बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हाँडीगाउँलाई प्राचीन शैलीमा फर्काउने महानगरको अभियान

साढे ९ करोडमा ५४ घरको स्वरूप फेरिँदै
शनिबार, २६ पुस २०८२, १३ : ५३
शनिबार, २६ पुस २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाले हाँडीगाउँको ऐतिहासिक र सांस्कृतिक मौलिकता जोगाउन अभियान थालेको छ।
  • महानगरले साढे नौ करोडको लागतमा ५४ निजी घरहरूको अग्रभागलाई परम्परागत शैलीमा परिवर्तन गर्नेछ।
  • यस अभियानले हाँडीगाउँलाई 'ओपन म्युजियम' बनाउने र भावी पुस्तालाई पुर्खाको कलासँग जोड्ने लक्ष्य राखेको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राचीन सहर हाँडीगाउँ (नरःदे) को ऐतिहासिक र सांस्कृतिक मौलिकता जोगाउन विशेष अभियान सुरु गरेको छ। महानगरले साढे नौ करोड रुपैयाँको लागतमा यस क्षेत्रका ५४ वटा निजी घरहरूको अग्रमोहोडालाई परम्परागत शैलीमा रूपान्तरण गर्न थालेको हो। आधुनिक निर्माण सामग्री र जीवनशैलीका कारण हराउँदै गएको हाँडीगाउँको प्राचीनता फर्काउन महानगरले गुरुयोजना नै बनाएर काम अगाडि बढाएको छ।

महानगरपालिका वडा नम्बर ५ का अनुसार कृष्णमन्दिरदेखि डबली हुँदै भवँर कुःसम्मको करिब ३०९ मिटर सडक खण्डमा पर्ने घरहरूलाई लिच्छवीकालीन र मल्लकालीन वास्तुकलाको झल्को दिने गरी पुनर्संरचना गरिनेछ। यस प्रक्रियामा घरको पेटी, कार्नेस, बलेँसी, बुट्टेदार झ्याल, झिँगटीको छानो र बाहिरबाट देखिने कलात्मक इँटाको प्रयोगलाई अनिवार्य गरिएको छ। छिँडी, मातः, च्वतं र बुईंग गरी चार तला तथा छानासहितको मौलिक बुट्टामा घरहरूलाई ढाल्ने कामपाको योजना छ।

हाँडीगाउँ क्षेत्र उपत्यकाकै सर्वाधिक प्राचीन स्थानहरूमध्ये एक हो, जहाँ किराँतकालीन टुँडालदेवीको जात्रा र लिच्छवीकालीन नारायण जात्रा जस्ता ऐतिहासिक उत्सवहरू सञ्चालन हुने गर्छन्। ती जात्राहरू सञ्चालन हुने मार्गको पुनःरुत्थान गर्दा पाटी, फल्चा, मन्दिर र सामुदायिक भवनहरूलाई पनि प्राचीन स्वरूपमै फर्काइनेछ। यस क्षेत्रमा रहेका ऐतिहासिक कृष्ण मन्दिर, नारायण मन्दिर, बुद्ध चैत्य र परम्परागत इनारहरूको संरक्षणले स्थानीय पर्यटन र सांस्कृतिक गौरवलाई थप टेवा पुग्ने विश्वास गरिएको छ।

वडाध्यक्ष वीरेन्द्र प्रजापतिका अनुसार हाँडीगाउँको प्राचीन पहिचान जोगाउन गहना खोज्ने पोखरी, भीमसेन मन्दिर, मनमानेश्वरी र कैलाशकुट भवनको ऐतिहासिक महत्वलाई समेत ध्यानमा राखिएको छ। पूर्वलिच्छवि र वर्मा कालको संस्कृति जीवन्त राख्न यो अभियान कोशेढुङ्गा सावित हुने अपेक्षा छ। यस कार्यले एकातिर हाँडीगाउँलाई 'ओपन म्युजियम' (खुला सङ्ग्रहालय) को रूपमा विकास गर्नेछ भने अर्कोतिर भावी पुस्तालाई पुर्खाको कला र कौशलसँग जोड्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप