सप्तरी-२ मा यसपटक पनि आमनेसामने होलान् उपेन्द्र र सीके ?
जनकपुरधाम । आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मधेसमा पनि राजनीतिक माहोल तातिन थालेको छ । सप्तरी क्षेत्र नम्बर २ यसपटक पनि मधेस केन्द्रित दलको राजनीतिक केन्द्र बन्ने देखिएको छ । किनकि यस क्षेत्रमा मधेसका प्रभावशाली दलका अध्यक्षहरू नै आमनेसामने हुने सम्भावना बढेको छ ।
२०७९ सालको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबिच प्रतिस्पर्धा हुँदा राउतले बाजी मारेका थिए ।
आगामी निर्वाचनका लागि नयाँ दर्ता भएका दलदेखि पुराना राजनीतिक दलसम्मले उम्मेदवार छनोट र सिफारिस प्रक्रिया तीव्र पारेका छन् । प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि अधिकांश दलहरूले सप्तरीका चारै निर्वाचन क्षेत्रबाट नाम सिफारिस गरिसकेका छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले सप्तरी क्षेत्र नम्बर २ बाट पार्टी अध्यक्ष राजेन्द्र महतोसहित चार जनाको नाम सिफारिस गरिएको छ । महतोको नाम पहिलो नम्बरमा राखिएको छ भने महासचिव केशव झा, संविधानसभा सदस्य महेश यादव र रिणा झाको नाम क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा सिफारिस गरिएको छ । पार्टीले क्षेत्र नम्बर ३ बाट पूर्व सांसद चन्द्रकान्त चौधरी र युवा नेता गजेन्द्र मण्डलको नाम सिफारिस गरेको छ । बाँकी दुई क्षेत्रमा उम्मेदवार छनोट तीन–चार दिनभित्र टुंग्याइने पार्टीका जिल्ला अध्यक्ष दीपेन्द्रकुमार चौधरीले जानकारी दिए ।
गत प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. राउत जसपा नेपालका अध्यक्ष यादवलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । यसपटक पनि जनमत पार्टीले क्षेत्र नम्बर २ बाट डा. राउतको एकल नाम सिफारिस गरेको छ । जिल्ला इन्चार्ज रामगमन साहका अनुसार डा. राउतको नाम जिल्लाका चारै निर्वाचन क्षेत्रबाट सिफारिस भएपनि क्षेत्र नम्बर २ बाट भने एकल रूपमा सिफारिस गरिएको हो ।
जसपा नेपालले पनि क्षेत्र नम्बर २ बाट पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम एकल सिफारिस गरेको छ । जिल्ला अध्यक्ष केदार यादवका अनुसार शुक्रबार अबेर रातिसम्म चलेको क्षेत्रीय समितिको बैठकले यादवको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । अन्य निर्वाचन क्षेत्रको भेला पनि दुई-तीन दिनभित्र सम्पन्न हुने र त्यहाँबाट पनि यादवकै नाम उम्मेदवारका रूपमा सिफारिस हुने सम्भावना रहेको उनले बताए ।
सप्तरी डा. सीके राउतको गृहजिल्ला हो भने उपेन्द्र यादव जन्मिएको जिल्ला हो । राजेन्द्र महतो भने सर्लाहीका हुन् । जिल्लास्तरबाट भएका सिफारिस अन्तिम रूपमा कायम भए यसपटक सप्तरी–२ मा तीन दलका अध्यक्षबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । तर जनमत बाहेक अरू मधेस केन्द्रित दलले चुनावी तालमेल गर्ने निर्णय गरेका छन् ।
यस्तै नेपाली कांग्रेसले पनि सप्तरीका चारै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट रामदेव साह, शत्रुधनप्रसाद यादव, दुर्गाप्रसाद भट्टराई, लक्ष्मीदेवी यादव र दीपककुमार गुप्ताको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट ध्रुव देव, डा. अनिल झा, रञ्जित कर्ण, रामकुमार यादव, शैलेन्द्र मण्डल, प्रवीण सिंह र अम्बुज सिंहको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ३ बाट दिनेशकुमार यादव, शिवनारायण चौधरी, श्रीप्रसाद राउत र नवोदित चौधरी सिफारिस भएका छन् भने क्षेत्र नम्बर ४ बाट किरण भगत, तेजुलाल चौधरी, अशोक साह र सुरेन्द्र यादवको नाम सिफारिस गरिएको कांग्रेस सप्तरीका सचिव सनत मण्डलले जानकारी दिए ।
नेकपा एमालेले भने उम्मेदवार सिफारिस प्रक्रिया पुस २६ पछि मात्रै सुरु गर्ने जनाएको छ । नेकपा, रास्वपा, राप्रपा, आम जनता पार्टी, लोसपा नेपाल, उज्यालो नेपाल पार्टी, नेपाली जनता पार्टीलगायत दलहरूले पनि केही दिनभित्रै उम्मेदवार टुंगो लगाइने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण