शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाललाई ‘एकाउन्टिङ आउटसोर्सिङ हब’ बनाउने आइक्यानको घोषणा : १० वर्षमा ७ अर्ब डलर भित्र्याउने लक्ष्य

बुधबार, २३ पुस २०८२, १२ : ५९
बुधबार, २३ पुस २०८२

सारांश

  • आइक्यानले नेपाललाई 'एकाउन्टिङ र फाइनान्स आउटसोर्सिङ हब' बनाउने उद्देश्यले 'ग्लोबल एकाउन्टिङ रिसोर्स' परियोजना घोषणा गरेको छ।
  • आइक्यानका अनुसार, यो परियोजनामार्फत आगामी १० वर्षभित्र वार्षिक ६ देखि ७ अर्ब डलरको एकाउन्टिङ सेवा निर्यात गर्ने लक्ष्य राखिएको छ।
  • परियोजना सफल भएमा नेपालमा १ लाख ५० हजारभन्दा बढी उच्च गुणस्तरको रोजगारी सिर्जना हुने र युवालाई विदेश नपठाउने योजना छ।

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नेपाललाई विश्वकै ‘एकाउन्टिङ र फाइनान्स आउटसोर्सिङ हब’ बनाउने उद्देश्यका साथ ‘ग्लोबल एकाउन्टिङ रिसोर्स’ प्रोजेक्टको घोषणा गरेको छ।  बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आइक्यानले ग्लोबल एकाउन्टिङ रिसोर्स प्रोजेक्टको घोषणा गरेको हो । 

पत्रकार सम्मेलनमा बोल्दै आइक्यानका अध्यक्ष नीलबहादुर सारूमगरले यस परियोजना मार्फत आगामी १० वर्षभित्र नेपालले एकाउन्टिङ सेवा निर्यात गरेर वार्षिक ६ देखि ७ अर्ब डलर (करिब ९ खर्ब रुपैयाँ) भित्र्याउन सक्ने दाबी गरेका छन्। 

अध्यक्ष मगरले विश्व बजारमा देखिएको जनशक्ति अभावलाई नेपालले अवसरको रूपमा लिनुपर्ने बताए । अध्यक्ष मगरका अनुसार हाल अमेरिका, बेलायत र अस्ट्रेलिया जस्ता विकसित मुलुकहरूमा एकाउन्टिङ विषय पढ्ने विद्यार्थीको सङ्ख्या ३० प्रतिशतभन्दा बढीले घटेको छ। पश्चिमा देशका युवाहरूको आकर्षण आइटी र एआईतर्फ बढ्दा परम्परागत लेखा व्यवसायमा जनशक्तिको सङ्कट देखिएको छ।

‘ठुला फर्महरूमा पार्टनरहरू रिटायर भइरहेका छन् तर उनीहरूको ठाउँ लिने नयाँ पुस्ताको अभाव छ,’ अध्यक्ष मगरले भने, ‘यो असन्तुलन पूर्ति गर्न अब एसिया र दक्षिण एसियाली मुलुकहरूको भूमिका महत्त्वपूर्ण हुनेछ।’ 

अध्यक्ष मगरले फिलिपिन्स र भारतको उदाहरण दिँदै नेपालले पनि सोही बाटो समात्न सक्ने बताए । उनका अनुसार फिलिपिन्समा एकाउन्टिङ र बीपीओ क्षेत्रबाट ३० अर्ब डलरभन्दा बढी आम्दानी गर्छ, जसले कुल गार्हस्थ उत्पादन मा ७ प्रतिशत योगदान पुर्‍याएको छ र १६ लाखलाई रोजगारी दिएको छ। 

त्यस्तै भारतमा पनि यो क्षेत्रको बजार हिस्सा २५० अर्ब डलरभन्दा बढी छ र ५० लाखभन्दा बढी जनशक्ति यसमा संलग्न रहेको बताए ।हाल नेपालका एकाउन्टिङ फर्महरूले अनौपचारिक रूपमै भए पनि वार्षिक ३ करोड डलर (३ अर्ब रुपैयाँ) भन्दा बढीको सेवा निर्यात गरिरहेको बताए । 

अध्यक्ष मगरले यसलाई व्यवस्थित गर्न सके ठुलो फड्को मार्न सकिने बताए । ‘हाम्रो अनुमान र अध्ययन अनुसार यदि हामीले सही ढङ्गले काम गर्‍यौँ भने आगामी १० वर्षमा नेपालले एकाउन्टिङ र अडिटिङ आउटसोर्सिङबाट मात्रै ६ देखि ७ अर्ब डलर भित्र्याउन सक्छ,’ उनले भने। 

यो परियोजना सफल भएमा नेपालमा डेढ लाख १ लाख५० हजार भन्दा बढी उच्च गुणस्तरको रोजगारी सिर्जना हुने उनको भनाइ छ। 

अध्यक्ष मगरले नेपाललाई वैदेशिक रोजगारीमा गएका युवाले पठाउने रेमिट्यान्सले धानेको देशको परिचयबाट बदल्नुपर्नेमा जोड दिए । ‘हामी युवालाई विदेश पठाएर होइन, नेपालमै बसेर विदेशको काम गरी डलर कमाउने ‘सर्भिस एक्सपोर्टिङ इकोनोमी’ बनाउन चाहन्छौँ’ उनले भने। 

नेपालमा रहेका करिब १४ लाख एकाउन्टिङका विद्यार्थी र स्नातकहरूलाई यस अभियानमा जोड्ने आइक्यानको योजना छ । आइक्यानले सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ।

अध्यक्ष मगरले  गुगलमा खोज्दा ‘एकाउन्टिङ आउटसोर्सिङ इन नेपाल’ भनेर भेटिने गरी नेपालको डिजिटल उपस्थिति बलियो बनाउन आवश्यक रहेको बताए।  विश्वविद्यालयहरूसँग सहकार्य गरी अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर चलाउन सक्ने जनशक्ति उत्पादन गरिने बताए। 

विदेशी फर्महरूलाई नेपालमा शाखा खोल्न वा साझेदारी गर्न सहज हुने गरी कानुनी अड्चन हटाउने र सरकारले कर सहुलियत दिनुपर्ने उनको भनाइ छ। अध्यक्ष मगरले यो परियोजनालाई आइक्यानको मात्र नभई राष्ट्रिय अभियानकै रूपमा अगाडि बढाइने बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप