मधेसका नेताहरू किन गर्छन् पटक–पटक पार्टी परिवर्तन ?
सारांश
- चुनाव नजिकिँदै गर्दा मधेसमा नेताहरूले पार्टी परिवर्तन गर्ने क्रम बढेको छ, जसले अवसर खोज्ने प्रवृत्तिलाई उजागर गर्छ।
- अशोक राईको जसपाबाट राजेन्द्र श्रेष्ठ नेकपामा प्रवेश गरे भने रेणु यादव र प्रदीप यादव जसपा नेपालमा प्रवेश गरे।
- विश्लेषकहरूले यसलाई अवसरवाद र राजनीतिक सिद्धान्तको कमीको रूपमा हेरेका छन्, जसले नेताहरूको अस्थिरतालाई झल्काउँछ।
काठमाडौँ । चुनाव आउँदै गर्दा मधेसमा दल फेरबदलको खेल उत्कर्षमा पुग्ने प्रवृत्ति निकै पुरानो हो । टिकट नपाउने अथवा चुनाव जित्ने अवस्था नदेख्ने नेताहरू चुनावको समयमा पार्टी हेरफेरमा सक्रिय हुने गरेको देखिन्छ । चुनाव नजिकिँदै गर्दा मधेसवादी दलका नेताहरू एक पार्टीबाट अर्को पार्टीमा गइरहेका हुन्छन् ।
अहिले पनि मधेसमा यस्तै परिदृश्य देखिएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संगठन मधेसमा कमजोर छ । त्यहाँबाट चुनाव जित्ने सम्भावना नदेखेपछि राजेन्द्र श्रेष्ठलगायतका नेताहरू प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गरिसकेका छन् भने रेणु यादव, प्रदीप यादवलगायतका नेताहरू जसपा नेपालमा प्रवेश गरेका छन् ।
मंगलबारमात्रै नेकपा छाडेर सप्तरीका नेता उमेश यादव पनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरे । त्यस्तै एमालेमा रहेका बृजेश गुप्तासमेत जसपा नेपालमै प्रवेश गर्ने तयारीमा छन् ।

संगठनात्मक रूपमा निकै कमजोर रहेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बृशेषचन्द्र लालले आ–आफ्नो पार्टीलाई लोसपा नेपालमा विलय गराइसकेका छन् ।
‘राजनीतिक सिद्धान्त र निष्ठा नभएको नेताले अवसरकै खोजी गरिरहेको हुन्छ,’ उनले भने, ‘अवसर जहाँबाट पाउने सम्भावना हुन्छ, उनीहरू त्यहीँ जाने गरेका छन् । त्यस्ता नेता तथा कार्यकर्ता टिकाउ भएर बस्न सक्दैनन् ।’
यता, लक्ष्मण थारु, सुरेन्द्र चौधरी लगायतका नेताहरू नागरिक उन्मुक्ति पार्टी छाडेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टी छाडेर सर्वोदय पार्टी गठन गरेका ई.दीपक साहले पनि चुनावमा रास्वपासँग सहकार्य गर्ने भएका छन् । सम्भव भएसम्म रास्वपासँग एकता गर्ने तयारीमा उनी रहेको बुझिएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले नेकपासँग एकता गरे । उनको पार्टी कमजोर हुँदै गइरहेको थियो । एक्लिँदै गएपछि उनी नेकपासँग एकता गर्न बाध्य भए । यसअघि उनले एमाले छाडेर तमलोपा गठन गरेका थिए । तमलोपा छाडेर तमलोपा नेपाल, त्यसपछि राजपा अनि जसपा नेपाल हुँदै नेपाल समाजवादी पार्टीमा रहेका उनी पछिल्लो समय नेकपामा गएका हुन् ।
सर्लाहीका प्रमोद साह पनि जसपा नेपाल छाडेर नेकपामा प्रवेश गरेका छन् । सर्लाहीकै अशोक यादवले जसपा छाडेर नेकपामा प्रवेश गरे । बाराका प्रमोद गुप्ता जसपा छाडेर जनमत पार्टीमा प्रवेश गरिसकेका छन् । जसपा नेपालका नेता विकास तिवारी (सप्तरी) सो पार्टी छाडेर राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरे ।
शीर्ष नेतामात्र नभएर तल्लो तहका नेता–कार्यकर्ता पनि पार्टी हेरफेर गरिरहेका हुन्छन् । तराई मधेसमा कुनै पनि पार्टीको कार्यक्रममा एकदुई सय नेता तथा कार्यकर्ताहरू पार्टी प्रवेश गरेकै हुन्छन् ।
चुनावको खेल र अवसरको खोजीका लागिमात्र यसरी पार्टी परिवर्तन गर्नेको लर्को लाग्ने गरेको प्राध्यापक एवं राजनीतिक विश्लेषक भोगेन्द्र झा बताउँछन् । ‘राजनीतिक सिद्धान्त र निष्ठा नभएको नेताले अवसरकै खोजी गरिरहेको हुन्छ,’ उनले भने, ‘अवसर जहाँबाट पाउने सम्भावना हुन्छ, उनीहरू त्यहीँ जाने गरेका छन् । त्यस्ता नेता तथा कार्यकर्ता टिकाउ भएर बस्न सक्दैनन् ।’
दल परिवर्तन गर्ने कुनै पनि नेताले पार्टीमा वैचारिक मतभिन्नता देखाउन नसकेको जिकिर गर्दैै उनले अवसरकै खोजीका लागि एउटा पार्टी छाडेर अर्को पार्टीमा जाने गरेको प्रस्ट पारे ।
राजनीतिक विश्लेषक श्रीमन नारायण पनि राजनीतिक दल सत्ता केन्द्रित हुँदै गएको जिकिर गर्दै नेताहरू पनि सत्ताकै चाहनामा पार्टी हेरफेर गरिरहने प्रवृत्ति देखिएको बताउँछन् । उनले भने, ‘मुख्य कुरा, आफू कुन दलमा जाँदा चुनाव जित्न सकिन्छ भन्ने लेखाजोखा गरेर त्यही दलमा जान खोज्छन् । त्यसमा न कुनै सिद्धान्त हुन्छ, न त विचार हुन्छ ।’
राजनीतिमा सेवा गर्ने सोचभन्दा बढी कमाउने सोच हावी भएका कारण पार्टीहरूमा नेताहरूको उलटपलट बढी हुने गरेको उनको भनाइ छ । तराई मधेसमा मात्र होइन, पहाडमा पनि यस्ता प्रवृत्ति देखिएको उनले बताए । ‘मधेसमा अलि बढी देखिएको छ, तर यो समस्या हिमाल र पहाडमा पनि देखिन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण