बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

दुबईमा ८ वर्ष लुकेका थिए गौचन हत्यामा संलग्न जावेद

बिहीबार, १७ पुस २०८२, १५ : २५
बिहीबार, १७ पुस २०८२

सारांश

  • नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न जावेद अनवर दीनलाई युएईबाट पक्राउ गरिएको छ।
  • २०७४ मा काठमाडौँको बानेश्वरमा गौचनको हत्या भएको थियो, जसमा जावेद पनि संलग्न थिए।
  • जावेद गौचनको हत्यापछि दुबईमा लुकेर बसेका थिए र उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरिएको हो।

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न एक जनालाई हालै प्रहरीले युएईबाट इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको छ ।

काठमाडौँको बानेश्वरमा २०७४ असोज २३ मा गौचनमाथि गोली प्रहार भएको थियो । हत्यामा संलग्न मुख्य योजनाकार समिरमान सिंह बस्नेत सहितका प्रतिवादी अहिले कारागारमा छन् ।

हत्यामा संलग्नमध्येका जावेद अनवर दीन चाहिँ पक्राउ परेका थिएनन् । बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नम्बर–२ श्रीनगर घर भएका जावेदलाई युएईबाट पक्राउ गरी पुस १४ मा काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । उनलाई इन्टरपोलको अबुधाबी युएई शाखाको समन्वयमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । गुण्डागर्दीमा संलग्न जावेद गौचन हत्यामा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनी प्रहरी इन्काउण्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’का साथी हुन् । गौचनको हत्यापछि दुबई पुगेका जावेदले त्यहाँबाट नेपालका व्यवसायीलाई धम्की दिने गरेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

जावेदलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ । अनुसन्धानबाट गौचन हत्यामा संलग्न देखिएपछि उनलाई त्यसबेला नै प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको सीआईबीका प्रमुख (एआईजी) डा. मनोज केसीले रातोपाटीलाई बताए । उनले भने, ‘जावेदलाई हामीले अदालतमा उपस्थित गराएका छौँ, थुनछेक बहस हुँदैछ ।’

गौचन हत्यापछि फरार भएका जावेद ८ वर्षसम्म दुबईमा लुकेर बसेका थिए । हत्यामा संलग्नमध्येका झापा घर भएका सोम तामाङ ‘लोप्साङ’, काठमाडौँका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर राना २०७४ कात्तिक १२ मा पक्राउ परेका थिए । मुख्य योजनाकार समिरमान सिंह बस्नेत २०७४ मंसिरमा पक्राउ परेका थिए ।

अहिले पक्राउ परेका जावेदविरुद्ध अदालतमा संगठित अपराध, ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ ‘एक्स्टर्सन’ विरुद्धको मुद्दा विचाराधीन छ । उनीविरुद्ध २०७७ भदौ ८ मा इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप