शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचनमा एमाले

ओली, सुहाङ, राजेन्द्र र जगदीश एकल सिफारिसमा पर्दा अन्य क्षेत्रमा आकांक्षीको ओइरो

सुनसरी र मोरङमा मिलाउन सकस
सोमबार, २१ पुस २०८२, ०८ : ००
सोमबार, २१ पुस २०८२

सारांश

  • आगामी निर्वाचनका लागि एमालेले कोशी प्रदेशका विभिन्न क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ।
  • केपी शर्मा ओली झापा ५ बाट र सुहाङ नेम्वाङ इलाम २ बाट एकल उम्मेदवार सिफारिस भएका छन्।
  • मोरङका ६ वटै क्षेत्रमा धेरै आकांक्षी देखिए, जसमा ४३ जनाको नाम पठाइएको छ।
00:00 / NaN:NaN
Audio By AI

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रहरूबाट प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। निर्वाचन नजिकिँदै गर्दा पार्टीका क्षेत्रीय र जिल्ला कमिटीहरूले आकांक्षीहरूको नामावली केन्द्रमा पठाउने प्रक्रिया सुरु गरेका हुन्।

यसै क्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट एकल उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस भएका छन्। ओलीको गृह निर्वाचन क्षेत्र रहेको झापा ५ को क्षेत्रीय समन्वय कमिटी बैठकले उनको एकल सिफारिस गरेको हो।

त्यसैगरी, इलाम क्षेत्र नम्बर २ मा युवा नेता सुहाङ नेम्वाङलाई पनि एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। गत वैशाखको उपनिर्वाचनमा विजयी भएका नेम्वाङलाई पुनः सोही क्षेत्रबाट सर्वसम्मत रूपमा अघि सारिएको इलाम एमालेले जनाएको छ। यस्तै, धनकुटाबाट पूर्वमन्त्री राजेन्द्रकुमार राई र सुनसरी क्षेत्र नम्बर ४ बाट जगदीशप्रसाद कुसियतको नाम पनि एकल रूपमा सिफारिस भएको छ।

मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा भने आकांक्षीहरूको संख्या निकै ठूलो देखिएको छ। क्षेत्रीय कमिटीहरूले कुनै पनि क्षेत्रमा एकल नाम सिफारिस गर्न नसक्दा ६ वटा क्षेत्रबाट कुल ४३ जनाको नाम पठाइएको छ। नेता विनोद ढकालको नाम मोरङका तीनवटा क्षेत्र (१, ४ र ६) बाट सिफारिस भएको छ। मोरङ १ बाट कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, विनोद ढकाल, शान्ति लिम्बू, योगेश बस्नेत, डिल्ली शर्मा अधिकारी र भूपाल जिमीको नाम सिफारिस गरिएको छ। मोरङ २ बाट निवर्तमान सांसद ऋषिकेश पोखरेल, रंगेलीका नगर प्रमुख दिलीप अग्रवाल र पूर्व राष्ट्रियसभा सदस्य नैनकला ओझाको नाम सिफारिस भएको छ।

मोरङ ३ मा सबैभन्दा धेरै १६ जनाको नाम सिफारिस भएको छ, जसमा वासुदेव थापा, विजय डाँगी, सुजय गौतम, प्रकाश राई, किशोर राई, प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईं, इरान राई, सुरेन्द्रबहादुर थापा, मधु गुरुङ, धनमाया तामाङ, वीरेन्द्र श्रेष्ठ, मोहनप्रसाद न्यौपाने, रविन थापा र पूर्वसांसद भानुभक्त ढकाल रहेका छन्।

यसैगरी मोरङ ४ बाट केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, नरेन्द्र बस्नेत, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी, मनोजविक्रम शाह, मृत्युञ्जय झा र मीना चौधरीको नाम सिफारिस गरिएको छ। मोरङ ५ बाट उद्धव पोखरेल, वीरेन्द्र यादव, मीना यादव, मजहर आलम, दिलसाद आलम र मनोज तिवारीको नाम पठाइएको छ भने मोरङ ६ बाट पूर्वसांसद लालबाबु पण्डित, एमालेका केन्द्रीय सदस्य पर्शुराम बस्नेत, प्रदेश सदस्य सत्यनारायण चौधरी, भूराज राई, यशोदा अधिकारी र रिता न्यौपानेको नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको छ।

झापा जिल्लाका अन्य क्षेत्रहरूमा पनि उम्मेदवारहरूको सूची तयार भएको छ। झापा १ बाट राजु कार्की, लक्ष्मी राई, घनश्याम अधिकारी, असारु राजवंशी, कृष्ण कनाल, रामचन्द्र उप्रेती, निरु परियार र चन्द्र प्रसाईं सिफारिस भएका छन्। झापा २ बाट देवराज घिमिरे, अग्नि खरेल, प्रेम गिरी, छबिलाल विश्वकर्मा, अम्बिर लिङ्देन, अमृतलाल राजवंशी, उमानाथ ओली, ज्ञानेन्द्रप्रकाश ओली, पर्वत भण्डारी, रोजिना पाण्डे, जसमाया गजमेर, एकराज कार्की र पवित्रा पाठकको नाम सिफारिस भएको छ। झापा ३ बाट दीपक कार्की, हरिबहादुर राजवंशी, वसन्त बानियाँ, सन्तलाल मेचे र देवेन्द्र आचार्यको नाम सिफारिस गरिएको छ भने झापा ४ बाट पूर्वसांसद एलपी साँवा लिम्बू, हिराकुमार थापा र भोजकुमारी नेपालको नाम परेको छ।

ताप्लेजुङ जिल्लाबाट एमाले उपमहासचिव योगेशकुमार भट्टराईसहित पाँच जनाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ। जसमा भट्टराईसँगै तिलकुमार मेन्याङ्बो, क्षितिज थेबे, टंक आङ्बुहाङ र भीमादेवी ओझा रहेका छन्। धनकुटाबाट भने पूर्वमन्त्री राजेन्द्रकुमार राईको नाम एकल रूपमा सिफारिस गरिएको छ, यद्यपि त्यहाँ टीकाकुमार चेम्जोङ र शकुन्तला बस्नेतले पनि इच्छा व्यक्त गरेका थिए। इलाम १ बाट निवर्तमान सांसद महेश बस्नेत, काजीमान कागते र दुर्गादेवी भट्टराईको नाम सिफारिस भएको छ।

सुनसरी जिल्लाको क्षेत्र नम्बर १ बाट मञ्जु भण्डारी, जयकुमार राई, लहरुमाया जिमी, इन्द्रकुमार राई, टीका माङ्लेन, राजेन्द्र कार्की, सूर्य पन्धाक र नारायण सुवेदीको नाम सिफारिस गरिएको छ। सुनसरी २ बाट जगदीशप्रसाद कुसियत, लक्ष्मी गौतम र सरोज पोखरेलसहित १८ जनाको सूची तयार पारिएको छ। सुनसरी ३ बाट भगवती चौधरी र तयब हुसेनसहित ४ जनाको नाम सिफारिस भएको छ भने सुनसरी ४ बाट जगदीशप्रसाद कुसियतको नाम सर्वसम्मत सिफारिस भएको छ।

उदयपुरका दुई निर्वाचन क्षेत्रमा पनि ८ देखि ९ जनाको नाम समेटिएको सूची तयार पारिएको छ। क्षेत्रीय कमिटीहरूले पठाएका यी नामहरू जिल्ला र प्रदेश कमिटी हुँदै केन्द्रमा पठाइने एमालेले जनाएको छ। संखुवासभा, भोजपुर, खोटाङ, तेह्रथुम, ओखलढुंगा, सोलुखुम्बुजस्ता एउटै निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा भने जिल्ला समितिको बैठक बसेर टुंगो लगाउने एमालेले जनाएको छ। ती जिल्लाहरूको बैठक सोमबार बस्ने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप