बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचन आचारसंहिता कार्यान्वयनका चुनौती र नियन्त्रणका विविध पक्षमा छलफल

सोमबार, २१ पुस २०८२, १८ : १२
सोमबार, २१ पुस २०८२

काठमाडौँ । आचारसंहिताको प्रभावकारी परिपालना एवं कार्यान्वयनका लागि अन्तरनिकाय सहकार्य, सोका लागि प्रचलित कानुनले तोकेका नियामक निकायको भूमिका, आचारसंहिता कार्यान्वयनका चुनौती र नियन्त्रणका विविध पक्षमा छलफल भएको छ ।  

निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ को व्यवस्था बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समितिको सोमबार बसेको पहिलो बैठकमा यस विषयमा छलफल भएको हो । 

बैठकमा सहभागी सदस्यहरूले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सचेतनामूलक, प्रवर्द्धनात्मक र दण्डात्मक जस्ता विधिहरूलाई एकसाथ अघि बढाउन उपयुक्त हुने धारणा राखे । 

सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण, सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्ने लगायतका विषयमा ध्यान जानुपर्ने धारणा व्यक्त भएका थिए ।

छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जाल नियमनको विषय महत्त्वपूर्ण भएको र आयोगले सबै संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गर्ने धारणा राख्दै आचारसंहिता कार्यान्वयनमा प्रविधि दुरुपयोग रोक्ने प्रभावकारी संयन्त्रसहित नियामक निकाय, अनुसन्धान र अभियोजन गर्ने निकायसँगको सहयोग र सहकार्य अपरिहार्य रहेका बताए । 

अनुगमन समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त सगुन शमशेर जबराले विगतका कमजोरीलाई सुधार गरी यस पटक निर्वाचन आचारसंहिता कार्यान्वयनमा गुणात्मक उद्देश्य हासिल हुने विश्वास व्यक्त गरे । 

निर्वाचनको स्वच्छता र निष्पक्षताका लागि आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक रहेकाले सूचना प्रविधिको दुरुपयोगबाट हुने चुनौती रोक्न आयोगले सबै पक्षसँग सहकार्य गरिने समेत उनले बताए । 

बैठकमा निर्वाचन आयोग तथा विभिन्न मन्त्रालयका सचिवहरू एवम् सुरक्षा निकायका प्रमुखहरूसमेतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप