बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दाँत माझ्न झन्झट मान्नेका लागि एक मिनेटमै दाँत सफा गर्ने रोबोटिक ब्रस

बुधबार, १६ पुस २०८२, १३ : ५९
बुधबार, १६ पुस २०८२

सारांश

  • जापानी वैज्ञानिकहरूले मुखमा राखेर टोक्ने रोबोटिक ब्रस बनाएका छन्, जसले एक मिनेटमै दाँत सफा गर्छ।
  • यो ब्रसले परम्परागत ब्रसले भन्दा राम्रो काम गर्ने दाबी गरिएको छ र यसले चारवटा मोडहरू प्रदान गर्दछ।
  • यो ब्रस हाल क्राउडफन्डिङ चरणमा छ र यसको मूल्य १९९ अमेरिकी डलर तोकिएको छ।

टोकियो । के तपाईँलाई दिनमा पटक–पटक दाँत माझ्न झन्झट लाग्छ ? यदि त्यसो हो भने जापानी वैज्ञानिकहरूले यसको समाधान निकालेका छन् । जापानको वासेडा विश्वविद्यालयको रोबोटिक्स प्रयोगशालाका वैज्ञानिकहरूले एउटा यस्तो उच्च प्रविधियुक्त रोबोटिक ब्रस बनाएका छन्, जसलाई केवल मुखमा राखेर टोके पुग्छ। यसले कुनै मेहेनत बिना नै करिब एक मिनेटमा दाँत सफा गरिदिन्छ।

‘जी.ईएन’ (g.eN) नाम दिइएको यो रोबोटिक ब्रसमा साना–साना धेरै ब्रसका टाउकाहरू जडान गरिएका छन्। एउटा सानो तर शक्तिशाली मोटरको सहायताले यी ब्रसहरू दायाँ–बायाँ र माथि–मुनि गर्दै दाँतका दुवैतर्फका भागलाई एकैसाथ सफा गर्छन् ।

हातले ब्रस गर्दा कतै सफा हुने र कतै बाँकी रहने समस्यालाई यसले पूर्ण रूपमा समाधान गर्ने दाबी गरिएको छ। २२० ग्राम तौल भएको यो उपकरणलाई युएसबी टाइप–सी केबलबाट चार्ज गर्न सकिन्छ। यसमा इजी, केयरफुल, स्पेसल केयर र चिल्ड्रेन गरी चारवटा मोडहरू उपलब्ध छन्।

जापान सोसाइटी अफ हेल्थकेयर डेन्टिस्ट्रीमा प्रस्तुत गरिएको एक प्रतिवेदन अनुसार यो रोबोटिक ब्रसले दाँतमा जम्ने फोहोर हटाउन परम्परागत ब्रसले जत्तिकै वा सोभन्दा राम्रो काम गर्ने पुष्टि भएको छ । दुईवटा प्याटेन्ट दर्ता गरिसकेको यो ब्रस हाल क्राउडफन्डिङ चरणमा छ र यसले आफ्नो लक्ष्यभन्दा चार गुणा बढी रकम संकलन गरिसकेको छ। अहिले यसको मूल्य ३१,०४२ जापानी येन (करिब १९९ अमेरिकी डलर) तोकिएको छ।

सुरुमा शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई लक्षित गरी बनाइएको भए तापनि अहिले यो उपकरणमा सर्वसाधारणको समेत निकै चासो बढेको छ, विशेषगरी दाँत माझ्न अल्छी गर्ने र आधुनिक प्रविधि रुचाउनेहरूका लागि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप