सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

उत्तर कोरियाद्वारा लामो दूरीको क्रुज मिसाइल प्रहार, आणविक पनडुब्बी निर्माणमा पनि प्रगति

सोमबार, १४ पुस २०८२, १६ : ०८
सोमबार, १४ पुस २०८२

सारांश

  • उत्तर कोरियाले लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ, जुन आणविक क्षमता परीक्षणको एक भाग हो।
  • किम जोङ–उनले हतियार प्रदर्शनलाई आत्मरक्षा र युद्ध प्रतिरोधको अधिकार बताएका छन्, र यस प्रक्षेपणमा सन्तुष्टि व्यक्त गरेका छन्।
  • विश्लेषकहरूका अनुसार, उत्तर कोरियाले अमेरिकी युद्धपोत र विमानवाहक जहाजहरूलाई लक्षित गर्न यस्तो प्रविधि विकास गरेको छ।

प्योङयाङ । उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ । देशको आणविक प्रतिरोध क्षमता परीक्षणका लागि गरिएको यो प्रक्षेपण उत्तर कोरियाले पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा सफलता पाएको केही दिनपछि सार्वजनिक भएको हो । आइतबार पश्चिमी तटबाट गरिएको यो प्रक्षेपणप्रति सर्वोच्च नेता किम जोङ–उनले ‘ठूलो सन्तुष्टि’ व्यक्त गरेका छन् । उनले बाह्य सुरक्षा खतराको सामना गर्न हतियार प्रदर्शन गर्नु आत्मरक्षा र युद्ध प्रतिरोधको अधिकार भएको बताएका छन् ।

दक्षिण कोरियाली सैन्य नेतृत्वका अनुसार आइतबार बिहान उत्तर कोरियाको राजधानी आसपासबाट थुप्रै क्रुज मिसाइल प्रहार भएको देखिएको थियो । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले ब्यालेस्टिक मिसाइल परीक्षणमा प्रतिबन्ध लगाए पनि क्रुज मिसाइलमा त्यस्तो स्पष्ट निषेध छैन । यद्यपि, यी मिसाइलहरू कम उचाइमा उड्ने र रडारबाट बच्न सक्ने भएकाले अमेरिका र दक्षिण कोरियाका लागि गम्भीर सुरक्षा चुनौती मानिन्छन् । द्वन्द्वको अवस्थामा उत्तर कोरियाले अमेरिकी युद्धपोत र विमानवाहक जहाजहरूलाई लक्षित गर्न यस्तो प्रविधि विकास गरेको विश्लेषकहरूको भनाइ छ ।

गत हप्ता मात्रै उत्तर कोरियाले विकास गरिरहेको आणविक–सञ्चालित पनडुब्बीको तस्बिर सार्वजनिक गरेको थियो । किमले अमेरिकी नेतृत्वको सुरक्षा खतरा रोक्न यस्ता परिष्कृत हतियार प्रणाली विकास गर्ने वाचा गरेका थिए । केही विज्ञहरूका अनुसार युक्रेन युद्धमा रुसलाई सैन्य सहयोग गरेबापत उत्तर कोरियाले रुसबाट महत्त्वपूर्ण प्रविधि सहयोग प्राप्त गरेको हुन सक्छ ।

सन् २०१९ मा अमेरिकासँगको आणविक वार्ता असफल भएपछि उत्तर कोरियाले हतियार परीक्षणलाई तीव्र पारेको छ । सत्तारुढ वर्कर्स पार्टीको आगामी सम्मेलनअघि गरिएको यो हतियार प्रदर्शनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सो सम्मेलनमा किमले अमेरिकासँगको सम्बन्ध र ठप्प रहेको वार्ताबारे नयाँ धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । हाल विस्तार भएको आणविक क्षमताले सम्भावित वार्तामा किमलाई बलियो अवस्थामा राख्ने विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप