उज्बेकिस्तानकी पूर्वमोडलको खुलासाः जेल सजायका बेला पनि एप्स्टिनले यौनशोषण गरिरहे
न्युयोर्क । सन् २००९ को गर्मीयाममा फ्लोरिडाको पाम बिच सहरको केन्द्रस्थित एउटा अग्लो कार्यालय भवनमा रोजा गिल्स आफ्नो नयाँ कामको पहिलो दिन पुगेकी थिइन् । उनी त्यहाँ पुग्दा एउटी महिला जेफ्री एप्स्टिनको खुट्टाको मालिस गरिरहेकी थिइन् ।
त्यतिबेला १८ वर्षकी गिल्स केही समयअघि मात्र मोडलिङ करिअर बनाउन अमेरिकामा आएकी थिइन् । उज्बेकिस्तानमा एउटा फेसन कार्यक्रममा पर्दापछाडि एप्स्टिनसँग सम्बन्ध रहेका एक मोडलिङ एजेन्टले उनलाई सम्पर्क गरेका थिए । अमेरिका पुगेपछि मोडलिङ एजेन्सीले भिसा र घरभाडाको नाममा उनीमाथि हजारौं डलरको ऋण थोपरेको थियो ।
आर्थिक समस्याले थिचिएकी गिल्स फेरि एसिया फर्किने सोचमा थिइन्, जहाँ किशोरावस्थामै उनले सफल मोडलिङ करिअर बनाएकी थिइन् । तर एप्स्टिनले आम्दानी बढाउन सप्ताहन्तमा आफ्नो कार्यालयमा रिसेप्सनिस्टको रूपमा काम गर्ने प्रस्ताव दिए ।
एक दिन १४औँ तलास्थित कार्यालयको कोठामा एप्स्टिनसँग बसिरहेकी गिल्सलाई त्यही महिला आफ्नो छेउमा बस्न आग्रह गरिन् । एप्स्टिनले आफ्नो खुट्टा उनकोतर्फ बढाए । त्यस क्रममा गिल्सको ध्यान एप्स्टिनको खुट्टामा बाँधिएको कालो प्लास्टिकको पट्टी र त्यसमा जोडिएको झिम्किने बत्ती भएको सानो उपकरणतर्फ गयो । उनले त्यो के हो भनेर सोध्दा एप्स्टिन र ती महिला हाँसे । त्यसपछि एप्स्टिनले उनलाई आफ्नो सर्ट खोल्न आदेश दिए ।
‘म एकाएक स्तब्ध भएँ,’ गिल्सले भनिन्, ‘त्यसपछि ती महिला मेरो नजिक आइन्, मेरो ब्लाउजका बटन खोल्न थालिन् । उनले ब्लाउज फुकालिन्, त्यसपछि ब्रा पनि हटाइन् र कोठाबाट बाहिर निस्किइन् ।’
त्यही दिन एप्स्टिनले पहिलोपटक गिल्समाथि यौन आक्रमण गरे । त्यसपछि वर्षौंसम्म बलात्कार र यौन शोषणको सिलसिला चलिरह्यो । केही समयपछि मात्र गिल्सले एप्स्टिनले लगाएको उपकरण वास्तवमा ‘एन्कल मोनिटर’ भएको र उनी नाबालिग युवतीसँग वेश्यावृत्ति गराएको अभियोगमा जेल सजाय भोगिरहेका रहेछन् भन्ने थाहा पाइन् ।
गिल्स स्वर्गीय एप्स्टिनबाट यौन शोषणमा परेका असंख्य महिलामध्ये एक हुन् । उनले पहिलोपटक आफ्नो सम्पूर्ण अनुभव सार्वजनिक रूपमा सीएनएनसँग साझा गरेकी हुन् । उनको कथाले फ्लोरिडामा सन् २००८ मा भएको विवादास्पद ‘प्लिया डिल’ को वास्तविकता उजागर गर्छ । उक्त सम्झौताअनुसार एप्स्टिनले आफ्नो सजायको अधिकांश समय जेलबाहिर बिताउन पाएका थिए ।
त्यही व्यवस्थाले सजाय भोगिरहेका बेला समेत एप्स्टिनलाई युवतीहरूमाथि यौन शोषण जारी राख्ने अवसर दिएको थियो । गिल्सजस्ता विदेशी मोडलहरू पनि त्यसका सिकार बने । पीडितहरूका अनुसार कतिपय घटनामा ‘पाम बिच काउन्टी’का ‘शेरिफ कार्यालय’का एक अधिकारी छेउको कोठामै उपस्थित हुँदा पनि दुव्र्यवहार हुने गरेको थियो ।

‘दोषी ठहर भएपछि पनि उनले आफ्नो व्यवहार परिवर्तन गरेनन् । उनी पहिलेजस्तै सबै क्रियाकलाप गरिरहे,’ गिल्सले भनिन्, ‘उनलाई कुनै पश्चाताप थिएन । उनले ममाथि गरेका कामले मलाई अत्यन्त पीडा दियो । त्यसले मेरो जीवनमा यस्तो गहिरो घाउ बनाएको छ, जसबाट म जति प्रयास गरे पनि कहिल्यै पूर्ण रूपमा मुक्त हुन सक्दिनँ ।’
आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा सीएनएनसँग कुरा गरेका अन्य दुई महिलाले पनि फ्लोरिडा साइन्स फाउन्डेसनको कार्यालयमै एप्स्टिनबाट यौन शोषणमा परेको बताएका छन् । सन् २००७ नोभेम्बरमा स्थापना गरिएको उक्त गैरनाफामूलक संस्थाले वैज्ञानिक अनुसन्धानका लागि अनुदान दिने दाबी गरेको थियो । महिलाहरूका अनुसार १४औँ तलाको कार्यालयमा लिफ्टमार्फत सजिलै पुग्न सकिन्थ्यो र कामका दिनहरूमा त्यहाँ मानिसहरूको आउजाउ भइरहन्थ्यो । कार्यालयका विभिन्न स्थानमा च्याउजस्ता देखिने सेता ‘ह्वाइट न्वाइज’ मेसिनहरू राखिएका थिए ।
उनीहरूका अनुसार एप्स्टिनले त्यहाँ बिताउने दिनहरूको एउटा निश्चित दिनचर्या थियो । बिहान कफी र मफिन खाने उनी पाम बिच स्टकाड नामक न्यून सुरक्षा भएको जेलमा राम्रोसँग निद्रा नलाग्ने गुनासो गर्थे र सम्मेलन कक्षमा राखिएको फ्युटनमा नियमित रूपमा सुत्थे ।
एक महिलाले एप्स्टिनको एन्कल मोनिटर बेला–बेला बज्ने र त्यसलाई पुनः सक्रिय बनाउन उनी हतारिँदै बाहिर निस्किने गरेको घटना स्पष्ट रूपमा सम्झिएको बताइन् । त्यस अवधिमा पनि एप्स्टिनको व्यवहार निर्लज्ज र निडर थियो । पीडितहरूका अनुसार वेस्ट पाम बिचस्थित उनको घर होस् वा कार्यालय, कहिलेकाहीँ नजिकै बर्दीधारी प्रहरी उपस्थित हुँदा पनि उनले यौन दुव्र्यवहार गर्थे । ती अधिकारीहरू दर्ता भएका यौन अपराधी एप्स्टिनमाथि निगरानी राख्न खटाइएका थिए ।
फ्लोरिडा साइन्स फाउन्डेसनको कार्यालयमा पालैपालो आउने प्रहरीहरू प्रवेशद्वार नजिकै बस्ने गर्थे । दुई महिलाले ती प्रहरीहरू एप्स्टिनसँग डराएको जस्तो देखिने गरेको बताए । उनीहरूका अनुसार त्यहाँ कसको आदेश चल्थ्यो भन्नेमा कुनै द्विविधा थिएन, एप्स्टिन नै सबैभन्दा शक्तिशाली व्यक्ति थिए ।
गिल्सका लागि बर्दीधारी अधिकारीसँगको एउटा घटना विशेष रूपमा स्मरणीय छ । सन् २००९ को गर्मीयाममा उनी प्रत्येक हप्ता एप्स्टिनको वेस्ट पाम बिचस्थित आलिशान घरमा जान्थिन् । एक बिहान उनी तल झर्दा भान्सामा एक जना शेरिफ अधिकारीजस्तो देखिने व्यक्ति उभिएको देखिन् । उनलाई तत्काल आशा जाग्यो ।
‘मैले मनमनै सोचें, ‘भगवानलाई धन्यवाद, आजबाट यो सबै अन्त्य हुन्छ,’ उनी सुनाउँछिन् ।
तर उनले ती अधिकारीलाई एप्स्टिनसँग हाँस्दै गफ गरिरहेको, शुभदिन भन्दै बाहिर निस्किएको देखिन् र आफूसँग तिनले एक शब्द पनि बोलेनन् । ‘त्यो शेरिफ अधिकारीलाई देखेपछि मैले उसको आशय बुझें कि एप्स्टिनले जे गरे पनि यो मानिसले कहिल्यै पक्राउ पर्ने छैन,’ गिल्सले भनिन्, ‘उसलाई कसैले रोक्ने छैन । तपाईंले संसारको सबैभन्दा अग्लो ठाउँबाट कराए पनि कसैले वास्ता गर्ने छैन ।’

एप्स्टिनको विवादास्पद ‘वर्क रिलिज’ कार्यक्रम
रोजा गिल्स र अन्य पीडित महिलाहरूले जेल सजाय भोगिरहेका बेला पनि जेफ्री एप्स्टिनबाट आफूहरू यौन शोषणमा परेको बताएका घटनाले सन् २००८ मा तत्कालीन अमेरिकी सरकारी वकिल एलेक्स अकोस्टासँग एप्स्टिनले गरेको विवादास्पद ‘प्लिया डिल’माथि गम्भीर प्रश्न उठाएको छ ।
फ्लोरिडा अधिकारीहरूले सन् २०२१ मा सार्वजनिक गरेको एप्स्टिनको ‘वर्क रिलिज’ कार्यक्रमसम्बन्धी समीक्षा प्रतिवेदनअनुसार उनले सन् २००८ को अक्टोबरदेखि फ्लोरिडा साइन्स फाउन्डेसनका अध्यक्षका रूपमा पूर्णकालीन काम गर्न थालेका थिए ।
कार्यक्रमको पहिलो छ महिनासम्म उनलाई सोमबारदेखि शनिबारसम्म बिहान १० बजेदेखि राति १० बजेसम्म फाउन्डेसनको कार्यालयमा बस्न अनुमति दिइएको थियो । मे २००९ मा यो समयावधि अझै विस्तार गरियो, जसअनुसार उनलाई दिनको केवल आठ घण्टा मात्रै जेलमा बस्नुपर्ने व्यवस्था गरियो । त्यसको अर्को महिनादेखि त कार्यक्रम अझ फराकिलो बनाइयो र उनलाई सातै दिन फाउन्डेसनमा काम गर्न छुट दिइयो ।
घरमै नजरबन्दमा रिहा हुनुअघि अन्तिम दुई सातासम्म एप्स्टिनलाई प्रत्येक दिउँसो दुई घण्टाका लागि वेस्ट पाम बिचस्थित आफ्नै आलिशान निवासमा जान पनि अनुमति दिइएको थियो । उनको ‘वर्क रिलिज’ कार्यक्रमसँग धेरै सर्तहरू जोडिएका थिए । तीमध्ये उनले केवल व्यावसायिक साझेदारहरूसँग मात्र भेट्न पाउने, जुलाई २००९ सम्म अनिवार्य रूपमा एन्कल मोनिटर लगाउनुपर्ने, परिवार, साथीभाइ, प्रेमिका वा नाबालिग व्यक्तिसँग सम्पर्क गर्न नपाउने जस्ता सर्तहरू थिए ।
एप्स्टिनका वकिल र पाम बिच काउन्टी शेरिफ कार्यालय –पिबिएसओ) बीच अर्को सम्झौता पनि भएको थियो । त्यसअनुसार एप्स्टिनले कार्यालयमा आउने–जाने आगन्तुकको अभिलेख राख्नका लागि ड्युटी सकिएका शेरिफका सहायक अधिकारीहरू (‘परमिट डेपुटी’) नियुक्त गर्नुपर्ने थियो ।
फ्लोरिडा साइन्स फाउन्डेसनको तर्फबाट एप्स्टिनका वकिलले यस्तो व्यवस्थाका लागि शेरिफ कार्यालयलाई कुल १ लाख २८ हजार १३६ अमेरिकी डलर भुक्तानी गरेका थिए । यो जानकारी फ्लोरिडा डिपार्टमेन्ट अफ ल इन्फोर्समेन्ट (एफडीएलडी) को प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदनअनुसार शेरिफ कार्यालयले ४९४ वटा आगन्तुक अभिलेखको समीक्षा गर्दा अनुमति नदिइएका व्यक्तिसँग एप्स्टिनको सम्पर्क भएको कुनै प्रमाण फेला परेन । पछि ती अभिलेखहरू कार्यालयको नीतिअनुसार नष्ट गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१९ मा एप्स्टिनविरुद्ध नयाँ अभियोग दर्ता भएको केही दिनपछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो प्रशासनमा श्रम सचिव रहेका एलेक्स अकोस्टाले पदबाट राजीनामा दिएका थिए । सन् २०२० मा अमेरिकी न्याय मन्त्रालयले गरेको समीक्षा प्रतिवेदनले सन् २००८ को उक्त सम्झौतामा अकोस्टाले ‘कमजोर निर्णय क्षमता’ देखाएको निष्कर्ष निकालेको थियो । विशेषगरी एप्स्टिनविरुद्ध संघीय मुद्दा नचलाउने निर्णयबारे आफूहरू यौन शोषणमा परेको दाबी गर्ने किशोरी र युवतीहरूलाई जानकारी नदिएको विषयमा उनको आलोचना गरिएको थियो । तर प्रतिवेदनले अकोस्टा वा अन्य सरकारी वकिलहरूले व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेको निष्कर्ष भने निकालेन ।
सन् २०१९ को डिसेम्बरमा, न्यूयोर्कको जेलमा एप्स्टिनले आत्महत्या गरेको चार महिनापछि, पाम बिच काउन्टी शेरिफ कार्यालयले आफ्नो ‘वर्क रिलिज’ कार्यक्रम पूर्ण रूपमा बन्द गर्यो । सन् २०२१ को एफडिएलडि प्रतिवेदनले एप्स्टिनको ‘वर्क रिलिज’ वा ‘परमिट डेपुटी’ कार्यक्रममा संलग्न शेरिफ कार्यालयका कुनै पनि सदस्यको आपराधिक संलग्नता फेला नपरेको जनाएको छ ।
मोडलिङ एजेन्सीको नियन्त्रणमा
एप्स्टिनको ‘वर्क रिलिज’ कार्यक्रमका सर्तहरूले गिल्सजस्ता युवा विदेशी मोडलहरूलाई उनको सजिलो लक्ष्य बनाइदिएको थियो । गिल्सका अनुसार सन् २००८ मा उज्बेकिस्तानमा आयोजित एक फेसन शोको पर्दापछाडि फ्रान्सेली मोडलिङ एजेन्ट जाँ–लुक ब्रुनेलले उनीसँग सम्पर्क गरेका थिए ।
ब्रुनेलले आफू न्यूयोर्कस्थित एमसी–टु मोडल म्यानेजमेन्टका मालिक भएको परिचय दिँदै त्यहीँ उनलाई मोडलिङ सम्झौताको प्रस्ताव गरेका थिए । पछि मात्रै गिल्सले एप्स्टिन उक्त कम्पनीका प्रमुख आर्थिक सहयोगीमध्ये एक रहेको थाहा पाइन् ।
गिल्सका अनुसार उनले हस्ताक्षर गरेको सम्झौताले उनको जीवनका हरेक पक्षमाथि एजेन्सीको नियन्त्रण स्थापित गरिदिएको थियो । अमेरिका पुगेलगत्तै उनीमाथि भिसाका लागि चार हजार अमेरिकी डलर र म्यानहटनस्थित भीडभाडयुक्त मोडलहरूको अपार्टमेन्टको मासिक घरभाडा १,५०० डलर तिर्नुपर्ने ऋण थपियो । त्यहाँ धेरै युवतीहरू एउटै कोठामा दुईतले ओछ्यानमा सुत्ने गर्थे ।
ऋण यति धेरै बढ्यो कि उज्बेकिस्तानमा रहेका उनका आमाबुबाले एक वर्षमा पनि त्यति रकम कमाउने कल्पना गर्न सक्दैनथे । अमेरिका आएको केही महिनापछि गिल्सले एमसी–टु को मियामी कार्यालयमा ब्रुनेलको अगाडि रोएकी थिइन् । उनका परिवार उनको आम्दानीमै निर्भर थिए । तर त्यतिबेलासम्म उनी करिब १० हजार डलर ऋणमा डुबिसकेकी थिइन् र मोडलिङका कामसमेत पाइरहेकी थिइनन् । उनले आफू सफल भएको एसियाली बजारमा फर्किने प्रस्ताव राखेकी थिइन्, तर एजेन्सीले त्यसलाई अस्वीकार गरिदिएको थियो ।
‘जाँ–लुक ब्रुनेलले मलाई हेरेर भने, ‘तिमी धेरै दुःखी देखिएकी छौ, एकछिन पर्ख ।’ त्यसपछि उनले फोन गरे, केहीबेरपछि फोन राखे र भने, ‘मैले मिलाइदिएँ । मैले तिम्रा आमाबुबालाई ६ सय डलर पठाइदिएको छु,’ गिल्सले सम्झिइन् ।
उनी छक्क परिन्, किनभने केही मिनेटमै उज्बेकिस्तानमा रहेको उनको परिवारले साँच्चिकै ६ सय डलर प्राप्त गरेको खबर आयो । ‘मैले मनमनै सोचें, यो के भयो ? उनले कसलाई फोन गरे ? अमेरिकामा रहेका कुनै साथीलाई, कि सरकारी कुनै व्यक्तिलाई ?’ गिल्सले भनिन् ।
त्यस घटनाले एउटा स्पष्ट सन्देश दिएको थियो । उनी पूर्ण रूपमा एजेन्सीको नियन्त्रणमा थिइन्, र त्यसको अर्थ एप्स्टिनको नियन्त्रणमा पनि थिइन् । सन् २०२२ मा बलात्कार र यौन आक्रमणको आरोपमा पक्राउ परेका ब्रुनेल आफ्नै जेल कोठामा मृत अवस्थामा फेला परेका थिए । सन् २००९ को गर्मीयाममा गिल्सलाई एउटा फोटोसुटका लागि वेस्ट पाम बिच जान निर्देशन दिइयो ।
फोटोसुट भएको विशाल सेतो महल एप्स्टिनकै थियो । त्यहाँ एप्स्टिनसँग पहिलो छोटो भेटपछि गिल्सलाई स्थायी रूपमा मियामी सार्ने प्रक्रिया सुरु गरियो । एप्स्टिनले उनलाई साताको दिन मोडलिङ गर्ने र सप्ताहन्तमा फ्लोरिडा साइन्स फाउन्डेसनमा कार्यालयको काम गर्ने प्रस्ताव दिएका थिए । तर गिल्सलाई त्यो प्रस्ताव कुनै पनि हिसाबले तर्कसंगत लागेन ।
‘मोडल बन्नका लागि मैले अडिसन दिनुपर्छ, पोर्टफोलियो बनाउनुपर्छ र धेरै काम गर्नुपर्छ । तर तपाईं मलाई कार्यालयको जागिर दिँदै हुनुहुन्छ । यसले मेरो मोडलिङ करियरलाई कसरी सहयोग गर्छ भन्ने मैले बुझिनँ,’ उनले भनिन् ।
‘म एक्लै थिएँ, मसँग पैसा थिएन । अनि एउटा व्यक्तिले आफ्नो काम गर्नका लागि अर्को काम पनि गर्नुपर्छ भनिरहेको थियो ।’
गिल्सका अनुसार फ्लोरिडा साइन्स फाउन्डेसनमा पहिलोपटक यौन आक्रमण गरेपछि प्रत्येक सप्ताहन्त उनी वेस्ट पाम बिचमा यौन दुव्र्यवहार र बलात्कारको सिकार बन्न थालिन् । फ्लोरिडामा एप्स्टिनको घर नजरबन्द समाप्त भएपछि सन् २०१० मा उनी न्यूयोर्क फर्किन पाएकी थिइन् । तर त्यसपछि पनि उनले भोगेको दुःस्वप्न समाप्त भएन ।
सीएनएनबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण