शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सभा चुनावका लागि गण्डकीमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

बुधबार, १६ पुस २०८२, ११ : ५१
बुधबार, १६ पुस २०८२

सारांश

  • गण्डकी प्रदेशमा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
  • निर्वाचनमा नेकपा माओवादी र नेकपा एमालेका नेताहरूको कार्यकाल सकिएपछि दुई सिट खाली भएका छन्।
  • निर्वाचन अधिकृतले स्वच्छ र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

पोखरा । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय पोखरामा प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

गण्डकी प्रदेशमा २ वटा सिट रिक्त हुँदैछ । अन्य क्लष्टर र महिला खुला क्लष्टरमा निर्वाचन हुनेछ । ६ वर्षअघि निर्वाचित भएका नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेकी नेतृ भगवती न्यौपानेको कार्यकाल सकिएको छ ।

निर्वाचनका लागि पुस २३ मनोनयन दर्ताको तालिका छन् । पुस १९ गते मतदाता नामावली सार्वजनिक गरिने निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिए । आयोगले कास्की जिल्लाका जिल्ला न्यायाधीश हिमलाल बेलबासेलाई निर्वाचन अधिकृत तोकेको छ ।

घोषित निर्वाचन स्वच्छ र भय रहित वातावरणमा सम्पन्न गर्ने बेलबासेले प्रतिबद्धता जनाए । कार्यालयको उद्घाटन गर्दै उनले निर्वाचनमा सघाउन सबैसँग अपिल गरेका छन् ।

गण्डकीमा के छ अंकगणित ?

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्नेछन् । उनीहरूको मतभार फरक हुन्छ । अध्यावधिक विवरण अनुसार प्रदेश सांसदको मतभार ४८ बाट बढेर ५३ पुगेको छ भने स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ बाट बढेर १९ पुगेको छ ।

प्रदेशमा कांग्रेसका २७ सांसद छन् । उनीहरूको मतभार १ हजार ४ सय ३१ हुन्छ । स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये कांग्रेसबाट ६७ जना निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार २ सय ७३ पुग्छ । २२ सांसद रहेको एमालेको प्रदेश सभामा १ हजार १ सय ६६ मतभार छ भने ७० जना स्थानीय तहका जनप्रतिनिधिको १ हजार ३ सय ३० मतभार हुन्छ ।

अहिलेसम्म दलहरू गठबन्धन गर्ने वा एक्लाएक्लै निर्वाचनमा सहभागी हुने कुनै निर्णयमा पुगेका छैनन्, तर हालको गठजोड हेर्दा कांग्रेस र एमालेको गठबन्धनले निरन्तरता पाए अरू दलहरूले गण्डकीबाट राष्ट्रिय सभा सांसद पाउने सम्भावना छैन ।

नेपाली कम्युनिस्ट पार्टीका ७ सांसदको मतभार ३ सय ७१ र स्थानीय तहका ३० जनप्रतिनिधि ९एकीकृत समाजवादीको १ समेत० को ५ सय ७० मतभार हुन्छ । पोखरा महानगरका मेयर धनराज आचार्य एकीकृत समाजवादीबाट निर्वाचित प्रदेशका एक्ला जनप्रतिनिधि हुन् ।

यस्तै राष्ट्रिय जनमोर्चासँग ५७ मतभार छ । स्थानीय तहमा ३ वटा पद जनमोर्चाले जितेको थियो । राप्रपासँग १ सय ६ मतभार छ । प्रदेश सभामा २ सांसद राप्रपाको छ । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०को ५३ मतभार छ । यहाँ एकजना सांसद नयाँ शक्तिका छन् । समग्रमा हिसाब गर्दा कांग्रेसले २ हजार ७ सय ४ मतभार होल्ड गरेको छ । नेकपा एमालेको २ हजार ४ सय ९६ र नेपाली कम्युनिस्ट पार्टीले ९ सय ४१ मतभार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप