समुन्द्री किनारको झल्को दिने कोशीको बोराबाँध
सारांश
- लेखक र साथीहरूले इटहरीबाट बोराबाँधको यात्रा गरे, जहाँ उनीहरूले कोशी नदीको किनारमा प्राकृतिक सौन्दर्यको अनुभव गरे।
- बोराबाँधमा ढुङ्गामा पकाइएको सेकुवा र सूर्यास्तको दृश्यले उनीहरूको यात्रालाई अविस्मरणीय बनायो, साथै भारतबाट समेत मानिसहरूको घुइँचो थियो।
- लेखकले कोशी नदीको किनारमा रहेको चतरा क्षेत्रको धार्मिक, ऐतिहासिक, र पर्यटकीय महत्वको बारेमा चर्चा गरे, र सरसफाइको आवश्यकता औंल्याए।
जिन्दगीका भागदौडहरू त सधैँ चलिरहन्छन् । तर कहिलेकाहीँ मनले यस्तो ठाउँ खोज्छ जहाँ समय केहीबेरका लागि थामियोस् । जहाँ नदीको सुसाइले मनका सुस्केराहरू मेटाइदेओस् । शनिबारको दिन भएका मेरो मनमा यस्तै यस्तै कुरा चलिरहेको थियो । दिउँसोको २ बज्न लागेको थियो । म इटहरीको सङ्गीत चोक नजिकै दामोदर रिमाल दाइको पसलमा मनमा अनेक कुरा खेलाएरै व्यवसायमा आएको मन्दीका विषयमा छलफल गरिरहेको थिएँ ।
यही क्रममा इटहरीका पुराना स्थापित ग्राफिक डिजाइनर लेखक प्रकाश नेपालको फोन आयो । फोन वार्तामै उनले फ्याट्ट ‘दाइ जाऔँ बोराबाँध’ भने । मैले पनि तत्कालै स्वीकार गरिहाले । फोनमा कुराकानी भएको ५ मिनेट भित्रमै भाइ प्रकाश मोटरसाइकल लिएर सङ्गीत चोक आइपुगे । अनि लाग्यौँ बोराबाँधको बाटो ।
_YRWyiJqTUQ.jpg)
हामी इटहरीको कोलाहलबाट केही टाढा, एउटा यस्तो ठाउँमा जाँदैछौँ जहाँ आजभोलि मानिसहरू प्रकृतिको सामीप्य खोज्न आउने गर्छन् सुनसरीको चक्रघट्टीस्थित बोराबाँध ।
शनिबारको दिन मनमा उमङ्ग बोकेर हामी इटहरीबाट निस्कियौँ । बाङ्गे बजार पुग्न लाग्दा बाटोमा देखिने ती हरियाली र सफा हावाले यात्रालाई झन् रोमाञ्चक बनाइरहेको थियो । हामी मात्र होइन, बाटोभरि धेरै मानिस त्यही गन्तव्यतर्फ लम्किरहेका थिए, जो सायद हामी जस्तै हप्ताभरिको थकान मेटाउन चाहन्थे ।
_Yz1g0Rgoig.jpg)
जब हामी बोरा बाँध पुग्यौँ, त्यहाँको दृश्य देखेर हामी छक्क पर्यौँ । यो ठाउँ अहिले यति भाइरल भएको रहेछ कि नेपालका विभिन्न ठाउँबाट मात्र होइन, छिमेकी देश भारतको बिहारबाट पनि सयौँको सङ्ख्यामा मानिसहरू यहाँ आइपुगेका रहेछन् । मानौँ, यो एउटा यस्तो संगमस्थल बनेको छ, जहाँ भूगोलले कसैलाई रोकेको छैन ।
_jsXxfzsy7f.jpg)
यो हो कोशीको त्यो रूप, जसले तपाईंलाई एकछिनका लागि भुलाइदिन्छ- तपाईं नेपालमा हुनुहुन्छ भनेर । त्यो फराकिलो किनार, त्यो हावाको वेग साँच्चै भन्नुपर्दा, यसले हामीलाई कुनै विदेशी समुद्री किनारको झल्को दियो । सायद यो ’ओसियन भाइब’ नै होला जसले भारत र नेपालका मानिसहरूलाई यति धेरै आकर्षित गरिरहेको छ ।
नदीको बगरमै स-साना झुपडी जस्ता होटलहरू, जहाँबाट आउने स्थानीय परिकारको बासना र मानिसहरूको हाँसोले यो ठाउँलाई जीवन्त बनाएको थियो । अब सुरु हुँदैछ हाम्रो वास्तविक अनुभव कोशीको बगर, ढुङ्गामा पाकेको सेकुवा र त्यो अविस्मरणीय सूर्यास्त ।
_WtNSa7DfBk.jpg)
चक्रघट्टीको बोराबाँध पुगेपछि सबैको ध्यान तान्छ ढुङ्गामा पकाइएको सेकुवाले । आधुनिक चुल्हो वा ग्रिलमा होइन, यहाँ त नदीकै बगरका ढुङ्गालाई तताएर त्यसमाथि मासु पकाइने रहेछ । यो मौलिक शैली देख्दा र त्यसको बास्नाले जो कोहीको पनि मुखमा पानी आउँछ । हामीले पनि ढिला नगरी तातो–तातो पोर्क सेकुवा अर्डर गर्यौँ ।
बगरको बालुवामा बसेर अगाडि निलो कोशी नियाल्दै तातो सेलरोटी र ढुङ्गामा पोलेको सेकुवा खानुको मज्जा शब्दमा वर्णन गर्नै सकिँदैन । यहाँका होटलहरू आधुनिक नभएपनि यहाँको आतिथ्य र स्वादले कुनै महँगो रेस्टुरेन्टलाई पनि माथ दिन्छ । अझ शनिबारको दिन भएर होला, धेरै पिकनिक ग्रुप आफ्नै तालमा रमाइरहेका थिए ।
_VwDIwGnyUV.jpg)
यो ठाउँको अर्को विशेषता भनेको यहाँका ढुङ्गाहरू हुन् । एकातिर कोशीले सदियौँदेखि बगाएर ल्याएका ती चिल्ला र प्राकृतिक ढुङ्गाहरू छन्, जसले हाम्रो परम्परा र इतिहास बोकेका छन् । अर्कोतिर कोशीको धारलाई रोक्न राखिएका ठुला आधुनिक ढुङ्गा र बोराहरू छन् । यी दुईको संगमले यो ठाउँलाई एउटा छुट्टै स्वरूप दिएको छ । कोही ढुङ्गामा नाम लेख्दै थिए त कोही त्यहीँ बसेर कोशीको सुसाई सुन्दै टोलाइरहेका थिए ।
भिडभाड त धेरै थियो, तर कोशीको छालसँगै खेल्दा कता–कता एउटा छुट्टै शान्ति महसुस हुने रहेछ । मानिसहरू आफ्नो परिवार र प्रियजनसँग सेल्फी लिन र भिडियो बनाउन व्यस्त थिए । तर हाम्रो नजर भने अब बिस्तारै अस्ताउन लागेको सूर्यतर्फ मोडिँदै थियो ।
_7EunUEj7bd.jpg)
समय बित्दै गयो र त्यो क्षण आयो जसको लागि हामी र यहाँ आएका सयौँ मानिसहरू प्रतीक्षारत थियौँ । बोराबाँधको सूर्यास्त । जब सूर्यले बिस्तारै कोशीको काखमा आफूलाई सुम्पिन्छ, तब आकाशमा देखिने त्यो रङ्गको जादुले जो कोहीलाई भावुक बनाउँछ । मानौँ, प्रकृतिले आजको दिनको लागि एउटा सुन्दर बिदाइ गीत गाइरहेको छ ।
त्यो भिडभाडमा पनि एक किसिमको सन्नाटा थियो । सबैका आँखा पश्चिम क्षितिजमा अडिएका थिए । हामीले यहाँ झण्डै २ घण्टा बितायौँ, तर लाग्छ यी पलहरू सधैँका लागि मनमा कैद भइसके । कोशीको यो बोरा बाँध मात्र एउटा संरचना रहेनछ, यो त भावनाहरूको संगम रहेछ । कसैका लागि रमाइलो, कसैका लागि शान्ति त कसैका लागि नयाँ सम्झना ।
_uFYOEJY4n0.jpg)
यो स्थान एसियाकै ठुला नदीमध्ये एक सप्तकोशीको काख हो । नेपालका सात प्रमुख सहायक नदीहरू मिलेर बनेको यो विशाल नदीले यस क्षेत्रलाई उर्वर त बनाएको छ, तर यसको अनियन्त्रित बहावले चुनौती पनि दिने गरेको छ । हामीले देखेको यो बोरा बाँध त्यही चुनौतीको एउटा उदाहरण हो ।
नजिकै रहेको चतराको महत्त्व केवल पिकनिक वा घुमफिर मात्र होइन । यो ठाउँ धार्मिक र ऐतिहासिक रूपमा पनि धेरै महत्त्वपूर्ण छ । यहाँ नजिकै प्रसिद्ध बराहक्षेत्र मन्दिर छ, जुन नेपालको चार धाममध्ये एक मानिन्छ । पुराणहरूमा उल्लेख भए अनुसार भगवान् विष्णुले वराह (सुँगुर) को रूप लिएर हिरण्याक्ष राक्षसको वध गरेको र यहीँबाट पृथ्वीलाई माथि उठाएको विश्वास गरिन्छ । त्यसैले कोशी नदीमा स्नान गर्नु र मन्दिर दर्शन गर्नुको ठुलो महत्त्व मानिन्छ ।
_NvXZ1UjNhr.jpg)
अलि तलतिर कोशी नदीको छेउमा कोशी टप्पु वन्यजन्तु आरक्ष छ । यो आरक्ष विशेषगरी अर्ना (जंगली भैंसी),विभिन्न प्रजातिका चराहरू र रामसार क्षेत्रको लागि विश्वभर परिचित छ । प्रकृतिप्रेमीहरूका लागि यो क्षेत्र स्वर्गभन्दा कम छैन । यसरी चतरा, धार्मिक आस्था, विशाल नदी र वन्यजन्तु आरक्षको केन्द्रबिन्दु बनेको छ ।
यो ठाउँलाई पर्यटकीय हब बनाउन स्थानीय सरकार र बराहक्षेत्र नगरपालिकाले जुन प्रयास गरिरहेको छ, त्यो प्रशंसनीय छ । तर बढ्दो भिडलाई ध्यानमा राखेर यहाँ पर्याप्त डस्टबिनहरूको व्यवस्था र नियमित सरसफाइमा विशेष ध्यान दिनु एकदमै जरुरी देखिएको छ । यो सुन्दरता जोगाउनु हामी पर्यटक र नगरपालिका दुवैको साझा जिम्मेवारी हो । ‘घुमौँ, रमाइलो गरौँ, तर सम्झना मात्र छोडौँ, फोहोर होइन ।‘
_9n8hUtW8wp.jpg)
अँध्यारो बढ्दै गयो र चिसिँदै गरेको हावाले हामीलाई घर फर्किने संकेत गर्यो । इटहरीबाट सुरु भएको यो छोटो तर मिठो यात्रा अब समापनको मोडमा छ । कोशीको बगर, ढुङ्गामा पाकेको त्यो सेकुवाको स्वाद र यो मनमोहक सूर्यास्त, यी सबैलाई पछिल्तिर पार्दै हामी फर्कियौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण