कर्णालीमा कांग्रेस-एमाले भर्सेस नेकपा : कुन दलसँग कति मतभार ?
सुर्खेत । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा एक महिला र एक अन्य कलस्टरमा निर्वाचन हुँदैछ । सोही अनुसार बुधबार मनोनयन दर्ता भइरहेको छ ।
कर्णालीबाट दुई पदका लागि हुन लागेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबिच गठबन्धन भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक्लै चुनावी मैदानमा होमिएको छ । कर्णालीमा कांग्रेस-एमाले भर्सेस नेकपाबिच प्रतिस्पर्धा हुने देखिएको छ । सोही अनुसार दलहरुले उम्मेदवारको टुङ्गो लगाइसकेका छन् ।
गठबन्धनतर्फबाट कांग्रेसले अन्य कलस्टर पाएको छ भने एमालेले महिला कलस्टर पाएको छ । कांग्रेसबाट ललितजंग शाही उम्मेदवार बनेका छन् । कांग्रेस कर्णाली प्रदेशका सभापति समेत रहेका शाही २०७९ मा प्रदेशसभाको निर्वाचनमा पराजित नेता हुन् । उनलाई कांग्रेसबाट नै विद्रोह गरी स्वतन्त्र चुनाव लडेका देवेन्द्रबहादुर शाहीले जुम्ला (क) बाट एक हजार ८ सय मतान्तरले पराजित गरेका थिए । स्वतन्त्र निर्वाचित भएका शाही अहिले कांग्रेसमा फर्किसकेका छन् ।
शाहीलाई कांग्रेसले पुनः राष्ट्रियसभा उम्मेदवार बनाएको हो । यसअघि नेपाली कांग्रेस जुम्लाले उनलाई उम्मेदवारका लागि सिफारिस समेत गरेको थियो । उनी शेरबहादुर देउवा र पूर्णबहादुर खड्काका विश्वासपात्र मानिन्छन् ।
यस्तै गठबन्धनबाट महिला क्लस्टरतर्फ एमालेकी मिनासिंह रखाल उम्मेदवार बनेकी छन् । दैलेखकी रखाल २०७४ मा समानुपातिकतर्फ कर्णाली प्रदेशसभा सदस्य बनेकी थिइन् । केही समयअघि मात्रै केपी शर्मा ओलीको समूहबाट पार्टीको केन्द्रीय सदस्यमा जितेकी उनलाई एमाले दैलेखको संयोजकको समेत जिम्मेवारी दिइएको छ ।

यता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भने एकजना पूर्व माओवादी केन्द्र र एकजना पूर्व एकीकृत समाजवादी धारका नेताहरुलाई उम्मेदवार बनाएको छ । अन्य कलस्टरतर्फ पूर्व माओवादी धारका बुद्धिप्रसाद शर्मा र महिलातर्फ पूर्व समाजवादी धारकी अञ्जु महतारा (शाही)लाई नेकपाले उम्मेदवार बनाएको छ । अञ्जु डोल्पाकी हुन् भने शर्मा रुकुम पश्चिमका हुन् । शर्मा माओवादीका पुराना नेता हुन् । उनले अहिलेसम्म कुनै पनि निर्वाचनमा भाग लिएका छैनन् । उनी पार्टीमा नेकपाको केन्द्रीय सदस्य छन् । अञ्जु साविक एकीकृत समाजवादीमा हुँदा प्रदेश कमिटी सदस्य थिइन् । उनी पनि पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।
कांग्रेस-एमाले मिल्दा नेकपालाई अप्ठ्यारो
अहिले चुनाव हुन लागेको अन्य कलस्टर साविक माओवादीको हो । माओवादीका मायाप्रसाद शर्मा तत्कालीन नेकपा हुँदा निर्वाचित भएका थिए । यस्तै महिला कलस्टरतर्फको सिट एमालेको हो । एमालेकी सुमित्रा बिसी सदस्य छिन् ।
कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि १९८ कुल मतदाता संख्या छ । प्रदेशसभामा ४० सदस्य छन् भने ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको संख्या १५८ छन् ।
प्रदेशसभा सदस्यको मतभार संख्या ५३ हो भने स्थानीय तहका प्रमुख, उपप्रमुखको १९ हो । यस हिसाबले प्रदेशसभा सदस्यहरुको कुल मतभार संख्या २ हजार १२० हुन्छ भने स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको मतभार संख्या ३ हजार २ हुन्छ । दुवै तहका मतदाताहरुको कुल मतभार संख्या ५ हजार १२२ छ ।
यदि दलहरु एक्लाएक्लै लडेका खण्डमा कांग्रेस र नेकपाबिच कडा प्रतिस्पर्धा हुन्थ्यो । तर एमाले–कांग्रेस गठबन्धन हुँदा नेकपालाई गाह्रो पर्ने देखिन्छ ।
४० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५, नेकपाका १४, एमालेका १० र राप्रपाका १ सांसद छन् । कांग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीका अनुसार कांग्रेसका स्थानीय तह प्रमुख र उपप्रमुखहरुको संख्या ५८ छ । २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले ५९ जना प्रमुख र उपप्रमुख थिए । तर उपनिर्वाचनमा आफूले जितेका जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पद गुमाएको थियो ।
यद्यपि स्वतन्त्र रुपमा निर्वाचित भएका हुम्लाको चंखेलीका अध्यक्ष प्यारीलाल शाही फेरि कांग्रेसमा फर्किएसँगै प्रमुख, उपप्रमुखको कुल संख्या ५८ कायम रहेको उनको भनाइ छ । १५ प्रदेशसभा सदस्यको मतभार संख्या ७९५ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार संख्या १ हजार १०२ गरी कांग्रेसको कुल मतभार संख्या १ हजार ८९७ छ ।
एमालेको प्रदेश र स्थानीय तहको गरी कुल मतभार संख्या १ हजार २१४ छ । २०७९ को स्थानीय तहको निर्वाचनमा ३५ वटा प्रमुख तथा उपप्रमुख पदमा जितेको एमालेले २०८१ को स्थानीय तह उपनिर्वाचनमा महावु गाउँपालिकाको अध्यक्ष जितेको थियो ।
यस्तै नेकपाको मतभार संख्या १ हजार ९३९ छ । यहाँ साविक माओवादीको २०७९ को स्थानीय तह निर्वाचन र २०८१ मा भएको स्थानीय तह उपनिर्वाचनमा गरी प्रमुख, उपप्रमुखहरुको संख्या ५० छ । २०७९ मा एकीकृत समाजवादी पार्टीबाट नै टिकट लिएर चुनाव जितेका प्रमुख, उपप्रमुखको संख्या १० छ भने स्वतन्त्र जितेर पछि पार्टीमा फर्किएका तीन जनासहित समाजवादीका प्रमुख, उपप्रमुखहरुको संख्या १३ छ । अहिले दुई दल मिलेपछि बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को स्थानीय तह कुल मतदाता संख्या ६३ हुन्छ भने मतभार संख्या १ हजार १९७ हुन्छ । यस्तै, प्रदेशसभामा साविक माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीको १ गरी माओवादीका १४ सदस्य छन् । उनीहरूको मतभार संख्या ७४२ छ ।
प्रदेश र स्थानीय दुवैको जोड्दा कुल मतभार संख्या १ हजार ९३९ आउँछ । यो हिसाबले एक्लाएक्लै चुनाव लडेको खण्डमा नेकपाको निर्वाचन हुन लागेका दुवै पद सुरक्षित गर्न सक्ने सक्थ्यो । तर कांग्रेस-एमालेको मतभार जोड्दा नेकपाको भन्दा स्वतः बढी छ ।
नेकपाका सांसद रहेका राजकुमार शर्माले भने अहिले पार्टी बदलिसकेका छन् । माओवादीको संसदीय दलका नेता समेत रहेका शर्मा केही समयअघि मात्रै दल नेताबाट राजीनामा दिएर जनार्दन शर्माले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा आवद्ध भएका छन् । यद्यपि नेकपाले उनको सांसद पदबारे भने कुनै निर्णय गरेको छैन । जसकारण प्रदेशसभाले नेकपाको सांसद संख्या अभिलेखमा १४ नै राखेको छ ।
यस्तै राप्रपा सांसद सन्तोषी शाही कुन दललाई भोट हाल्ने भन्नेमा खुलेकी छैनन् । दुवै जना सांसदको मत पाउँदा पनि नेकपाका उम्मेदवारले दुई सिट सुरक्षित गर्न हम्मे पर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण