शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

रविले बालेन र उज्यालो नेपाल पार्टीसँग एकताका लागि गरेको सात–सात बुँदे सहमतिमा के भिन्नता छ ?

सोमबार, १४ पुस २०८२, २२ : ३३
सोमबार, १४ पुस २०८२

सारांश

  • रास्वपाका सभापति रवि लामिछानेले मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायसँग पार्टी एकताको सहमति गरेका छन्।
  • दुवै सहमतिमा सात-सात बुँदे सम्झौता गरिएको छ, जसमा अधिकांश विषय समान छन्।
  • बालेनसँगको सहमतिमा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह रहने उल्लेख छ भने उपाध्यायसँगको सहमतिमा उपसभापतिमा कुलमान घिसिङ रहनेछन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई पार्टीमा भित्र्याएको भोलिपल्टै कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायसँग पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

बालेनलाई पार्टीमा भित्र्याउन सात बुँदे सहमति गरेका रास्वपा सभापति लामिछानेले उज्यालो नेपाल पार्टीसँग एकताका लागि पनि सात बुँदे सहमति नै गरेका छन् । सात–सात बुँदे दुवै सहमतिपत्रमा अधिकांश विषय समान छन् ।

दुवै सहमतिपत्रका प्रस्तावनाको भाव समान रहे पनि केही शाब्दिक भिन्नता पाइन्छ । सारमा दुवै सहमतिपत्रका प्रस्तावनाको आशय एउटै छ ।

बालेनसँग भएको सहमतिको पहिलो बुँदा र उपाध्यायसँग भएको सहमतिको पहिलो बुँदा समान छ ।

रवि र बालेनबिच भएको सहमतिको दोस्रो बुँदाको तुलनामा रवि र उपाध्यायबिच भएको सहमतिको दोस्रो बुँदामा केही भूमिका थपिएको छ । उपाध्यायसँग भएको सहमतिको दोस्रो बुँदामा ‘उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यता प्रणालीको स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहँदै’ भन्ने शब्दावली थपिएको छ भने बाँकी शब्दावली आइतबार बालेनसँग भएको सहमतिपत्रको दोस्रो बुँदाकै दोहो¥याइएको छ ।

दुवै सहमतिपत्रको तेस्रो बुँदा समान छ । बालेनसँग भएको सहमतिको चौथो बुँदामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’ भनिएको थियो भने उपाध्यक्षसँग भएको सहमतिको चौथो बुँदामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने’ भनिएको छ ।

बालेनसँग भएको सहमतिको पाँचौँ बुँदामा ‘बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने’ भनिएको छ । यता उपाध्यायसँग रविले गरेको सहमतिमा ‘उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमहरूसँग जोड्दै’ भन्ने शब्दावली सुरुमा राखेर बालेनसँगको सहमतिकै शब्दावलीलाई जोडिएको छ ।

दुवै सहमतिका छैटौँ र सातौँ बुँदा समान छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप