अरूको ढोकामा गएर आगो ताप्छु । त्यसरी नै रात काट्छु,' रामपडी दुःख पोख्छिन् ।

एक सातायता तराई-मधेसमा लगातार चिसो बढिरहेको छ । बिहानपख शीतलहर चल्छ । तापक्रम ह्वात्तै घटेपछि मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही लगायत जिल्लाका विपन्न बस्तीहरूमा बसोबास गर्ने विपन्नहरूको दैनिकी झनै कष्टकर बनेको छ । ओढ्ने र लगाउने न्यानो कपडाको अभावमा धेरै वृद्धवृद्धालाई चिसोले समस्या पारेको छ ।
रामपडी दास एकल महिला हुन् । उनको आफ्नै नाममा कुनै जमिन छैन। छिमेकीको जग्गामा टहरो बनाएर बसोबास गरिरहेकी छन् । उमेरले बुढ्यौली लागेको छ, एउटा आँखाले राम्रोसँग देख्दिनन् । 'बेलाबखत छोरी आउँछे, सहयोग गर्छे,' उनी भन्छिन्, 'तर आफूसँग बुढेसकालको सहारा केही छैन ।'
रामपडीले कहिलेकाहीँ त मागेरै गुजारा चलाउनुपर्छ । 'मागेर खान्छु । कुनै कुनै दिन भोकै सुत्नुपर्छ,' उनी भन्छिन् ।
बनौली टोलकी बेचनी दास पनि एक्लै बस्छिन् । उनका कोही सन्तान छैनन् भने श्रीमानको मृत्यु भइसकेको छ । 'जाडोले शरीर नै काँप्छ,' बेचनी भन्छिन्, 'काम गर्न सकिँदैन । चिसोले कतै जान पनि सकिँदैन,' उनी भन्छिन् ।

काम गरेर गुजारा, तर जाडोले काम पनि बन्द
६३ वर्षीया रामरती दास कहिलेकाहीँ खेतबारीमा काम गरेर आफ्नो गुजारा चलाउने गर्थिन् । तर अत्यधिक चिसोका कारण अहिले काममा जान समेत सक्दिनन् । 'जाडोमा खेतबारीमा काम गर्न सकिँदैन,' उनी भन्छिन्, 'काम नपाएपछि पेट पाल्न झन् गाह्रो हुन्छ ।'
उनलाई कुनै बेला छिमेकीले खानेकुरा दिन्छन् । कहिलेकाहीँ अरूको घरमा गएर आगो ताप्छिन् । 'न न्यानो कपडा छ, न ओढ्ने कम्बल,' उनी भन्छिन्, 'गरिब मान्छे हौं, हाम्रो कोही छैन ।'
सरकारको राहत नपुगेको गुनासो
रामरती दास भन्छिन्, 'सरकारले एउटा घर त बनाइदियो । तर जाडोमा के गर्ने ? आगो ताप्न दाउरा छैन, न्यानो कपडा छैन ।' यति सुनाउँदा उनको आँखाबाट आँसु झरिरहेको थियो । 'मेरो कोही छैन । सरकारले हेर्दैन,' उनी गुनासो पोख्छिन् ।
महोत्तरीको बनौली टोलजस्तै मधेसका धेरै गाउँ-टोलमा बिहानपख चल्ने शीतलहरले बालबालिका, वृद्धवृद्धा र एकल महिलाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।

बनौली–७ को तत्मा टोलका बस्ने समुदायका अगुवाहरू भन्छन्, 'यहाँ धेरै एकल महिला, वृद्धवृद्धा र अति विपन्न परिवार छन् । राहत मगाइदिनुस्,' उनीहरूले आग्रह गरे, 'नत्र यिनीहरू जाडोमै मर्छन् ।'
पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले चिसोबाट प्रभावित व्यक्तिहरूलाई न्यानो कपडा र कम्बल वितरण गरिने आश्वासन दिए । 'यस्तो अवस्था हुनु हुँदैन । यदि विपन्न बस्तीमा समस्या छ भने हामी छिट्टै राहत बाँड्छौँ,' उनले भने ।
समयमै सरकार, स्थानीय तह र अन्य सरोकारवालाले ध्यान नदिए शीतलहर मधेसका लागि मानवीय विपत्तिमा रूपान्तरण हुने जोखिम बढ्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण