नेपाल कबड्डी लिगको चटारो : १ सय ८० खेलाडीबिच प्लेयर ट्रायल्स सुरु
सारांश
- त्रिपुरेश्वरमा केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको प्लेयर ट्रायल्स सुरु भएको छ, जसमा १८० खेलाडी सहभागी छन्।
- ट्रायल्समा छानिएका खेलाडीहरूलाई ६ सहरका फ्रेन्चाइज टिमले ड्राफ्टमार्फत अनुबन्ध गर्नेछन्, र यसले नेपाली कबड्डीलाई व्यावसायिक बनाउनेछ।
- एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि आयोजना गरिनेछ, र दोस्रो सिजनको ड्राफ्ट र खेलको मिति पछि सार्वजनिक गरिनेछ।
काठमाडौं | त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतबारदेखि केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनका लागि ‘प्लेयर ट्रायल्स’ सुरु भएको छ। एनकेएल ड्राफ्टमा स्थान बनाउने लक्ष्यका साथ देशभरका १ सय ८० खेलाडीहरू मैदानमा उत्रिएका छन्।
आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अनुसार दोस्रो सिजनका लागि दर्ता भएका ५ सय १२ जना खेलाडीमध्ये प्राविधिक टोलीले छानेका उत्कृष्ट १ सय ८० जनालाई ट्रायल्समा बोलाइएको हो। दुई दिनसम्म चल्ने यस छनोट प्रक्रियाको पहिलो दिन आइतबार ९० खेलाडीले आफ्नो कौशल प्रदर्शन गरे। व्यक्तिगत रूपमा दर्ता भए पनि खेलाडीहरूलाई विभिन्न टिममा विभाजन गरेर कोर्टमा उतारिएको थियो। बाँकी ९० खेलाडीको प्रतिस्पर्धा सोमबार हुनेछ।
यस प्लेयर ट्रायल्समा राष्ट्रिय टिमका कप्तान घनश्याम मगर, महिला टिमकी कप्तान मानमति विष्ट, पहिलो सिजनको च्याम्पियन जनकपुर नाइट्सका प्रशिक्षक पार्वती राई र मार्की रामु टमाटा लगायतको सक्रिय सहभागिता छ। पूर्व झापादेखि पश्चिम दार्चुलासम्मका खेलाडीहरू ड्राफ्टमा परेर व्यावसायिक कबड्डी खेल्ने सपनाका साथ प्रतिस्पर्धा गरिरहेका छन्।
नेपाल कबड्डी संघसँगको १० वर्षे सम्झौताअनुसार सञ्चालित यो लिगले नेपाली कबड्डीलाई व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। ट्रायल्सबाट छानिएका खेलाडीहरूलाई ६ सहरका ६ फ्रेन्चाइज टिमले ड्राफ्टमार्फत आफ्नो टोलीमा अनुबन्ध गर्नेछन्। पहिलो सिजनमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल र धनगढीका टिमले प्रतिस्पर्धा गरेका थिए, जसमा काठमाडौंलाई हराउँदै जनकपुर नाइट्स च्याम्पियन बनेको थियो।
एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले कबड्डीलाई तल्लो तहदेखि नै विकास गर्न 'एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप' पनि आयोजना गर्न लागिएको जानकारी दिए। दोस्रो सिजनको ड्राफ्ट र खेल हुने मिति भने केही समयपछि सार्वजनिक गरिने आयोजकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण