नेपालको राजनीतिमा विचारहीनताको सङ्कट
सारांश
- नेपालका राजनीतिक दलहरू विचारधारा र सिद्धान्तको अभावमा रुमल्लिएको कुरा उठाइएको छ।
- युवा पुस्ताको विद्रोहपछि दलहरूले व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको र यसले देशमा अस्थिरता निम्त्याएको बताइएको छ।
- आगामी निर्वाचनमा मतदातालाई विचार र नीति हेरेर मतदान गर्न र दलहरूलाई प्रश्न गर्न आह्वान गरिएको छ।
नेपालको वर्तमान राजनीतिक परिदृश्यलाई नियाल्दा एउटा गम्भीर सङ्कट प्रस्ट देखिन्छ– हाम्रा राजनीतिक दलहरू विचारधारा र सिद्धान्तको अभावमा रुमल्लिइरहेका छन् । यसले देशको विकास, स्थिरता र समृद्धिको आधार नै कमजोर बनाउँदै लगेको छ । विशेष गरी गत भदौ २३–२४ मा जेनजी युवाहरूको नेतृत्वमा भएको विद्रोहपछि राजनीतिक दलहरूले विचारभन्दा नेताको व्यक्तिगत महत्त्वाकाङ्क्षा र सत्ताको दाउपेचलाई प्राथमिकता दिएका छन् ।
सामाजिक सञ्जालको सतही लोकप्रियता, भावनात्मक अपिल र मिडियाको हल्लामा आधारित राजनीतिले देशलाई गहिरो अस्थिरतामा धकेल्दैछ । यो विचारविहीनताको अभ्यासले अर्थतन्त्रको सुदृढीकरण, शिक्षाको गुणस्तर, स्वास्थ्य सेवाको विस्तार, राष्ट्रिय सुरक्षा र रोजगार सिर्जनाजस्ता आधारभूत मुद्दाहरूलाई पूर्ण रूपमा ओझेलमा पारेको छ ।
सन् २०२६ को जनवरीसम्म आइपुग्दा पनि स्थिति उस्तै छ । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको तयारीमा दलहरू व्यस्त त छन्, तर उनीहरूको एजेन्डामा स्पष्ट दुरदृष्टि देखिँदैन । स्मरणीय छ, गत भदौको युवा विद्रोहले तत्कालीन केपी शर्मा ओली सरकार त ढाल्यो तर त्यसपछि नियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको कार्यकालमा पनि भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्न सकिएको छैन ।
प्रमुख राजनीतिक पात्रहरूलाई जोगाएर झारा टार्ने शैलीमा मुद्दा दायर हुनुले परिवर्तनका लागि लडेका युवाहरूमा निराशा र धोकाको भाव पैदा भएको छ । के हामीले यो विचारविहीन संकटलाई नै निरन्तरता दिने कि सिद्धान्तमा आधारित राजनीतितर्फ फर्किने ?
खेलबाड होइन राजनीति
राजनीति क्षणिक मनोरञ्जन वा व्यक्तिगत स्वार्थ सिद्ध गर्ने माध्यम होइन; यो राष्ट्र निर्माणको एउटा गम्भीर दायित्व हो । यसका लागि स्पष्ट विचारधारा र सिद्धान्त अपरिहार्य हुन्छ । २०४६ सालको परिवर्तनपछि नेपालमा जुन राजनीतिक ऊर्जा जागृत भएको थियो, आज त्यो व्यक्तिगत महत्त्वाकाङ्क्षाको बन्दी बनेको छ ।
एउटा सच्चा राजनीतिक दलसँग देशको अर्थतन्त्रलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउने, शिक्षालाई डिजिटल युगअनुरूप ढाल्ने, स्वास्थ्य सेवालाई गाउँ–गाउँसम्म पुर्याउने र राष्ट्रिय सुरक्षालाई आधुनिक चुनौतीहरूबाट जोगाउने ठोस मार्गचित्र हुनुपर्छ । तर, विडम्बना नै भन्नु पर्ला दलहरूमा यस्तो चिन्तनको सर्वथा अभाव छ ।
विगतमा केही नेताहरूले फेसबुक र ट्विटरमा आक्रोश पोखेर सत्ता त हत्याए, तर उनीहरूको शासनमा अर्थतन्त्र धराशायी भयो, बेरोजगारी बढ्यो र युवाहरू विदेश पलायन हुन बाध्य भए ।
उदाहरणका लागि, आगामी निर्वाचनको सुरक्षाका लागि ८० हजार सैनिक र एक लाख ३९ हजार म्यादी प्रहरी भर्ना गरिँदै छ । राज्यको यो ढुकुटी सुरक्षामा होइन, विकासमा खर्चिनुपर्ने थियो । हामी मतदाताले मतदान गर्दा अब व्यक्तिको अनुहार होइन, उसको नीति हेर्नुपर्छ । सामाजिक सञ्जालको ‘ट्रेन्डिङ’ वा मिडियाको प्रोपोगान्डाका भरमा नेता छान्नु राष्ट्रप्रतिको विश्वासघात हो ।
विगतमा केही नेताहरूले फेसबुक र ट्विटरमा आक्रोश पोखेर सत्ता त हत्याए, तर उनीहरूको शासनमा अर्थतन्त्र धराशायी भयो, बेरोजगारी बढ्यो र युवाहरू विदेश पलायन हुन बाध्य भए । आठ लाख ५० हजार नयाँ मतदाता रहेका जेनजी युवाहरू, तपाईँहरूको भविष्य दाउमा छ ।
यदि अहिले पनि विचार र नीतिलाई प्राथमिकता दिइएन भने नेपाल छिमेकी भारत वा बङ्गलादेशको तुलनामा अझै पछाडि धकेलिनेछ । हामी अहिले एउटा त्यस्तो सङ्क्रमणकालीन सुरुङमा छौँ, जहाँ पुरानो व्यवस्था भत्किएको त छ तर नयाँ र स्थिर व्यवस्थाको जग बस्न सकेको छैन ।
पुरानाको असफलता र नयाँको भ्रम
नेपाली कांग्रेस, एमाले र माओवादी जस्ता पुराना दलहरूबाट जनता आजित हुनु स्वाभाविक हो । दशकौँसम्म सत्ता सञ्चालन गर्दा पनि उनीहरूले देशलाई भ्रष्टाचार र कुशासनको दलदलबाट बाहिर निकाल्न सकेनन् । उनीहरूका प्रजातन्त्र र समाजवादका नारा केवल परिवारवाद र गुटबन्दीमा सीमित भए ।
एमालेभित्रको शक्ति संघर्ष होस् वा कांग्रेसले बोलाएको विशेष महाधिवेशन– यी सबै पार्टी सुधारका लागि भन्दा पनि नेतृत्व हत्याउने दाउपेच मात्र हुन् ।
तर, पुराना असफल भए भन्दैमा सबै नयाँ भनिएका दलहरूलाई आँखा चिम्लेर विश्वास गर्नु अर्को घातक गल्ती हुन सक्छ । नयाँ ट्याग झुन्ड्याउँदैमा कुनै शक्ति क्रान्तिकारी हुँदैन । प्रश्न गर्नुहोस् कुन दलसँग आगामी पुस्ताका लागि स्पष्ट खाका छ ?
हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँका मेयर बालेन साहबिचको सहकार्यलाई युवा आकर्षणका रूपमा हेरिएको छ, तर के उनीहरूसँग संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ठोस वैचारिक ब्लूप्रिन्ट छ ? विचारबिनाको राजनीतिले अन्ततः अराजकता नै निम्त्याउँछ ।
हालै वीरगन्जमा भएको साम्प्रदायिक झडप र त्यसपछिको कफ्र्यू विचारविहीन राजनीतिकै उपज हो, जसले राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । त्यसैले, नयाँ होस् वा पुराना, सबैलाई विचारको कसीमा जाँचौँ ।
राजनीतिको आधार: विचार र सिद्धान्त
सच्चा राजनीतिक शक्तिले सङ्घीयता, समतामूलक समृद्धि, समावेशी लोकतन्त्र, सुशासन र समुन्नत समाजवादलाई आफ्नो मूल मन्त्र बनाउनुपर्छ । प्रदेशहरूलाई अधिकारसम्पन्न बनाई स्रोतको न्यायोचित वितरण गर्ने स्पष्ट योजना कोर्नुपर्छ । धनी र गरिबबिचको खाडल पुर्न ग्रामीण क्षेत्रको विकासमा ठोस कदम चाल्नु पर्छ ।
विश्वका फिनल्याण्ड, नर्वे वा सिंगापुर जस्ता देशहरूले सिद्धान्त र नीतिकै जगमा उन्नति गरेका हुन् । हामी किन सधैँ पछाडि पर्ने ? यो सङ्कट चिर्न शिक्षा, नागरिक जागरण र सक्रिय सहभागिताको खाँचो छ ।
महिला, दलित र जनजातिहरूको प्रतिनिधित्व केवल सङ्ख्यामा होइन, निर्णय प्रक्रियामा सुनिश्चित गर्नुपर्छ । भ्रष्टाचारमा शून्य सहनशीलता र उच्च पदस्थहरूमाथि निष्पक्ष छानबिन गरिनुपर्छ । छिमेकीसँगको सम्बन्धमा राष्ट्रिय हितलाई सर्वोपरी राख्ने कूटनीतिलाई अवलम्बन गरिनु पर्छ ।
विश्वका फिनल्याण्ड, नर्वे वा सिंगापुर जस्ता देशहरूले सिद्धान्त र नीतिकै जगमा उन्नति गरेका हुन् । हामी किन सधैँ पछाडि पर्ने ? यो सङ्कट चिर्न शिक्षा, नागरिक जागरण र सक्रिय सहभागिताको खाँचो छ ।
युवाको भूमिका
जेनजी युवाहरू नेपालको परिवर्तनका असली संवाहक हुन् । पछिल्लो विद्रोहमा मुकेश अवस्थी जस्ता युवाले खुट्टा गुमाए, कैयौँले ज्यान दिए । उनीहरूको त्यागलाई सत्ताको भर्याङ मात्र बनाइनु हुँदैन । सामाजिक सञ्जाललाई गाली गर्न वा ट्रोल गर्न मात्र होइन, वैचारिक बहसका लागि प्रयोग गरौँ ।
मिडियाले पनि सनसनीपूर्ण समाचारभन्दा नीतिगत छलफललाई स्थान दिनुपर्छ । आठ लाख ५० हजार नयाँ मतदाताले विवेकपूर्ण निर्णय लिने हो भने परिवर्तन सम्भव छ ।
यो विचारविहीन सङ्कट तोड्ने जिम्मेवारी हामी नागरिककै हो । मतदान गर्दा सहानुभूति वा भावनात्मक लहरमा नबहकिएर विचार र एजेन्डामा विश्वास गर्नुहोस् । दलहरूलाई प्रश्न गर्नुहोस्– उनीहरूसँग शिक्षा, स्वास्थ्य र रोजगारीका लागि के योजना छ ? उनीहरूसँग उत्तर छैन भने विकल्प खोज्न नहिचकिचाउनुहोस् ।
(व्यवसायी, समाजसेवी र राजनीतिक अभियन्ता)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण