शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जेनजीसँग वार्ताको तयारीमा रास्वपा

सोमबार, १४ पुस २०८२, २३ : १९
सोमबार, १४ पुस २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी अभियानका प्रतिनिधिसँग औपचारिक वार्ताको तयारी गरेको छ।
  • रास्वपा र जेनजीबीचको छलफलमा जेनजीले सरकारसँग गरेको १० बुँदे सहमतिलाई स्वीकार गर्नुपर्ने कुरा उठेको थियो।
  • छलफलमा रास्वपाले जेनजी अभियन्ताहरूलाई पार्टीमा सहभागी गराउने विषयमा वार्ता अघि बढाउने सहमति गरेको छ।

काठमाडौं । उज्यालो नेपाल पार्टीसँग एकीकरणको सहमति गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी अभियानका प्रतिनिधिसँग औपचारिक वार्ताको तयारी गरेको छ ।

रास्वपाले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकीकरण गरे लगत्तै आजै जेनजी प्रतिनिधिसँग छुट्टै छलफल गरेको हो । तीन पक्षबिच सहकार्यको आधार तय गर्ने उद्देश्यले भएको उक्त छलफललाई रास्वपाले सकारात्मक रूपमा लिएको जनाएको छ।

छलफलमा जेनजी फ्रन्टबाट रक्षा बम, जेनजी काउन्सिलबाट सुदन गुरूङ, सातै प्रदेशका संयोजकहरू तथा जेनजी अलाइन्सबाट रिजन रानामगर सहभागी थिए । छलफलमा सहभागीहरूले जेनजीले यसअघि सरकारसँग गरेको १० बुँदे सहमतिलाई रास्वपाले स्वीकार गर्नुपर्ने, साथै जेनजीको भावना र एजेन्डाअनुसार पार्टीको नीति तथा घोषणापत्र तयार गर्नुपर्ने धारणा राखेको जेनजी काउन्सिलका मधेस प्रदेश संयोजक शिव यादवले जानकारी दिए । 

त्यसैगरी उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति स्पष्ट प्रतिबद्धता आवश्यक रहेको बताएका थिए । जवाफमा रास्वपा सभापति रवि लामिछानेले पार्टीको विधानमै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति स्पष्ट प्रतिबद्धता उल्लेख भइसकेको भन्दै यस विषयमा कुनै दायाँबायाँ नहुने विश्वास दिलाएको संयोजक शिव यादवले बताए । 

छलफलमा जेनजी अभियन्ताहरूलाई रास्वपाबाटै सहभागी गराउने विषयमा पनि वार्ता अघि बढाउने सहमति भएको छ। सोही सहमति अनुसार भोलि (साेमबार) रास्वपा र जेनजीबिच औपचारिक वार्ता हुने तय भएको छ।

यसअघि सोमबार मात्रै रास्वपाले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकीकरणको सहमति गरेको थियो। सो सहमति अनुसार घिसिङ रास्वपाको उपसभापतिसहित पार्टीको दोस्रो वरीयताका नेता बनेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप