शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभा निर्वाचन : एक्लाएक्लै लडे कांग्रेस र नेकपाबिच कर्णालीमा हुनसक्छ कडा टक्कर

आइतबार, २० पुस २०८२, १७ : ००
आइतबार, २० पुस २०८२

सारांश

  • कर्णाली प्रदेशबाट राष्ट्रियसभा निर्वाचनका लागि दुई जना निर्वाचित हुने, जसमा एक महिला पनि छिन्।
  • कांग्रेस, नेकपा र एमाले उम्मेदवार छनोटमा व्यस्त छन्, र उम्मेदवार मनोनयन पत्र दर्ता पुस २३ गते हुनेछ।
  • कांग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ, तर शर्माको भोट निर्णायक हुने सम्भावना छ।
00:00 / NaN:NaN
Audio By AI

सुर्खेत । माघ ११ गतेको राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशबाट एक महिलासहित दुई जना निर्वाचित भएर आउँदैछन् । २०७६ माघमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट अन्यतर्फ निर्वाचित भएका जाजरकोटका मायाप्रसाद शर्मा र महिलातर्फ निर्वाचित भएकी सुर्खेतकी सुमित्रा बिसीको कार्यकाल सकिँदैछ ।

त्यसबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेको थियो । सोही अनुसार राष्ट्रियसभा चुनावमा जाँदा दुवै पद नेकपाले हात पारेको थियो । नेकपा विभाजनपछि शर्मा माओवादी केन्द्र र बिसी एमालेमै फर्किए । यी दुई पदका लागि हुन लागेको निर्वाचनका लागि दलहरु तयारीमा लागेका छन् । नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दर्जनौँ नेताहरुका नाम उम्मेदवारका लागि पार्टी केन्द्रमा सिफारिस गरेका छन् । यस्तै, नेकपा एमाले उम्मेदवार छनोटमा व्यस्त छ ।

प्रदेश निर्वाचन आयोगका निर्वाचन अधिकृत लालबहादुर गुरुङले राष्ट्रियसभाको निर्वाचनका लागि तयारी तीव्र भइरहेको बताए । ‘हामीले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु धमाधम गरिहरेका छौँ,’ उनले रातोपाटीसँग भने । पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तालिका छ ।

कति छ मतभार संख्या ?

कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि १९८ कुल मतदाता संख्या छ । प्रदेशसभामा ४० सदस्य छन् भने ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको संख्या १५८ छन् । प्रदेशसभा सदस्यको मतभार संख्या ५३ हो भने स्थानीय तहका प्रमुख, उपप्रमुखको १९ हो । यस हिसाबले प्रदेशसभा सदस्यहरुको कुल मतभार संख्या २ हजार १२० हुन्छ भने स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको मतभार संख्या ३ हजार २ हुन्छ । दुवै तहका मतदाताहरुको कुल मतभार संख्या ५ हजार १२२ छ ।

एक्ला–एक्लै लडे कांग्रेस र नेकपाबिच कडा टक्कर !

४० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५, नेकपाका १४, एमालेका १० र राप्रपाका १ सांसद छन् । कांग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीका अनुसार कांग्रेसका स्थानीय तह प्रमुख, उपप्रमुखहरुको संख्या ५८ छ । २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले ५९ वटा प्रमुख, उपप्रमुख थिए । तर उपनिर्वाचनमा आफूले जितेका जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पद गुमाएको थियो ।

यद्यपि स्वतन्त्र रुपमा निर्वाचित भएका हुम्लाको चंखेलीका अध्यक्ष प्यारीलाल शाही फेरि कांग्रेसमा फर्किएसँगै प्रमुख, उपप्रमुखको कुल संख्या ५८ कायम रहेको उनको भनाइ छ । १५ प्रदेशसभा सदस्यको मतभार संख्या ७९५ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार संख्या १ हजार १०२ गरी कांग्रेसको कुल मतभार संख्या १ हजार ८९७ छ ।

एमालेको प्रदेश (१०) र स्थानीय तहको गरी कुल मतभार संख्या १२१४ छ । २०७९ को स्थानीय तहको निर्वाचनमा ३५ वटा प्रमुख तथा उपप्रमुख पदमा जितेको एमालेले २०८१ को स्थानीय तह उपनिर्वाचनमा महावु गाउँपालिकाको अध्यक्ष जितेको थियो । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को मतभार संख्या १ हजार ९३९ छ । यहाँ साविक माओवादीको २०७९ को स्थानीय तह निर्वाचन र २०८१ मा भएको स्थानीय तह उपनिर्वाचनमा गरी प्रमुख, उपप्रमुखहरुको संख्या ५० छ ।

यस्तै २०७९ मा एकीकृत समाजवादी पार्टीबाट नै टिकट लिएर चुनाव जितेका प्रमुख, उपप्रमुखको संख्या १० छ भने स्वतन्त्र जितेर पछि पार्टीमा फर्किएका तीन जनासहित समाजवादीका प्रमुख, उपप्रमुखहरुको संख्या १३ छ । अहिले दुई दल मिलेपछि बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को स्थानीय तह कुल मतदाता संख्या ६३ हुन्छ भने मतभार संख्या १ हजार १९७ हुन्छ । यस्तै, प्रदेशसभामा साविक माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीको १ गरी माओवादीका १४ सदस्य छन् । उनीहरूको मतभार संख्या ७४२ छ ।

प्रदेश र स्थानीय दुवैको जोड्दा कुल मतभार संख्या १ हजार ९३९ आउँछ । यो हिसाबले एक्लाएक्लै चुनाव लडेको खण्डमा नेकपाको निर्वाचन हुन लागेका दुवै पद सुरक्षित गर्न सक्ने देखिन्छ । यद्यपि, नेकपाको सांसद रहेका राजकुमार शर्माले भने अहिले पार्टी बदलिसकेका छन् । माओवादीको संसदीय दलका नेता समेत रहेका शर्मा केही समयअघि मात्रै दल नेताबाट राजीनामा दिएर जनार्दन शर्माले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा गइसकेका छन् । यद्यपि नेकपाले उनको सांसद पदबारे भने कुनै निर्णय गरेको छैन । जसका कारण प्रदेशसभाले नेकपाको सांसद संख्या अभिलेखमा १४ नै राखेको छ ।

शर्मा र शाहीको मत हुनसक्छ निर्णायक

एक्लाएक्लै चुनावी मैदानमा जाँदा कांग्रेस र नेकपाबिच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर शर्माको भोट नेकपाले नपाउने हो भने कर्णालीमा कांग्रेसले परिणाम निकाल्न सक्ने देखिन्छ । यस्तै राप्रपा सांसद सन्तोषी शाहीको भोट पनि निर्णायक हुनसक्ने नेताहरुको विश्लेषण छ । यद्यपि एमालेको कमजोर मतभार भएका कारण कुनै पनि दलसँग गठबन्धन गरेर जानसक्ने सम्भावना रहेको नेताहरु बताउँछन् ।

केन्द्रको निर्णयको पर्खाइमा प्रदेशका नेताहरु

राष्ट्रियसभा निर्वाचन नजिकिएसँगै तीन ठुला दलहरु कांग्रेस, एमाले र नेकपाबिच तालमेल हुनसक्ने चर्चा चलेको छ । प्रदेशका नेताहरु भने पार्टी केन्द्रका निर्णय कुरिरहेका छन् । नेकपाका नेता ठगेन्द्रप्रकाश पुरीका अनुसार तीन ठुला दलहरुबीच गठबन्धन गरेर सर्वसम्मतिकै आधारमा जाने कि भन्ने केन्द्रमा कुरा चलेको छ । 

‘यदि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हो भने कर्णालीमा हामी र कांग्रेसबिच नै हो प्रतिस्पर्धा हुने,’ उनले भने, ‘माथिका नेताहरुले के गर्छन्, त्यही अनुसार होला ।’ एमाले प्रदेशका एक नेताले पनि पुरीकै भनाइमा सहमति जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप