अब एटीएमबाट चामल, क्युआरमा भुक्तानी गरेपछि झर्छ मेसिनबाट
सारांश
- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा पहिलो पटक 'ग्रेन एटीएम' सञ्चालनमा ल्याएको छ, जसबाट चामल निकाल्न सकिनेछ।
- यो मेसिन थापाथलीस्थित बिक्री केन्द्रमा परीक्षण भइरहेको छ, जहाँ ग्राहकले मोबाइल बैंकिङमार्फत भुक्तानी गरी चामल लिन सक्नेछन्।
- सुर्खेतमा पनि यो प्रविधि विस्तार गरिने भएको छ, र कम्पनीले व्यापार शैली परिवर्तन गर्दै मार्ट सञ्चालनमा ल्याएको छ।
काठमाडौँ । एटीएम मेसिनबाट पैसा निकालिन्छ, मेसिनमा कार्ड घुसाएपछि पैसा पाइन्छ । तर अब खाद्यान्न निकाल्न पनि एटीएमको प्रयोग गर्न पाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालमै पहिलोपटक ‘ग्रेन एटीएम’ (अन्न वितरक मेसिन) सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीले काठमाडौँको थापाथलीस्थित बिक्री केन्द्रमा यो प्रविधिको परीक्षण सुरु गरिसकेको छ । कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले बताए । उनका अनुसार यो मेसिन पूर्ण रूपमा अटोमेटिक टेलर मेसिन (एटीएम) जस्तै प्रविधिमा आधारित छ ।
‘प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज र छिटो छरितो बनाउने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालमै पहिलोपटक ग्रेन एटीएम (अन्नवितरक मेसिन) सञ्चालनमा ल्याएका छौँ,’ प्रमुख थापाले भने ।
थापाका अनुसार कम्पनीले काठमाडौँको थापाथलीस्थित आफ्नो बिक्री केन्द्रमा यो अत्याधुनिक प्रविधिको सफल परीक्षण सुरु गरिसकेको छ । बिक्री वितरण विभागका यो मेसिन पूर्ण रूपमा स्वचालित छ र यसले उपभोक्तालाई कार्यालय समयको पर्खाइ वा लामो लाइन बस्नुपर्ने बाध्यताबाट मुक्ति दिनेछ । ‘विशेष गरेर विद्यार्थी वा व्यस्त मानिसहरूले जुनसुकै समयमा आएर पनि ५–१० मिनेटभित्रमै चामल लिएर जान सकुन् भन्ने हाम्रो उद्देश्य हो,’ थापाले भने ।
कसरी काम गर्छ मेसिनले ?
विभाग प्रमुख थापाका अनुसार ग्राहकले थापाथलिस्थित बिक्री केन्द्रमा रहेको मेसिनमा आफ्नो नाम, ठेगाना, मोबाइल नम्बरलगायत विवरण प्रविष्ट गर्नुपर्ने छ । यसपछि आफूलाई चाहिएको चामलको प्रकार (जस्तैः जिरा मसिनो, बासमती आदि) र परिमाण (केजी) छनोट गर्नुपर्नेछ । चामल र परिमाण छनोट गरेपछि मेसिनले स्वचालित रूपमा बिल सिर्जना गर्छ र स्क्रिनमा ‘डायनामिक क्युआर कोड’ देखाउँछ । उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एपमार्फत उक्त क्युआर कोड स्क्यान गरी भुक्तानी गरेपछि मेसिनको तल्लो भागबाट तोकिएको परिमाणमा चामल झर्छ, र उपभोक्ताले आफ्नो झोला वा बोरामा सो चामल राखेर लैजान सक्नेछन् ।

थापाले भने, ‘मेसिनमा जडान भएको स्क्रिनमा (टच प्याड) ग्राहकले कुन कति किन्ने हो आवश्यकताअनुसार त्यहाँ सेट गर्न सकिन्छ । अनि कति लाने भन्ने त्यसले कमान्ड दिने, ५ किलो हो भने ५ किलोको त्यसले बिल जेनेरेट गरेर क्युआर देखाउँछ । अनि स्क्यान गरेर पेमेन्ट गरेपछि चामल उता झर्छ ।’
यो प्रविधि नयाँ भएकोले सुरुवाती चरणमा ग्राहकलाई सहजीकरण गर्न कम्पनीले एकजना अपरेटर खटाउनेछ भने पछि ग्राहक आफैले सञ्चालन गर्न सक्नेगरी चौबिसै घण्टा सेवा दिने योजना रहेको थापाले जानकारी दिए ।
एकपटकमा २० किलोसम्म तान्न सकिने
चामल खरिद गर्न यो मेसिनबाट एकपटकमा न्यूनतम १ देखि अधिकतम २० किलोसम्म चामल निकाल्न सकिनेछ । धेरै परिमाण आवश्यक भए पुनः अर्कोपटकमा निकाल्न सकिनेछ ।
यस्तै यो मेसिनमा अन्न भण्डारणका लागि दुईवटा ठुला चेम्बर (साइलो) हुन्छन् । जसमा १०–१० क्विन्टल गरी जम्मा २० क्विन्टल (२ मेट्रिक टन) चामल भण्डारण गर्न सकिन्छ । उक्त चामल उपभोक्ताले खरिद गरेपछि खाली हुन लागेको पनि थाहा हुन्छ । र मेसिनमा चामल सकिँदै गएपछि कम्पनीले पुनः भर्ने व्यवस्था मिलाएको छ ।
सुर्खेतमा पनि एटीएम जडान हुँदै
काठमाडौँको थापाथलीमा सञ्चालनमा आएको यो प्रविधि कर्णाली प्रदेशको सुर्खेतमा पनि विस्तार गरिने भएको छ । थापाका अनुसार सुर्खेतको वीरेन्द्रनगरस्थित कम्पनीको प्रादेशिक कार्यालयमा पनि यो मेसिन जडान कार्य सुरु भएको छ ।यसपछि देशका अन्य प्रादेशिक कार्यालयहरूमा पनि जडान गर्ने लक्ष्य रहेको थापाले बताएका छन् ।
_NuM56tsNRk.png)
यो प्रविधि भारत सरकारको सहयोगमा विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) इन्डियामार्फत नेपाल भित्रिएको हो । विभाग प्रमुख थापाका अनुसार एउटा मेसिनको लागत करिब ३५ लाख रुपैयाँ पर्छ । मेसिन राख्ने स्थानको संरचना निर्माण र जडानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब १५ लाख रुपैयाँ खर्च गरेको छ ।
पछिल्लो समय कम्पनीले व्यापार शैलीलाई परिवर्तन थालेको छ । निजी क्षेत्रले जस्तै मार्ट सञ्चालन गरिएको हो । यसअघि कम्पनीले चामललगायत मुख्य खाद्यान्न मात्रै बिक्री गर्दै आएको थियो, अब भने दाल चामलसँगसँगै डेरीजन्य वस्तु, अचारलगायत अन्य सम्पूर्ण खाद्यान्न बिक्री थालेको छ ।
भारतलगायत अन्य मुलुकमा यो निकै पुरानो प्रविधि हो । भारतमा रासन वितरण र सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत यस्तो प्रविधि सफल देखिएपछि नेपालमा पनि यसको अभ्यास थालिएको हो । यसले ग्राहकलाई लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति दिने र कार्यालय समयबाहेक पनि जुनसुकै बेला चामल किन्न सहज हुने कम्पनीको विश्वास छ । हाललाई चामल मात्र राखिए पनि भविष्यमा उपभोक्ताको मागअनुसार दाल तथा गेडागुडीसमेत राख्न सकिनेगरी मेसिन डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
व्यापार शैली परिवर्तन
पछिल्लो समय कम्पनीले व्यापार शैलीलाई परिवर्तन थालेको छ । निजी क्षेत्रले जस्तै मार्ट सञ्चालन गरिएको हो । यसअघि कम्पनीले चामललगायत मुख्य खाद्यान्न मात्रै बिक्री गर्दै आएको थियो, अब भने दाल चामलसँगसँगै डेरीजन्य वस्तु, अचारलगायत अन्य सम्पूर्ण खाद्यान्न बिक्री थालेको छ ।

अहिले कम्पनीले रामशाहपथमा बग्गीखाना नजिकै खाद्यान्न बिक्रीका लागि बिहान ७ देखि बेलुका ८ बजेसम्म मार्ट सञ्चालनमा गरेको छ, जहाँ डेरीदेखि रैथाने बालीलगायत सबै किसिमका खाद्यान्न उपलब्ध रहेको प्रमुख थापाले बताए । थापाले भने, ‘हामीले व्यापार शैलीलाई आधुनिकतासँगै जोड्न थालेका छौँ । निजी क्षेत्रको (भाटभटेनी) व्यापारजस्तै हामीले मार्ट सञ्चालन गरेका छौँ, जहाँ एकै ठाउँमा सबै किसिमका खाद्यान्न उपभोक्ताले छानीछानी खरिद गर्न सक्नेछन् ।’
यस्तै काठमाडौँ उपत्यकाका अन्य विभिन्न स्थान र देशका प्रमुख सहरहरूमा मार्ट स्थापना गरी व्यापार गर्ने उनको भनाइ छ, जसले उपभोक्ताको मागअनुसार आपूर्ति हुने, रोजगारी सिर्जना हुने र कम्पनीलाई सहजै नाफामा लैजान सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण