‘सम्पूर्ण अटो व्यवसायीलाई एउटै छानामुनि ल्याउन हरसम्भव प्रयास गर्नेछु’
काठमाडौं । अटो व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । उनीसहित १७ जनाको कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित कार्यसमितिले पुस २५ गतेबाट मात्रै कार्यभार सम्हाल्ने तयारी छ ।
पाँच दशक लामो इतिहास बोकेको नाडामा पुराना र ठुला व्यापारिक घराना नेतृत्वबाट अलग भएका छन् । नाडाको ४५औँ वार्षिक साधारणसभामा सानो व्यवसाय र मोफसल क्षेत्रबाट उदाएका ध्रुव थापा अध्यक्ष बने । ४७औं वार्षिक साधारणसभाबाट पुरानो र ठुला व्यापारिक घरानाका करण चौधरी अध्यक्ष भएका थिए । तर ४९ औँ साधारणसभामा आइपुग्दा नाडाको अध्यक्षमा स्पेयर पार्ट्स व्यवसायी उप्रेती निर्वाचित भएका छन् । उनी नेतृत्वमा आएसँगै पुराना र ठुला व्यापारिक घराना बाहिर रहे ।
अध्यक्ष उप्रेती अटो स्पेयर पार्ट्स व्यवसायी हुन् । एसटीसी ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका उप्रेती यसअघि नाडाको महासचिव थिए । स्पेयर पार्ट्स व्यवसायबाट अटोमोबाइल क्षेत्रमा प्रवेश गरेका उप्रेतीले नाडालाई आगामी दिनमा कसरी अगाडि बढाउँछन् ? अटो बजारमा देखिएको शिथिलता चिर्न उनको योजना के छ ? यिनै विषयमा केन्द्रित रहेर नाडाका नवनिर्वाचित अध्यक्ष उप्रेतीसँग गरिएको कुराकानीको सम्पादित अंश :
तपाईं नाडा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । अटोमोबाइल क्षेत्रमा दुईवटा धार (समूह) देखिएको अवस्था छ । नाडा छाडेर अटोमोबाइल आयातकर्ताहरुले ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) स्थापना गरेका छन् । यस्तो अवस्थामा नाडालाई कसरी अगाडि बढाउने योजना बनाउनुभएको छ ?
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एउटै संस्था हो । नाडा कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम दर्ता भएको र लामो इतिहास बोकेको संस्था हो । अहिलेको अवस्थामा नाडासँग आबद्ध नभएका वा असन्तुष्टिका कारण बाहिर रहेका साथीहरू पनि हुनुहुन्छ । उहाँहरूले नाडामा रहेर पनि आफ्ना कुरा व्यक्त गर्न नसकेको अवस्था हामीले देखेका छौँ । मेरो मुख्य योजना भनेको सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई एकै ठाउँमा ल्याउनु हो ।

अटो व्यवसायीबिच नै अस्वस्थ प्रतिस्पर्धा भयो भने व्यवसाय धरासायी हुन्छ । त्यसैले नाडालार्ई बलियो बनाउँदै व्यवसायको हकहित सुनिश्चित गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ । सबैलाई एउटै सूत्रमा बाँधेर सबैको भावना समेटेर नाडालाई साझा संस्था बनाउने मेरो पहिलो उद्देश्य रहन्छ । पहिलो प्राथमिकता पनि त्यही हुन्छ ।
लामो समय गाडी व्यवसायीको वर्चस्व रहेको नेतृत्वमा अहिले स्पेयर पार्ट्स व्यवसायी आइपुग्नुभएको छ । दुवै क्षेत्रलाई सन्तुलनमा राखेर लैजान चुनौतीपूर्ण देखिन्छ । यसलाई कसरी सन्तुलनमा राख्नुहुन्छ ?
अटो व्यवसायीहरुको छाता संगठन नाडाको नेतृत्व कसले गर्दैछ भन्दा पनि नेतृत्व कसरी गरिन्छ र संस्थालाई कसरी अगाडि बढाइन्छ भन्ने कुरा मुख्य हो । म लामो समयदेखि नाडामा आबद्ध छु । सबै साथीहरूको विश्वास र सर्वसम्मतिबाट नाडाको नेतृत्वमा आइपुगेको छु । गाडी वा स्पेयर पार्ट्स भन्दा पनि सक्षम नेतृत्वले सबैलाई समेट्न सक्छ । जो साथीहरू पद वा असन्तुष्टिका कारण बाहिर हुनुहुन्छ । उहाँहरूसँगको दूरी मेटाउन हामी संवाद गर्नेछौँ ।
उहाँहरूको भावना समेट्न दिनहुँ भेटघाट र छलफल गरेर सबैलाई एउटै छानामुनि ल्याउने प्रयास गर्नेछु । नाडाले चाहेको बेला जुनसुकै क्षेत्रको सक्षम व्यक्तिले नेतृत्व गर्न सक्छ भन्ने यो एउटा उदाहरण पनि हो ।
नेपालमा सवारीसाधन उत्पादन होइन, आयात हुन्छ । उत्पादन उद्योगमा जान समय लाग्न सक्छ । तर अटो पार्ट्स नेपालमा नै उत्पादन गर्न सकिन्छ । तपाईं आफैँले नेपालमा ब्याट्री, लुब्रिकेन्ट्स लगायत उत्पादन गरिरहनुभएको छ । नेपालमा स्पेयर पार्ट्समा आत्मनिर्भर बन्न सक्ने सम्भावना कस्तो देख्नुहुन्छ ?
नेपालमा उत्पादनको प्रशस्त सम्भावना छ । हामीले विगत लामो समयदेखि लुब्रिकेन्ट्स, ब्याट्री र ऐना (मिरर) जस्ता वस्तु उत्पादन गरिरहेका छौँ । तर यसका लागि राज्यको संरक्षण चाहिन्छ । वातावरण बनाइदिने काम सरकारको हो । उद्योग चलाउन भएका समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर हामी सरकारलाई सुझाव दिनेछौँ । अटो पार्ट्ससँग सम्बन्धित सहायक उद्योगहरू नेपालमै स्थापना गर्न सम्भव छ । सरकारले लगानीको सुरक्षा र वातावरणको प्रत्याभूति दिलाउन सक्यो भने नेपालमा यो क्षेत्रको भविष्य उज्ज्वल छ ।
जेनजी आन्दोलनका कारण अटो क्षेत्र शिथिल देखिन्छ । अटो व्यवसायीहरु पनि आन्दोलनको मारमा पर्दा निराशा छाएको छ । व्यवसायीको मनोबल उकास्न र सरकारसँग समन्वय गर्न तपाईंको भूमिका कस्तो रहन्छ ?
जेनजी आन्दोलनले अटो क्षेत्र पनि अछुतो छैन । तर आन्दोलनपछि शिथिल भएपनि अहिले विस्तारै लयमा फर्किन थालेको छ । आन्दोलनपछि पनि नेपालमा नयाँ–नयाँ गाडीहरू आयात भइरहेका छन् । अटो क्षेत्रमा नयाँ व्यवसायी थपिने क्रम जारी छ । हामीले केही हुँदैन वा सकिँदैन भन्ने नकारात्मक सोच राख्नुभन्दा सम्भावनाहरू खोजी गर्नुपर्छ । अन्य देशको तुलनामा नेपालमा व्यवसाय दर्ता गर्न र लगानी गर्न धेरै सजिलो छ । तर अहिले कम्पनी स्थापना गर्न प्रक्रियागत झन्झटहरू छन् । जसलाई हामीले एकद्वार प्रणालीमा ल्याउन पहल गर्नुपर्छ । वातावरण नै छैन भन्ने कुरामा म सहमत छैन ।

नेपालमा पूर्वाधार विकास भइरहेको छ । सडकहरू बन्दैछन् । मानिसहरूको आयस्तर र जीडीपी बढ्दै जाँदा सवारी साधनको माग पनि बढ्छ । आगामी १० वर्ष नेपालको अटोमोबाइल क्षेत्रका लागि सुनौलो युग हुनेछ । त्यसैले व्यवसायीहरू निराश हुनुपर्ने अवस्था छैन ।
नाडालाई महासंघमा लैजाने निर्णय साधारणसभाले गरिसकेको छ । महासंघ बनाउने प्रक्रिया कसरी अगाडि बढ्छ ? किन आवश्यक भयो ?
नाडालाई महासंघमा लैजानु हाम्रो प्रमुख एजेन्डा हो । साधारणसभाले यसअघि नै महासंघ बनाउने निर्णय गरेको छ । अटो क्षेत्रसँग जोडिएका संस्थाहरु मिलेर नै महासंघ बन्ने हो । अहिले छरिएर रहेका अटोमोबाइल व्यवसायी, डिलर र आयातकर्ताहरूलाई एउटै शक्तिशाली प्लेटफर्ममा ल्याउन महासंघ आवश्यक छ । त्यही आवश्यकतालाई हेरेर कार्यसमितिले कानुनसम्मत निर्णय गरिसकेको छ ।
व्यवसायीहरू आ–आफ्नै डम्फु बजाएर हिँड्दा सरकारसँगको लबिङ प्रभावकारी हुन सकेको छैन । एउटै मञ्चबाट आवाज उठाउँदा सरकार र सरोकारवाला निकायले सुन्ने वातावरण बन्छ । नाडामा नअटाएका वा बाहिर रहेका सबैलाई समेट्ने एउटै मात्र विकल्प भनेको महासंघ हो । हामी यो प्रक्रियालाई अब छिट्टै अगाडि बढाउनेछौँ ।
एक वर्षअगाडि मात्रै नाडाबाट छुट्टिएर सवारी आयातकर्ताहरुले नाईमा संस्था स्थापना गरेका छन् । अटो व्यवसायीहरुका छुट्टाछुट्टै दुई संस्था बनेका छन् । दुई संस्थाले छुट्टाछुट्टै अटो शो आयोजना गरे । अर्को वर्ष हुने नाडा अटो शो एउटै भएको हेर्न पाउँछौं ?
पक्कै पनि । हामी अटोमोबाइल व्यवसायी हौँ । हामीलाई आपसमा प्रतिस्पर्धा गरेर आफ्नै साख गिराउनु छैन । दुईवटा मेला गर्नुभन्दा एउटै भव्य मेला गर्नु सबैका लागि हितकर हुन्छ । यसका लागि संवाद आवश्यक छ । असम्भव भन्ने कुरा केही छैन । हामी संवादमार्फत सबैलाई समेटेर आगामी दिनमा एउटै र भव्य अटो शो गर्ने वातावरण बनाउनेछौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण