बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निजी क्षेत्रको मनोबल इतिहासकै न्यून बिन्दुमा छ, निजी क्षेत्र संरक्षण रणनीति ल्याउनु पर्छ : अध्यक्ष ढकाल

बुधबार, १६ पुस २०८२, १६ : ००
बुधबार, १६ पुस २०८२

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकमा निजी क्षेत्रको मनोबल इतिहासकै न्यून बिन्दुमा पुगेको बताएका छन् ।

लगानी र उद्यमशीलताको सुरक्षाका लागि तत्काल ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका हुन् ।

बुधबार महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल’ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारी दस्ताबेजमा लगानी र रोजगारीका कुरा सुनिए पनि व्यवहारमा निजी क्षेत्रले असुरक्षा र अपमान महसुस गरिरहेको बताए । 

लगानीको सुरक्षा र रणनीतिको माग

अध्यक्ष ढकालले निजी क्षेत्रलाई निर्वाध रूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी गर्न मन्त्रिपरिषद्बाटै ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ पारित गर्नुपर्नेमा जोड दिए । 

यस रणनीति अन्तर्गत उद्योग, कलकारखाना र निजी प्रतिष्ठानहरूलाई आक्रमण निषेधित क्षेत्रका रूपमा घोषणा गर्न र व्यवसायीको सुरक्षाका लागि छुट्टै हटलाइन तथा द्रुत सुरक्षा दस्ता तयार पार्न उनले प्रस्ताव गरे । 

“उद्यमीले सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म मुलुकमा लगानी हुँदैन। लगानी नभई रोजगारी हुँदैन,” अध्यक्ष ढकालले भने, “अहिले बैंकहरूसँग ११ खर्ब रुपैयाँ लगानीका लागि तयार छ, तर निजी क्षेत्र ढुक्क भएर ऋण लिन र लगानी गर्न सक्ने अवस्थामा छैन ।” 

आन्दोलनबाट १२१ अर्बको क्षति

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको घुसपैठ र विध्वंसले निजी क्षेत्रलाई निकै ठुलो चोट पुर्‍याएको तथ्याङ्क उनले प्रस्तुत गरे। महासङ्घको अध्ययन अनुसार उक्त आन्दोलनमा निजी क्षेत्रले ४० अर्ब रुपैयाँको प्रत्यक्ष भौतिक क्षति र झन्डै ८१ अर्ब रुपैयाँ बराबरको व्यावसायिक नोक्सानी व्यहोर्नु परेको छ। दोषीहरूलाई कारबाही नहुँदा दण्डहीनता मौलाउने र यसले पुँजी पलायनको जोखिम बढाउने उनको चेतावनी थियो । 

अर्थतन्त्रको भयावह चित्र

अध्यक्ष ढकालले पछिल्लो डेढ वर्षदेखि सरकार करिब डेढ खर्ब रुपैयाँले घाटामा रहेको र राजस्वले कर्मचारीको तलब भत्ता समेत पुर्‍याउन मुस्किल परेको अवस्था चित्रण गरे। अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिने निजी क्षेत्र सङ्कुचित हुँदा युवाहरू बिदेसिन बाध्य भएको उनको भनाइ थियो । 

मिडिया र राजनीतिक दललाई आग्रह

उनले राजनीतिक दलहरूलाई अर्थतन्त्रको एजेन्डालाई साझा एजेन्डा बनाउन र मिडियालाई लगानीमैत्री वातावरण निर्माणका लागि जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे। “पत्रकारको एक गलत सूचनाले हजारौँको रोजगारी र अर्बौँको लगानी जोखिममा पर्न सक्छ,” उनले भने ।

अध्यक्ष ढकालले निजी क्षेत्रकै पुँजी परिचालन गरी ठुला पूर्वाधारमा लगानी गर्न नेपाल डेभलेपमेन्ट पब्लिक लिमिटेड स्थापना गरिएको जानकारी दिँदै प्राइभेट सेक्टर पावर्स द नेशन भन्ने मूल मन्त्रलाई आत्मसात् गर्न सबैलाई आह्वान गरे । 

निर्धारित समयमै निर्वाचन भई राजनीतिक स्थायित्व कायम हुनुपर्ने र निजी क्षेत्रलाई समृद्धिको सारथीका रूपमा सम्मान गरिनुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप