रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै, उज्यालो पार्टीका क–कसले लिए समानुपातिकबाट नाम फिर्ता ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएपछि समानुपातिकतर्फको सूचीमा अन्योल भएको छ।
- एकता भङ्ग भएपछि कतिपय नेताहरूले रास्वपाबाट नाम फिर्ता लिने र उज्यालो नेपालमै फर्किने निर्णय गरेका छन्।
- निर्वाचन आयोगले बन्दसूचीमा नाम फिर्ता नलिएसम्म नयाँ नाम राख्न नसक्ने जनाएको छ, जसले गर्दा समस्या उत्पन्न भएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता भङ्ग भएसँगै प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फको सूचीमा अन्योल भएको छ । पार्टी एकताको घोषणासँगै उज्यालो नेपाल पार्टीबाट पनि उम्मेदवार समेटेर रास्वपाले समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा बुझाएको थियो ।
पार्टी एकता भङ्ग हुँदा एकातिर उज्यालो नेपाल पार्टीले आयोगलाई समानुपातिकतर्फको छुट्टै बन्दसूची बुझाउने सीमा घर्किसकेको छ भने रास्वपाले यसअघि बुझाएको सूचीबाट कतिपयले नाम फिर्ता लिएसँगै नयाँ नाम बुझाउनुपर्ने भएको छ ।
रास्वपाको समानुपातिक सूचीमा परेका केहीले भने उज्यालो नेपाल पार्टीमा नफर्किने निधो गरेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सूची अद्यावधिक गरेको छ । रास्वपाले अद्यावधिक गरेको सूचीमा यस अघि उज्यालो नेपालका तर्फबाट समानुपातिक सूचीमा परेकी रिमा विश्वकर्माको नाम यथास्थानमै राखिएको बुझिएको छ ।
उनी पार्टी स्थापनादेखि नै उज्यालो नेपालको अभियानको अग्रभागमा देखिँदै आएकी थिइन्, तर रास्वपासँग एकता भङ्ग भएपछि उज्यालो पार्टीले गरेको पत्रकार सम्मेलनमा उनलाई देखिएन ।
उज्यालो नेपालका एक केन्द्रीय सदस्यका अनुसार रिमा पार्टी बैठकमा उपस्थित भएकी थिइन्, तर छोटो समय बसेर फर्किएकी थिइन् । उनले भने, ‘केन्द्रीय समिति बैठकमा उपस्थित हुनुहुन्थ्यो, तर छोटो समय बैठकमा बसेर कसैलाई नपर्खिकन हिँडिहाल्नुभयो । उहाँको आँखामा आँसु भरिएको देखिन्थ्यो ।’
ती केन्द्रीय सदस्यका अनुसार रिमा अब उज्यालोमा नर्फकने जस्तो अवस्था देखिएको छ । यद्यपि रिमाले अहिलेसम्म ठोस जानकारी नदिएको ती नेताले बताए ।
स्रोतका अनुसार रिमा रास्वपाको बन्द सूचीबाट नाम फिर्ता नलिने पक्षमा छिन् । कानुनतः उनी रास्वपामा नरहे पनि बन्दसूचीबाट हट्नुपर्ने बाध्यता छैन ।
त्यस्तै, उज्यालो नेपाल पार्टीबाट रास्वपाको समानुपातिक सूचीमा रहेका डा.अभिषेक राज सिंहले नाम फिर्ता नगर्ने संकेत गरेका छन् । उनले आफू छलफलमै रहेको बताए । उनले भने, ‘म अहिले छलफलमै छु । केही निर्णय गरेको छैन ।’
तर स्रोतका अनुसार उनी रास्वपासँग एकताको पक्षमा निरन्तर लागेका थिए । त्यसैले उनी उज्यालो नेपालमा नफर्कने सम्भावना बढेको छ । उनको नाम रास्वपाको समानुपातिक सूचीमा मधेसी कोटामा चार नम्बरमा छ । त्यसैले पनि उनी रास्वपामै रहने सम्भावना बलियो रहेको स्रोतको दाबी छ ।
रास्वपा र उज्यालो नेपालबिच एकता सम्झौता हुँदा दुई दलले समानुपातिकतर्फको सूची भागबन्डा गरेर बुझाएका थिए । तर, शनिबार साँझ दुई दलबिचको एकता भाँडिएसँगै रास्वपाले उज्यालो नेपालतर्फबाट यसअघि बुझाइएको नामहरूलाई अध्यावधिक गरेको छ ।

उज्यालो नेपाल पार्टीबाट रास्वपाको बन्द सूचीबाट यसअघि नै त्रिशला गुरुङ र महेन्द्र लावतीले नाम फिर्ता लिने घोषणा गरेका थिए । त्यस्तै, तुलसा वाइवा लगायत उज्यालो पार्टीबाट समानुपातिक सूचीमा परेकाहरू उज्यालो पार्टीमै फर्किने भएका छन् । वाइवाले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने बताइन् । उनले भनिन्, ‘रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिन्छु । अब उज्यालो नेपाल पार्टीमै रहन्छु ।’
महेन्द्र लावतीले पनि यसअघि नै नाम फिर्ता लिएको भन्दै अब उज्यालो नेपालबाट निर्वाचन अभियानमा लाग्ने र प्रत्यक्ष चुनावी मैदानमा लाग्ने बताए । उनले रातोपाटीसँग भने, ‘म अब उज्यालो नेपाल पार्टीभित्रै बसेर प्रत्यक्ष निर्वाचनमा लड्छु । यसअघि नै समानुपातिक सूचीबाट नाम फिर्ता लिइसकेको छु ।’
त्यस्तै, उज्यालो पार्टीबाट रास्वपाको समानुपातिक सूचीमा थारु समूहको दोस्रो नम्बरमा नाम भएका सोमप्रसाद चौधरीले पनि रास्वपाबाट नाम फिर्ता लिने बताए । उनले उज्यालो नेपाल पार्टीसँग एकता नभएकाले आफू उज्यालो पार्टीबाटै अघि बढ्ने योजना बनाएको बताए ।
उनले भने, ‘रास्वपाको समानुपातिकबाट नाम फिर्ता लिन्छु । उज्यालो नेपाल पार्टीबाट राजनीतिक यात्रालाई निरन्तरता दिन्छु ।’
त्यस्तै, उज्यालो नेपाल पार्टीका तत्कालीन अध्यक्ष अनुप उपाध्याय पनि उज्यालो नेपाल पार्टीमै फर्किएका छन् । उनी अहिले पार्टी अध्यक्षको जिम्मेवारी कुलमान घिसिङलाई सुम्पिएर आफू संरक्षकमा बसेका छन् । त्यसैले उनले रास्वपाको समानुपातिक सूचीबाट नाम निकालेका छन् । उनी शनिबार पत्रकारसम्मेलनमा पनि कुलमानसँगै देखिएका थिए ।
निर्वाचन आयोगका अनुसार उज्यालो नेपालबाट बन्द सूचीमा परेकाहरूले नाम फिर्ता नलिएसम्म रास्वपाले नयाँ नाम राख्न पाउँदैन, तर उज्यालो नेपालमै रहेर रास्वपाको बन्दसूचीमा बस्न राजनीतिक र नैतिक समस्या पर्ने देखिन्छ ।
पुराना राजनीतिक शक्तिलाई चुनौती दिन भन्दै रास्वपा र उज्यालो नेपाल पार्टीबिच भएको एकता १२ दिन पनि टिक्न सकेन । वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्दै उदाएका नयाँ अनुहारमा पनि पद, भूमिका, नेतृत्वको विवादले एकता गर्ने सहमति भाँडिएको छ । रास्वपा र उज्यालो पार्टीबिच भएको सात बुँदे सहमति १२ दिनमा भङ्ग हुन पुग्यो ।
सहमति हुन नसकेसँगै शनिबार उज्यालो पार्टीका संरक्षक रहेका कुलमान घिसिङ पार्टी अध्यक्ष बनेर उज्यालो नेपाल पार्टीमै रहने घोषणा गरेका छन् । रास्वपासँगको एकतामा असहमति जनाउँदै उज्यालो नेपाल पार्टी साविककै अवस्थामा फर्किएपछि समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भने यो पार्टी छुट्ने भएको छ ।
_U5sUYotlKf.jpg)
रास्वपाको समानुपातिक सूचीमा नाम भएका नेताहरूका सम्बन्धमा के गर्ने भन्ने विषयमा उज्यालो नेपाल पार्टीले अहिलेसम्म आधिकारिक निर्णय भने गरेको छैन । निर्वाचन आयोगमा उज्यालोले छुट्टै बन्दसूची बुझाएको थिएन ।
बन्द सूची बुझाउने अन्तिम दिन गत पुस १४ मा रास्वपा र उज्यालो नेपाल पार्टीबिच सहमति भएपछि रास्वपाको तर्फबाट सूची बुझाइएको थियो । समानुपातिकको बन्दसूची बुझाउने समयमात्रै नभएर अध्यावधिक गराउने समयसमेत आज सकिँदैछ ।
यता निर्वाचन आयोगले बन्दसूचीमा रहेका व्यक्तिले नाम फिर्ता नलिएसम्म केही गर्न नसक्ने बताएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समावेशी क्लस्टर नमिलेको खण्डमा सच्याउन मिले पनि एकता प्रक्रियामा जोडिएका व्यक्तिहरूले नाम फिर्ता लिनुपर्ने बताए ।
‘बन्दसूचीमा रहेका व्यक्तिहरू जुन पार्टीका हुन्, उसले नाम फिर्ता नलिएसम्म अद्यावधिक हुन सक्दैन । सम्बन्धित दलले नाम फिर्ता लिन नमानेको खण्डमा जुन दलको बन्दसूचीमा नाम रहेको छ, उसकै उम्मेदवार हुन्छ’, भण्डारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
-
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
-
घरअगाडिबाटै हरायो ट्रक
-
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
-
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण