शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शौचालयमा चुरोट पिए ढोका पारदर्शी हुने, चीनको सपिङ सेन्टरले अपनायो अनौठो जुक्ति

बिहीबार, १७ पुस २०८२, १६ : १६
बिहीबार, १७ पुस २०८२

काठमाडाैँ । चीनको सेन्जेनस्थित सुइबेई इन्टरनेशनल सेन्टरले सार्वजनिक शौचालयमा चुरोट पिउने बानीलाई निरुत्साहित गर्न एउटा अनौठो प्रविधि जडान गरेको छ। 

सपिङ सेन्टरको पुरुष शौचालयमा यस्ता विशेष ढोकाहरू राखिएका छन्, जसले चुरोटको धुवाँ पत्ता लगाउने बित्तिकै ढोकालाई पारदर्शी बनाइदिन्छन्। 

शौचालयको ढोकामा ‘चुरोट पिउनाले सिसा पारदर्शी बनाउँछ’ भन्ने चेतावनीमूलक सन्देश समेत टाँसिएको छ। यसअघि शौचालय भित्र चुरोट पिउनेहरूलाई जरिवाना गर्ने र केही समयका लागि प्रवेशमा प्रतिबन्ध लगाउने जस्ता उपाय अपनाए पनि त्यो प्रभावकारी नभएपछि सपिङ सेन्टरले यो नयाँ जुक्ति निकालेको हो। शौचालयको ढोकामा एउटा विशेष सिसाको झ्याल छ, जसमा ‘सिल्भर हेलाइड’ नामक यौगिक प्रयोग गरिएको छ। सामान्य अवस्थामा यो सिसा धमिलो हुन्छ र भित्रको केही देखिँदैन। 

तर, जब सेन्सरले शौचालयभित्र धुवाँ वा ताप पत्ता लगाउँछ, सिसाका अणुहरूले तुरुन्तै प्रतिक्रिया जनाउँछन् र सिसा वारपार देखिने गरी सफा हुन्छ।

यति मात्र नभई, धुवाँ देखिएपछि शौचालयमा ठुलो आवाजमा चेतावनीमूलक सन्देश पनि बज्ने गर्छ। उक्त सन्देशमा सार्वजनिक स्थलमा धूम्रपान निषेध गरिएको र स्वास्थ्यका लागि चुरोट नपिउन आग्रह गरिएको हुन्छ। 

सपिङ सेन्टरका प्रवक्ताका अनुसार मानिसहरूलाई सार्वजनिक रूपमा नङ्गेझार हुने डर देखाएर यो खराब बानी सुधार्ने प्रयास गरिएको हो। ढोकामा लेखिएको अर्को बोर्डमा ‘तपाईं इन्टरनेटमा भाइरल हुन चाहनुहुन्न भने चुरोट पिउने इच्छालाई नियन्त्रण गर्नुहोस्’ भन्ने व्यङ्ग्य समेत गरिएको छ।

यो प्रविधि चीनको सामाजिक सञ्जालमा भाइरल बनेको छ र यसले ठुलो बहस सिर्जना गरेको छ। धेरैले यसलाई शौचालयमा हुने धूम्रपान रोक्ने प्रभावकारी तरिका भनेर प्रशंसा गरेका छन् भने कतिपयले व्यक्तिको गोपनीयताको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन्। 

प्रविधिले झुक्किएर काम गर्दा वा कसैले बाहिरबाट धुवाँ पठाएर प्रणालीलाई दुरुपयोग गर्दा निर्दोष व्यक्ति अप्ठ्यारोमा पर्न सक्ने प्रश्नहरू पनि उठेका छन्। हाल यो प्रविधि परीक्षणकै क्रममा छ र सार्वजनिक प्रतिक्रिया सकारात्मक रहेमा यसलाई स्थायी रूपमा लागू गरिने बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप