मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने शर्माकाे घोषणा

शनिबार, १९ पुस २०८२, ११ : ५८
शनिबार, १९ पुस २०८२

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयमा करिब चार करोड रुपैयाँको लागतमा नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । नेपाली कांग्रेसका नेता डा.सुनिलकुमार शर्माले आफ्ना बाबुआमाको नाममा उक्त भवन निर्माण गरिदिने घोषणा गरेका हुन् ।

विद्यालय भवनको शिलान्यास गर्दै डा.शर्माले १० कोठे अत्याधुनिक भवनमा कम्प्युटर ल्याव र शौचालयसहित करिव ६ हजार ४ सय वर्गफुट क्षेत्रफलमा निर्माण हुने बताए । विद्यालय भवनको शिलान्याससँगै विद्यालयको नाम पनि परिवर्तन गरी श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय राखिएको छ । रतुवामाई नगरपालिकाको आधारभुत तथा माध्यमिक शिक्षा ऐन, २०७२ (तेस्रो संशोधनसहित) अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर विद्यालयको नाम परिवर्तन गरिएको हो ।

डा.शर्माले काठमाडौं मेडिकल कलेजअन्तर्गत एमबीबीएस, बीडीएसलगायत उपलब्ध सबै विषयमा पीएचडीसम्म अध्ययन गर्न सकिने गरी थप एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा समेत गरेका छन् । छात्रवृत्तिमध्ये ५० लाख रुपैयाँ विद्यालयलाई जग्गा दान गर्ने स्वर्गीय नरेन्द्रबहादुर थापाको नाममा, २५ लाख रुपैयाँ डा. शर्माका हजुरबुवा स्वर्गीय गुणलाल न्यौपाने नाममा र २५ लाख रुपैयाँ जिजुबा. गणपति न्यौपानेको नाममा स्थापना गर्ने उनले घोषणा गरे ।

डा. शर्माले आफूले अध्ययन गरेको विद्यालयमा लगानी गर्नु नै विद्यालयप्रतिको ऋण तिर्ने प्रयास भएको बताए ।

उनले भने, ‘५० लाख बराबराको हजुबुबाको नाममा हामीले छात्रवृत्ति थप गरिदिन्छौँ । भवन त साँढे ३ करोडको बन्यो, बन्यो, ४ करोड पनि पुग्नसक्छ । यो थप हो । ५० लाख बराबरको छात्रवृत्तिको नाम नै श्री नरेन्द्रबहादुर थापा छात्रवृत्ति कार्यक्रम हुन्छ । मेरो जि बा गणपति न्यौपाने र हजुरबुबा गुणलाल न्यौपानेको नाममा २५/२५ लाख गरेर हामीले आज यसै कार्यक्रमबाट भवन र उपचार सुविधा बाहेक अरु एक करोड रुपैयाँको यो विद्यालयमा न्युनतम ५ वर्ष पढेको, आर्थिक स्थिति कमजोर भएका र यहि विद्यालयबाट एसईई दिएको विद्यार्थीहरुमध्ये एमबीबीएस, बीडीए पढ्न छात्रवृत्ति उपलब्ध गराउनेछौँ ।’

रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वर सिंह, कोशी प्रदेशसभा सदस्य गणेश उप्रेतीले डा. शर्माको योगदानको प्रशंसा गर्दै यस्तो निःस्वार्थ सहयोगले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरे । – न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप