शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

पाँचौँ पटक थपिएको म्यादमा पनि सकिएन संसद् भवनको काम, छैटौँ पटक थप्ने तयारी

बिहीबार, १७ पुस २०८२, १८ : १२
बिहीबार, १७ पुस २०८२

सारांश

  • सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको निर्माण म्याद छैटौँ पटक थप्ने तयारी भइरहेको छ।
  • निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन दिएका छन्, तर कति समय थप्ने भन्ने छलफल जारी छ।
  • २०७६ मा शिलान्यास भएको भवनको निर्माण तीन वर्षमा सक्ने सम्झौता भए पनि पटक-पटक म्याद थपिएको छ।

काठमाडौँ । सिंहदरबार परिसरमा बन्दै गरेको नयाँ संसद भवनको पाँचौ म्याद सकिएको छ । तर हालसम्म पनि निर्मााण सम्पन्न हुन नसकेपछि छैटौँ पटक म्याद थप्ने तयारी भइरहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । 

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका सूचना अधिकारी रञ्जनकुमार दासले निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन दिएको जानकारी दिए । 

दासले भने,‘निर्माण व्यवसायीले म्याद थपका लागि  निवेदन दिइसकेका छन् । कति समयका लागि म्याद थप्ने वा के–कसरी अघि बढ्नेबारे  छलफल भइरहेको छ ।’

छलफलकै चरणमा रहेकाले म्याद थप गरेर कसरी अघि बढ्ने अहिले कुनै जानकारी दिन नसकिने दासले बताए । 

पुस १६ गतेसम्म संसद् भवन निर्माणकाे अन्तिम म्याद भएपनि काम भने सम्पन्न हुन सकेन । यसको समग्र भौतिक प्रगति कति पुग्यो यसबारे पनि अपडेट लिन बाँकी रहेको उनले बताए । 

२०७६ असोज १ गते शिलान्यास भएको १५ दिनपछि अर्थात् असोज १६ गते उक्त भवन निर्माणका लागि आईसीबी (बहुवर्षीय) मोडलमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी टुन्डी सेक जेभीसँग उक्त सम्झौता भएको हो ।

प्रारम्भिक सम्झौता अनुसार २०७९ असोज १६ गते निर्माण सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण ढिलाइ भएको भन्दै पहिलोपटक उक्त ठेक्काको म्याद थपियो । ६ महिना म्याद थप गरिएपछि निर्माण सम्पन्न गर्नुपर्ने म्याद २०८० वैशाख १४ गते कायम भएको थियो ।

पहिलोपटक म्याद सकिँदा निर्माण सम्पन्न नभएपछि कुनै पनि कारणविना दोस्रो पटकका लागि फेरि ६ महिना म्याद थप गरिएको थियो । 

तेस्रो पटक २०८० असोज २० गतेदेखि सोही वर्षको चैत १९ गतेसम्म म्याद थपिएको थियो । चौथो पटक थपिएको म्याद अनुसार २०८१ चैत १८ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । त्यो म्याद गुज्रिएको पछि २०८२ पुस १६ सम्मका लागि म्याद थपिएको थियो । तर यो म्यादमा पनि सम्पन्न हुन सकेन । 

साथै उक्त भवन निर्माण सम्पन्न  हुन नसके आसन्न फागुन २१ चुनाव पछि  प्रतिनिसभा बैठक सञ्चालनका लागि भवनको अभाव झेल्नुपर्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप