शरदले सुरु गरे अनलाइन क्रिकेट मेन्टरिङ र कोचिङ प्लेटफर्म
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व अलराउन्डर शरद भेषावकरले नयाँ वर्ष २०२६ को अवसर पारेर अनलाइन मेन्टरिङ र कोचिङ प्लेटफर्मको घोषणा गरेका छन्।
उनले क्रिकेटका प्राविधिक पक्षदेखि मानसिक स्वास्थ्यसम्मका विषयलाई समेट्दै व्यावसायिक कोचिङ सुरु गरेका हुन्।
भेषावकरले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै यस नयाँ सुरुवातबारे जानकारी दिएका हुन्। यस प्लेटफर्ममार्फत भेषावकरले व्यक्तिगत रूपमा ब्याटिङ, बलिङ र फिल्डिङको विश्लेषण गर्नेछन्।
यसका साथै खेलका रणनीति, म्याच अवेरनेस, स्ट्रेन्थ एण्ड कन्डिसनिङ, रिकभरी र स्पोट्र्स न्युट्रिसन जस्ता महत्त्वपूर्ण पक्षमा उनले खेलाडीहरूलाई मार्गदर्शन दिनेछन्।
क्रिकेटको प्राविधिक पक्षबाहेक उनले खेलको मानसिक पाटोमा पनि विशेष जोड दिने बताएका छन्। अनलाइनका अतिरिक्त खेलाडीको स्तर हेरेर आवश्यकता अनुसार अफलाइन सेसनहरू पनि सञ्चालन गरिने उनको योजना छ।
यो कार्यक्रम खेलाडीहरूका लागि मात्र नभई आफ्ना सन्तानलाई क्रिकेटमा भविष्य बनाउन चाहने अभिभावकहरूका लागि पनि केन्द्रित रहेको उनले उल्लेख गरेका छन्।
यसबाहेक शरदले कर्पोरेट हाउस, कलेज र विद्यालयहरूका लागि लिडरसिप प्रोग्राम र आर्ट अफ लिभिङको ‘ह्याप्पिनेस प्रोग्राम’ का कक्षाहरू पनि सञ्चालन गर्नेछन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण